चिकित्सा सेवाबाट पोखरा रत्न बने डा. बुद्धिबहादुर

समाधान संवाददाता २०८२ पुष ३ गते ६:०८

पोखरा । पोखरामा स्वास्थ्य सेवा र प्राज्ञिक योगदान गरेबापत प्रा. डा. बुद्धिबहादुर थापा पोखरा रत्न सम्मानीत भएका छन् । महानगरले उनलाई २ लाख २ हजार २ सय दुई रुपैयाँ नगदसहित ताम्रपत्र, दोसल्ला, तक्माले बुधबार सम्मान गरिएको हो । उनी पोखरामा लामो समयदेखि चिकित्सा सेवा, भौतिक पूर्वाधार विकास, दक्ष जनशक्ति निर्माण र प्राज्ञिक संरचनाको विस्तारमा सक्रिय छन् ।


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको रूपमा उनले स्वास्थ्य क्षेत्रमा समर्पित जीवन बिताएका छन् । फेवा सिटी अस्पताल प्रा. लि.मा चिफ कन्सल्टेन्ट फिजिसियन तथा विभागीय प्रमुख (आन्तरिक चिकित्सा)को रूपमा कार्यरत उनले पोखराका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएका छन् ।

डा. थापाले आन्तरिक चिकित्सा क्षेत्रमा एम.बी.बी.एस, एम.डी. र एफ.आर.सी.पी. को अध्ययन पूरा गरी देशभरका चिकित्सकमा प्रेरणा दिएको उल्लेखनीय योगदान छन् । उनले सहायक प्राध्यापकको रूपमा मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा पनि विद्यार्थीहरूलाई मार्गदर्शन प्रदान गरेका थिए ।

Advertisement

उनको नेतृत्वमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पश्चिमाञ्चल क्षेत्रमा स्वास्थ्य सेवा, तालिम र अनुसन्धानलाई उच्च स्तरमा पुर्‍याएको छ । डा. थापाले नेपाल चिकित्सक संघ गण्डकी शाखा, लायन्स क्लब अफ पोखरा, गण्डकी मेडिकल कलेज र पोखरा विश्वविद्यालयमा पनि विभिन्न जिम्मेवारीहरू बहन गरेका छन् । ‘डा. बुद्धिबहादुर थापाले आजिवन पुर्‍याएको योगदानले पोखराको स्वास्थ्य सेवा र प्राज्ञिक संरचनामा अभूतपूर्व प्रभाव पारेको छ,’ कदर पत्रमा लेखिएको छ । उनको कार्यकालमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले आधुनिक स्वास्थ्य सेवा विस्तार गरेको, दक्ष चिकित्सकहरू तयार पारेको र नागरिक स्वास्थ्य क्षेत्रमा सुधार ल्याएको थियो । डा. थापाले स्वास्थ्य तालिम, अन्तर्राष्ट्रिय सम्मेलन, र विशेषज्ञ सल्लाहदाताका रूपमा पनि योगदान दिँदै आएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया