स्याङ्जाको एउटै समूहले बेच्यो ८७ लाखको सुन्तला

वालिङ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले यस वर्ष ८७ लाख रुपैयाँको सुन्तला बिक्री गरेको छ । एउटै समूहले सुन्तला बेचेर गाउँमा यति ठूलो रकम भित्र्याएको हो ।
विगतमा कोदो तथा मकै फल्ने बारीमा सुन्तलाखेती सुरु गरेपछि गाउँको आम्दानी बढेको समूहका अध्यक्ष यामबहादुर सेनले बताए । उनका अनुसार समूहमा ३१ जना किसान आबद्ध छन् । ‘समूहका सबै किसानले न्यूनतम १ लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्म आम्दानी गरेका छन्,’ उनले भने, ‘कोदो, मकै हुने जमिनमा नगदेबालीका रूपमा सुन्तलाखेती गरेसँगै राम्रो कमाइ हुन थालेको छ ।’
पछिल्लो समय गाउँका सबै घरलाई समूहमा आबद्ध गराएर खेती विस्तार गरिएको छ । पुराना बोटबाट उत्पादन भइरहेको र नयाँ बोट थपिएकाले आगामी वर्ष आम्दानी बढ्ने अध्यक्ष सेनको दाबी छ । ‘आगामी वर्ष समूहबाटै १ करोडभन्दा बढीको सुन्तला बिक्री गर्छौँ,’ उनले भने, ‘त्यसपछिका वर्षमा उत्पादन झनै बढ्दै जान्छ ।’
यहाँका किसानले सुन्तला खरिद गर्न आउने व्यापारीलाई बगैँचा नै ठेक्कामा दिने गरेका छन् भने कतिपयले फुटकर बिक्री गर्छन् । बोटमा भएको उत्पादनका आधारमा व्यापारीसँग मोलमोलाइ गरी प्रतिकिलो ६० देखि ७० रुपैयाँका दरले सुन्तला बिक्री गरिएको हो ।
समूहले नै बजारीकरण, मूल्य निर्धारण र आइपरेका समस्या समाधान गर्दै आएको छ । स्याङ्जा सुन्तला उत्पादनका लागि प्रख्यात छ । जिल्लामा ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन’ सञ्चालनमा आएपछि बगैँचा विस्तारले तीव्रता पाएको छ । विसं २०७३/७४ देखि यहाँ सुन्तला जोन र पछि सुपरजोन कार्यक्रम लागू भएको हो ।रासस








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया