पोखरामा सय शय्याको जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन

समाधान संवाददाता २०८२ मंसिर २४ गते १४:३७

पोखरा । पोखरा महानगरपालिकास्थित साविक लेखनाथ नगरपालिकाको कार्यालय रहेको स्थानमा सय शय्याको बर्न तथा स्पेशलाइज्ड हस्पिटल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ । यसका लागि कोरियन सहयोग नियोग (कोइका) को उच्चस्तरीय विज्ञ टोली पोखरा आएको छ । कोइकाका कन्ट्री डाइरेक्टर मुहोन कोङ, डेपुटी कन्ट्री डाइरेक्टर, असिस्टेन्ट कन्ट्री डाइरेक्टरसहित विभिन्न विषयका १७ जना कोरियाली विज्ञहरूको टोली आइतबारदेखि पोखरामा रहेको छ ।

यो टोलीले पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित जिभिजेड परियोजना (प्रदर्शन केन्द्रमा निर्माणाधीन परियोजना केन्द्र) को प्रगति तथा अनुगमन गर्नुका साथै अस्पताल निर्माणबारे आवश्यक परामर्श गरिरहेको छ । मिसनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सहसचिव निता पोखरेल, उपसचिव प्रल्हाद कार्की, युएनडिपीका डेपुटी रेजिडेन्ट रिप्रेजेन्टेटिभ जुलियन चेभिलार्ड तथा महानगरको टोली सहभागी छन् ।

अस्पताल निर्माणका लागि साविक लेखनाथ नगरपालिका कार्यालय रहेको ३६ रोपनी जग्गा प्रयोगमा ल्याइने भएको छ । उक्त क्षेत्रमध्ये ३ रोपनीमा वडा नम्बर २७ को कार्यालय निर्माण सम्पन्न भइसकेको छ भने ५ रोपनी क्षेत्रफलमा एडीबीको सहयोगमा विपद् व्यवस्थापन केन्द्र निर्माण प्रक्रिया अघि बढिरहेको छ ।

Advertisement

बाँकी रहेको २८ रोपनी क्षेत्रमा जलन (बर्न) अस्पतालसँगै प्रसूति तथा स्त्री रोग, बालबालिका, ट्रमा, मिर्गौला तथा अन्य आवश्यक विशिष्ट सेवाहरू समावेश गरी यसलाई एक स्पेशलाइज्ड हस्पिटलको रूपमा विकास गर्ने प्रतिबद्धता महानगरका मेयर धनराज आचार्यले जनाएका छन् ।

महानगरले अस्पतालमा जलन उपचारका साथै अन्य कुन विषयको सेवा छान्नु उपयुक्त हुन्छ भन्नेबारे सुझाव समेत माग गरेको छ । यस विषयमा महानगरले भनेको छ, ‘यदि यस विषयमा सुझाव वा परामर्श छ भने लेखेर, भेटेर वा इमेलमार्फत साथ दिन सकिन्छ । जलन र यसको साथमा कुन विषयको सेवा छान्नु उपयुक्त होला, यसबारे पनि आफ्ना सल्लाह वा दृष्टिकोण राख्न सकिन्छ ।’ सर्वसाधारण तथा विज्ञहरूबाट प्राप्त हुने सुझावहरू परियोजनाका लागि अत्यन्तै मूल्यवान् हुने महानगरले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया