सम्पादकीय—हरेक संवतमा उत्सव मनाऔं

अंग्रेजी नयाँ वर्ष र तमु (गुरुङ) समुदायको महान् पर्व ल्होछार नजिकिँदै गर्दा देशभर उल्लास बढेको छ । पोखराको ऐतिहासिक पुरानो टुँडिखेलमा आगामी पुस १४, १५ र १६ गते आयोजना हुन लागेको ‘तमु ल्होछार महोत्सव–२०८२’ यसको ज्वलन्त उदाहरण हो । तमु धीं नेपालले तीन दिने महोत्सवको तयारी तीव्रताका साथ अगाडि बढाउँदै गर्दा यस वर्षको ल्होछार केवल समुदायगत पर्वमा सीमित नभई सबै नेपालीलाई एकताबद्ध गराउने राष्ट्रिय सांस्कृतिक उत्सवका रूपमा स्थापित हुनेतर्फ उन्मुख देखिन्छ । यसअघि तमुका विभिन्न समुदायले पृथक पृथक रुपले ल्होसार मनाउने गरेकोमा यसपालि महोत्सवकै रुपमा हुन लागेको हो ।
तमु समुदायले अनुसरण गर्ने पात्रो अनुसार एक वर्ष समाप्त भई अर्को वर्ष प्रवेश गर्ने ‘ल्हो’ परिवर्तनको क्षणलाई ल्होछारका रुपमा मनाइन्छ । यसपटक सप्री ल्हो (सर्प वर्ग) बाट त ल्हो (घोडा वर्ग) मा प्रवेश हुँदै छ । चिनियाँ, तिब्बती पात्रोसँग मिल्दोजुल्दो १२ वर्षे चक्रमा आधारित यो परम्परा केवल पात्रो परिवर्तनमात्र होइन, नयाँ आशाको उत्सव पनि हो । पहाडदेखि सहरसम्म, विदेशमा बस्ने प्रवासी गुरुङ समुदायसम्म, ल्होछार सबैलाई जोड्ने सांस्कृतिक सूत्र बनेको छ ।
लामो संघर्षपछि पुस १५ गते राष्ट्रिय बिदाका रूपमा स्वीकृति प्राप्त गर्नु पनि यस समुदायको सांस्कृतिक अस्तित्व र पहिचानका लागि महत्वपूर्ण उपलब्धि हो । यही पृष्ठभूमिमा पोखरामा आयोजना हुने महोत्सवले सांस्कृतिक अभिव्यक्ति, पर्यटन प्रवद्र्धन र सामुदायिक एकतालाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । झाँकी र्याली, मौलिक भेषभूषा प्रदर्शन, खेलकुद, तमु ल्होछार भलिबल कप, लोकदोहोरी, सामूहिक खुला लोकनृत्य, गुरुङ भाषा–भाषिक प्रतिस्पर्धा जस्ता कार्यक्रमले महोत्सवलाई बहुआयामिक बनाएको छ । करिब ३० हजार दर्शक सहभागी हुने अनुमानले पोखराको आन्तरिक पर्यटन चहलपहलमा ठूलो योगदान पुर्याउनेछ ।
महोत्सव केवल मनोरञ्जन वा सांस्कृतिक प्रदर्शनमात्र होइन, समुदायको आर्थिक–सामाजिक उन्नतिसँग पनि प्रत्यक्ष रूपमा जोडिन्छ । ल्होछारले दिने ठूलो सन्देश भनेको सहअस्तित्व र सांस्कृतिक गर्व हो । नेपाल बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक देश हो । यस्ता पर्वले हामीलाई विविधताको सौन्दर्य स्मरण गराउँछन् । एउटा समुदायको पर्व सबैको साझा पर्व बन्ला भन्ने भावना त्यसैबाट जन्मिन्छ, जब राज्य, समाज र समुदायबीच पारस्परिक सम्मान र सहकार्य हुन्छ ।
विक्रम संवतअनुसार चल्ने नेपाली समाजमा इस्वी संवत् र नेपाल संवत्लाई पनि राष्ट्रिय संवत्का रुपमा स्वीकार गरिएको छ । अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाइने पोखरामा नेपाली नयाँ वर्षमा पनि महोत्सव आयोजना गर्ने गरिएको छ । समाजको विशेषताअनुसार यहाँ मनाइने सबै खालका संवत्लाई उत्सवपूर्ण रुपमा मनाउन जरुरी छ । त्यसरी उत्सव मनाउँदा समाजमा एकातिर सहिष्णुता वृद्धि हुन्छ भने अर्कातिर राज्यमा ती समुदायको अपनत्व पनि बढ्छ । सँगसँगै, उत्सव, महोत्सवहरुले मानिसको आवागमन र आर्थिक गतिविधि चलायमान पनि हुन्छ ।








भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदधारीबाटै इमानदार पहल आवश्यक : मन्त्री थापा
घरको फोहोर पानी मिसाउन पक्की सडकको नाली फुटाइयो, कानुन विपरीत गर्नेको विवरण संकलन
‘आर्थिक दायित्वबाट सुरक्षित रहन बिमाको आवश्यकता’
पोखरा सडक महोत्सवमा पहिलो पटक ‘ह्यान्डि क्राफ्ट एन्ड गार्मेन्ट मार्ट’ हुँदै
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया