लेखनाथ महोत्सवलाई आमा समूहको साथ

समाधान संवाददाता २०८२ मंसिर २१ गते १०:४९

पोखरा ।
लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवलाई मध्यनजर गर्दै यस क्षेत्रमा रहेका संघ, संस्था तथा महिला/आमा समूहको शनिबार बसेको भेलाले महोत्सव सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।


भेलामा गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले लेखनाथ महोत्सव नेपालकै उत्कृष्ट महोत्सव भएको र महिला आमा समूहको सक्रियताका कारण लेखनाथ महोत्सवले उचाइ हासिल गरेको जनाइन् । उनले २९ वर्षे इतिहासमा संघले महिला नेतृत्व प्राप्त गरेकोमा यसको श्रेय यस क्षेत्रका महिलालाई जाने उल्लेख गरिन् ।


भण्डारीले१६ दिने लैंगिक हिंसा विरुद्धको दिवसको सन्र्दभलाई इंगित गर्दै आजकल हिंसाको स्वरुप परिवर्तन भएको सुनाइन् । उनले महिला हिंसालाई जरैदेखि अन्त्य गर्नका लागि महिलालाई उद्यमशीलताको माध्यमबाट आत्मनिर्भर बनाउनुपर्ने विचार राखिन् ।

Advertisement


संघकी अध्यक्ष एवं महोत्सवकी मुल संयोजक जानुका पराजुलीले महोत्सवले सम्पूर्ण जातजाति, भाषाभाषी एवं समुदायका मानिसलाई एकै थलोमा जम्मा गरी मौलिक संस्कार र संस्कृतिको जगेर्ना गरेको बताइन् । उनले लेखनाथको पहिचान र यहाँ सञ्चालन हुने जुनसुकै कार्यक्रम सफल हुनुमा यस क्षेत्रमा रहेका संघ, संस्था तथा आमा समूहको सक्रिय सहभागिता र एकताबाट कारक रहेको सुनाइन् ।


पोखरा महानगरपालिका कार्यपालिका सदस्य निर्मला पौडेलले लेखनाथको पहिचान जोगाउने लेखनाथ उद्योग वाणिज्य संघ र लेखनाथ महोत्सव भएको उल्लेख गरिन् । भेलाका सहभागी महिला/आमा समूहका अध्यक्ष एवं प्रतिनिधिले महिलाको व्यापक सहभागितामा आयोजना हुने झाँकी, र्‍याली, रत्यौली प्रतियोगिता लगायतका विषयमा गुनासा एवं जिज्ञासा राखेका थिए र
उनीहरुले महोत्सवलाई सफल बनाउन तयारीमा लाग्ने प्रतिवद्धता समेत जनाए ।

Advertisement

महोत्सवकी महिला/आमा समूह परिचालन उपसमिति संयोजक सन्ध्या दाहालको अध्यक्षतामा भएको कार्यक्रममासंघकी कार्यसमिति सदस्य एवं महिला विशेष कार्यक्रमकी संयोजक प्रतीक्षा रानाभाट र महिला उद्यमी समन्वय उपसमिति संयोजक शर्मिला श्रेष्ठले पनि बोलेका थिए ।


लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा पुस २ गतेदेखि १४ गतेसम्म लेखनाथमा महोत्सव हुँदै छ ।

तपाईको प्रतिक्रिया