पोखरा आदर्शका विद्यार्थीलाई साइबर सुरक्षा र अपराध सचेतनाबारे प्रशिक्षण

समाधान संवाददाता २०८२ पुष २ गते १८:५८


पोखरा । पोखराको बगरस्थित पोखरा आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई साइबर सुरक्षा र सामाजिक अपराधबारे सचेतना जगाइएको छ । सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्र बगरको संयुक्त आयोजनामा भएको कार्यक्रममा बढ्दो विद्युतीय अपराध, लागुऔषध र सामाजिक विकृतिबारे जानकारी दिइएको हो ।

विशेष गरी कक्षा १२ विज्ञान संकायका विद्यार्थी लक्षित कार्यक्रममा प्रहरी सेवा केन्द्र बगरका वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाले प्रशिक्षण दिए । उनले डिजिटल प्रविधिको दुरुपयोग बढिरहेको भन्दै विद्यार्थीलाई सचेत र जिम्मेवार नागरिक बन्न आग्रह गरे । रोकाले साइबर अपराध, लागुऔषध दुर्व्यसन, मानव बेचबिखन र युवा वर्गलाई प्रभावित पार्ने अन्य अपराधका स्वरूपबारे जानकारी दिँदै बच्ने उपायहरू सिकाएका थिए । ‘विद्यार्थी समाज परिवर्तनका सशक्त संवाहक हुन्, त्यसैले विद्यालयस्तरबाटै अपराध न्यूनीकरणको पाठ सिकाउनु प्रभावकारी हुन्छ,’ उनले भने ।

Advertisement

सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवाका अध्यक्ष रामप्रसाद अधिकारीले सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकबीच विश्वास र सहकार्य हुनुपर्नेमा जोड दिए । विद्यालयका निर्देशक नारायण न्यौपानेले यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास र सामाजिक जिम्मेवारी बढाउने भन्दै आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।

विद्यालयका उप–प्राचार्य ज्ञानेश्वर सुवेदीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि प्राडा नरेन्द्रनारायण झाले अतिथिहरूलाई शिव त्रिपाठीद्वारा रचित कविता संग्रह मायाको चिनोस्वरूप प्रदान गरेका थिए । सचेतनामा सामुदायिक सेवा केन्द्रका कार्यक्रम संयोजक रामबहादुर लामिछाने, प्रहरी सेवा केन्द्र बगरका इन्चार्ज गौतमकुमार हायु, दिवा सत्र संयोजक बलराम सुवेदी, शिक्षिका ज्योति त्रिपाठी, समीक्षा गुरुङ लगायतको उपस्थिति थियो । कार्यक्रममा करिब ७५ विद्यार्थी सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया