बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !

समाधान संवाददाता २०८२ मंसिर २४ गते १६:०३

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावका लागि बागलुङ क्षेत्र नम्बर २ मा कांग्रेसभित्र टिकटको लडाइँ रोचक बनेको छ । एउटा टिकटका लागि आधा दर्जन होइन, १०–१० जना नेताले दाबी पेस गरेपछि क्षेत्रीय समितिले विवादमा नफसी सबैको नाम पोको पारेर केन्द्रतिर पठाइदिएको छ ।

मंगलबार बसेको क्षेत्रीय समितिको बैठकमा उम्मेदवार बन्न चाहनेहरूको लर्को नै लाग्यो । आकांक्षी धेरै भएपछि र कसैले कसैलाई नछाड्ने स्थिति आएपछि क्षेत्रीय सभापति जोकलाल बुढा मगर नेतृत्वको समितिले ‘लौ तिमीहरू सबैको नाम माथि पठाउँछौँ, उतै गएर लड’ भन्ने शैलीमा १० जनाकै नाम जिल्ला हुँदै केन्द्रमा पठाउने निर्णय गरेको हो ।

सांसद बन्ने दौडमा पुरानादेखि नयाँ अनुहारसम्म मैदानमा उत्रिएका छन् । प्रत्यक्षतर्फको टिकट हात पार्न अर्जुन शेरचन, टेकराज पौडेल, नरबहादुर पुन ‘निरज’ र मञ्जेशबम मल्ल लाइनमा छन् । यस्तै, गिता श्रीष, ध्रुव गौतम, डण्डापानी शर्मा, ऋषिराम कँडेल, डिलाराम शर्मा र देवेन्द्र कुमार घर्ती मगरले पनि ‘म केमा कम’ भन्दै दावेदारी प्रस्तुत गरेका छन् ।

Advertisement

प्रत्यक्षतर्फको भिडन्त मात्र होइन, समानुपातिकमा बस्न पनि ४ जनाले नाम टिपाएका छन् । उता माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पनि ३ जनाले इच्छा देखाएका छन् । क्षेत्रीय समितिले आकांक्षी जति सबैको नाम केन्द्रको कोर्टमा फालेपछि अब टिकट कसले पाउला भन्ने रस्साकस्सी काठमाडौंमै चर्किने देखिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया