पोखरामा अन्तर्राष्ट्रिय जुनियर टेनिसको रौनक: दोस्रो सर्किट सुरु, विदेशी खेलाडीको वर्चस्व

पोखरा । पोखरा रंगशालाको टेनिस कोर्ट अहिले १६ देशका किशोर–किशोरी खेलाडीहरूको ऊर्जाले भरिएको छ । अन्तर्राष्ट्रिय टेनिस महासंघ (आइटिएफ) को स्वीकृतिमा कास्की जिल्ला टेनिस संघद्वारा आयोजित ‘आइटिएफ जे–३० वर्ल्ड टेनिस टुर’ को दोस्रो सर्किटअन्तर्गत सोमबारदेखि ‘मेन ड्र’ का खेलहरू सुरु भएका छन् ।
पोखरामा जारी प्रतियोगितामा नेपाली खेलाडीहरूले विदेशी खेलाडीहरूबाट कडा चुनौती सामना गर्नुपरेको छ । सोमबारका खेलहरूमा अधिकांश विदेशी खेलाडीहरू हाबी भए ।
ब्वाइज सिंगल्स: शीर्ष वरीयताका खेलाडीको सुखद सुरुवात
ब्वाइज सिंगल्सको राउन्ड ३२ तर्फको खेलमा शीर्ष वरीयता प्राप्त चाइनिज ताइपेईका टिङ–हो याङले भारतका तेजस रविमाथि ६–२, ६–४ को सोझो सेटमा जित निकाल्दै सुखद सुरुवात गरेका छन् ।
नेपाली खेलाडीहरूका लागि भने सोमबारको दिन त्यति सुखद रहेन । नेपालका आयुष्मान हजुर घले भारतका प्रतीक सेओरानसँग २–६, ६–३, ६–४ को कडा प्रतिस्पर्धामा पराजित भए । त्यस्तै, चीनका यान्सुओ पानले नेपालका असभ सम्राट हाडालाई ६–१, ६–० को सहज सेटमा हराए ।
भारतका माधव दीक्षितले भने उत्कृष्ट पुनरागमनको नमुना पेस गरे । नेपालका दर्शिल श्रेष्ठविरुद्ध पहिलो सेट ४–६ ले गुमाएका दीक्षितले त्यसपछिका सेटमा ६–४, ६–२ को जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गरे । कोरियाका युल हो जुङले पनि नेपालका राजवीर प्रधानविरुद्ध ६–४, २–६, ६–३ को संघर्षपूर्ण जित हात पारे ।
नेपालका लागि आशा जगाउने नतिजा भने करण थापाले दिलाए । उनले बंगलादेशका एमडी महाद विन मलिक महादलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए ।
अन्य खेलहरूमा भारतका शशांक साई प्रसाद कर्नाटीले कोरियाका ह्यो जिन हालाई र सिंगापुरका रोबर्ट डोल्याले कोरियाका क्युङबिन आनलाई पराजित गरे । भारतका ओजस कुमारले बंगलादेशका खाब्बो ग्येनलाई हराए ।
गर्ल्स सिंगल्स: नेपाली खेलाडीलाई चुनौती
गर्ल्स सिंगल्सतर्फ पनि विदेशी खेलाडीहरूको दबदबा रह्यो । भारतकी मेहा पाटिलले नेपालकी साल्भी शेरचनलाई ६–०, ६–० को एकतर्फी नतिजामा पराजित गरिन् । भारतकै ध्रुति गुन्डुलले बंगलादेशकी येआना चौधरीलाई हराएर दोस्रो चरणमा प्रवेश गरिन् ।
रोचक भिडन्तमा भारतकी रञ्जना संग्रामले सातौँ वरीयताकी अमेरिकी खेलाडी नाला जोसेफिन मास्कीलाई ६–०, ६–४ ले पराजित गरिन् । बुल्गेरियाकी सोफिया जाखारिएभाले भारतकी इशा शर्माविरुद्ध तीन सेटको संघर्षपूर्ण जित (६–१, ४–६, ६–२) हात पारिन् ।
शनिबारसम्म चल्ने मेला
कास्की टेनिसका सचिव भिमराज पौडेलका अनुसार प्रतियोगितामा १३ देखि १८ वर्ष उमेर समूहका ८० खेलाडी सहभागी छन् । प्रतियोगितामा नेपालसहित भारत, चीन, अमेरिका, न्युजिल्यान्ड, ताइवान, बंगलादेश, क्यानडा, अस्ट्रेलिया, कोरिया, बेलायत, सिंगापुर, मलेसिया, श्रीलंका, इजरायल र हङकङका खेलाडीहरू भिर्दै छन् ।
ब्वाइज र गर्ल्सको सिंगल्स तथा डबल्स गरी ४ इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ । सिंगल्सतर्फ विजेताले ३० अंक र उपविजेताले १८ अंक पाउनेछन् भने डबल्सतर्फ विजेताले २५ अंक प्राप्त गर्नेछन् ।
करिब १७ लाख ८७ हजार रुपैयाँ खर्च अनुमान गरिएको यस प्रतियोगितामा प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको छ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।









कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
अदालतको अवहेलना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेलाई सफाइ
पोखरामा अन्तर्राष्ट्रिय जुनियर टेनिसको रौनक: दोस्रो सर्किट सुरु, विदेशी खेलाडीको वर्चस्व
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया