शुक्लागण्डकी माविको ३९ औं वार्षिकोत्सव

समाधान संवाददाता २०७६ माघ ५ गते १२:५६

समाधान संवाददाता
पोखरा

कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ घाचोकमा अवस्थित शुक्लागण्डकी माध्यमिक विद्यालयले ३९ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले संघीयता कार्यान्वयनसँगै शैक्षिक योजना तथा गुरुयोजना निर्माणमा गाउँपालिकाले ध्यान दिनुपर्नेमा जोड दिए ।

शिक्षामा अलि बढी अस्तव्यस्त देखिएको चर्चा गर्दैै बरालले केही समय लागे पनि त्यसको समाधान गरी माटो सुहाउँदो शिक्षा प्रदान गर्न ३ वटै तहका सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

Advertisement

गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले प्राविधिक तथा रोजगारमूलक शिक्षाका माध्यमबाट ग्रामीण गरिबी र बेरोजगारी अन्त्यका लागि गाउँपालिकाले जोड दिएको बताइन् ।

माछापुच्छ«े ३ का अध्यक्ष सूर्यप्रसाद लम्सालले शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समिति सबै पक्षको सहकार्यबाट मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने उल्लेख गरे ।

Advertisement

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविलाल पोखरेलले विद्यालयमा प्राविधिक शिक्षाका लागि गत वर्ष धनधान्याञ्जल महायज्ञ लगाएर रकम संकलन गरे पनि हालसम्म प्राविधिक शिक्षाका लागि सरकारबाट सम्बन्धन प्राप्त नहुनु चिन्ताको विषय भएको उल्लेख गरे ।

प्रधानाध्यापक शान्तिरमण पोखरेलले विद्यालयको स्थायी स्रोत नहुँदा केही शिक्षकलाई तलब खुवाउन समस्या रहेको तथा आगामी दिनमा एसइई परीक्षमा ग्रेड सी र डी शून्य विद्यालय बनाउने योजना सुनाए ।

कार्यक्रममा विव्यस पूर्व अध्यक्ष क्रान्तिरमण पोखरेल, पूर्व प्रधानाध्यापक महेश्वर पौडेल, पूर्व विद्यार्थी गंगालाल पोखरेल, शिक्षक प्रकाशमोहन पोखरेल लगायतले बोलेका थिए ।

यसैबीच विद्यालयमा लामो समय सेवा गरी निवृत्त भएका शिक्षक बाबुराम पोखरेल, थानेश्वर लम्साल तथा विष्णु भण्डारीलाई सम्मान गरिएको थियो । वार्षिकोत्वसका अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थी पुरस्कृत भए ।

२०३७ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा नर्सरीदेखि १२ सम्म पठनपाठन हुन्छ । विद्यालयले दश जोड २ मा शिक्षा तथा व्यवस्थापन संकायमा कक्षा सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया