थासाङलाई सबैभन्दा बढी, वारागुङ मुक्तिक्षेत्रलाई कम

समाधान संवाददाता २०७६ माघ ५ गते १३:१८

सुन्दरकुमार थकाली
जोमसोम

१ संघीय निर्वाचन क्षेत्र र २ प्रदेश निर्वाचन क्षेत्र रहेको मुस्ताङमा आर्थिक वर्ष ०७६÷०७७ का सांसद विकास कोष अन्तर्गत स्थानीय पूर्वाधार विकास साझेदारी बजेट बाँडफाँट भएको छ । मुस्ताङमा संघतर्फ प्राप्त हुने ६ करोड र प्रदेशबाट प्राप्त हुने ४ करोड गरी १० करोड बजेट छ ।

सांसदले खर्च गर्न पाउने स्थानीय पूर्वाधार विकास बजेट संघ तथा प्रदेश सभासदले आपसमा समन्वय गरी बजेट बाँडफाँट गरेका हुन् । संघतर्फ ३१ योजना छन् भने प्रदेशका ३० योजनामा बजेट छ । ६१ विकास योजनाका लागि १० करोड बजेट बिनियोजन भएको जिसस मुस्ताङका समन्वय अधिकारी पुष्पराज कटुवालले जानकारी दिए ।

Advertisement

संघतर्फका ३१ योजनामध्ये ६ विकास योजना ५० लाखका छन् । २४ वटा योजना १५ लाख तलका छन् । संघतर्फ २÷२ वटा ठूला योजना घरपझोङ र थासाङ गाउँपालिकामा परेका छन् । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकालाई समान १ ठूलो योजना परेको छ भने वारागुङ मुक्तिक्षेत्रको भागमा ठूलो बजेट नपरेको समन्वय अधिकारी कटुवालले जनाए ।

संघीय योजना अन्तर्गत ५० लाखका ठूला ६ योजनामा घरपझोङ ३ मा स्वागत गेट निर्माण र घरपझोङ ३ मै कालिगण्डकी तटबन्ध निर्माण छन् । थासाङ गाउँपालिका २ कोवाङको खर्वाङ लंकीमा तारजाली लगाउने र थासाङ ३ लेतेमा अधुरो समाजघर निर्माणमा ५० लाख विनियोजन भएको छ । लोमान्थाङ १ मा निफुक गुम्बा निर्माण र लोघेक दामोदरकुण्ड ३ घिलिङमा विद्यालय छात्रावास भवनका लागि समान ५० लाख रकम रहेको जिसस मुस्ताङले जनाएको छ ।

Advertisement

संघतर्फका साना २४ योजनामा गुम्बा मर्मत, तारा खेल स्तरोन्नति, तटबन्ध, भौतिक सामग्री खरिद, कृषि र पशुपालन प्रर्वद्धन छन् । समाजघर मर्मत सम्भार र पदमार्ग सुधार लगायतका योजनामा पनि बजेट छ ।संघको १० लाख तलको धेरैजसो बजेट समाजघर र गुम्बालाई दिइएको छ ।

प्रदेश स्थानीय पूर्वाधार योजना अन्तर्गत प्रदेश १ निर्वाचन क्षेत्रका २ स्थानीय तहमा १३ योजना छन् । लोमान्थाङमा ६ वटा र लोघेकरमा ७ योजना छन् । १३ योजनाका लागि प्रशासनिक खर्च जोडेर २ करोड विनियोजन भएको प्रदेशसभा सदस्य ईन्द्रधारा विष्टले जानकारी दिए । प्रदेश २ मा ३स्थानीय तहमा १७ योजना छन् । थासाङमा ८ वटा, घरपझोङमा ४ वटा र वारागुङ मुक्तिक्षेत्रमा ५ योजना छन् । यी योजनाका लागि २ करोड बजेट विनियोजन भएको अर्का प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकालीले बताए ।

मुस्ताङका संघ र प्रदेश सांसदले सबैभन्दा बढी बजेट थासाङ गाउँपालिकालाई पारेका छन् । थासाङमा संघको १ करोड ६५ लाख परेको छ भने प्रदेशको ९५ लाख छ । संघ र प्रदेश गरी २ करोड ६० लाख थासाङलाई परेको हो । सबैभन्दा कम बजेट वारागुङ मुक्तिक्षेत्रलाई परेको छ । त्यहाँ संघको ८० लाख र प्रदेशको ४५ लाख गरी १ करोड २५ लाख बजेट छ । संघ तथा प्रदेशको संयुक्त बजेट अन्तर्गत घरपझोङलाई १ करोड ९८ लाख, लोघेकर दामोदरकुण्डलाई १ करोड ९७ लाख ५० हजार र लोमान्थाङ गाउपालिकालाई २ करोड २ लाख बजेट छ ।

यसअघि गत कात्तिक र मंसिरमा स्थानीय पूर्वाधार साझेदारी विकास योजना छनोटका लागि सांसदहरु स्थानीयको घरदैलोमा पुगेका थिए । संघीय सांसद प्रेमप्रसाद तुलाचनले बजेट समावेशी र सन्तुलित ढंगले विनियोजन भएको बताए । उनले पालिकाको तत्कालको आवश्यकता पहिचान गरी रकम दिइएको जनाउँदै आगामी आर्थिक वर्ष सन्तुलन मिलाइने जनाए ।

तपाईको प्रतिक्रिया