६ दशकको निर्भीक पत्रकारिताका साधक तिलकमान गुभाजू

समाधान संवाददाता २०८२ पुष ३ गते ५:५८

पोखरा ।
पोखरा महानगरपालिकाले ६ दशकभन्दा लामो समयदेखि पत्रकारितामार्फत आवाजविहीनका आवाज बनेर समाजका विकृति र विसंगतिविरुद्ध निरन्तर खबरदारी गर्दै आएका वरिष्ठ पत्रकार तिलकमान गुभाजूलाई पोखरा रत्नबाट सम्मान गरेको हो । महानगरले उनलाई २ लाख २ हजार २ सय दुई रुपैयाँ नगदसहित ताम्रपत्र, दोसल्ला, तक्माले बुधबार सम्मान गरिएको हो । पोखरा महानगरपालिकाको ६७औं स्थापना दिवसका अवसरमा उनलाई महानगरको सर्वोच्च सम्मान अर्पण गरिएको हो ।


पोखरालाई कर्मथलो बनाएर ६ दशदेखि पत्रकारितामा सक्रिय गुभाजूले दैनिक र साप्ताहिक पत्रिकामा समाचार, टिप्पणी र सम्पादकीय लेखनमार्फत सशक्त विचार निर्माण, विषय उठान र जनसशक्तिकरणमा उल्लेखनीय योगदान पु¥याएको भन्दै महानगरले सम्मान गरेको हो । पत्रकारितासँगै उनी एक अध्येताका रूपमा बौद्ध वाङ्मयको अध्ययन, प्रचार–प्रसार र सचेतना साधनामा सक्रिय रहँदै पोखरेली समुदायमा आजीवन योगदान पु¥याएका छन् ।


महानगरपालिकाले सम्मान पत्रमार्फत ‘पत्रकारिताको माध्यमबाट समाजका विकृति विसंगतिको पर्दाफास, निरन्तर खबरदारी र बौद्ध दर्शन तथा संस्कृतिको प्रचारमार्फत सामाजिक चेतनामा पु¥याएको अतुलनीय योगदानको उच्च मूल्यांकन गर्दै पोखरा रत्न सम्मान अर्पण गरेको हो ।

Advertisement


२००५ साल चैत १२ गते पोखराको मोहरियाटोलमा जन्मिएका तिलकमान गुभाजू हाल पोखराको नयाँबजारमा स्थायी बसोबास गर्दै आएका छन् । उनका पिता सन्तमान गुभाजू र माता पद्मकुमारी गुभाजू हुन् । उनले स्नातक तहसम्मको अध्ययन गरेका छन् ।


गुभाजूले २०२५ सालदेखि पत्रकारिता पेशा सुरु गरेका हुन् । उनले नेपाल परिवेक्षक साप्ताहिकमा संवाददाताका रूपमा काम गरेका छन् भने २०४० सालमा पर्यवेक्षक साप्ताहिकको सम्पादकको जिम्मेवारी सम्हालेका थिए । त्यसैगरी २०५३ सालमा धर्मचक्षु बौद्ध मासिकको सम्पादकका रूपमा कार्य गरे भने आदर्श समाज राष्ट्रिय दैनिकमा अतिथि सम्पादकका रूपमा पनि संलग्न रहे ।

Advertisement

पत्रकारिताबाहेक उनी शिक्षण, सामाजिक र धार्मिक क्षेत्रमा पनि सक्रिय रहे । २०२१ देखि २०२५ सालसम्म पोखराको पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा शिक्षकका रूपमा काम गरे भने २०२६–२०२७ सालमा पर्वतको पशुपति माध्यमिक विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाले । त्यसपछि २०२८ देखि २०४० सालसम्म पोखरा उद्योग वाणिज्य संघमा कार्यालय सचिवका रूपमा कार्यरत रहे । २०३५ देखि २०४६ सालसम्म नेपाल कुष्ठरोग निवारण संघ पोखरा शाखाको सचिव रहे ।


गुभाजू धर्मशीला बुद्ध विहार पोखराका दायक सभा अध्यक्ष, विश्व शान्ति स्तूप समिति पोखराका संस्थापक सचिव, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व सदस्य, ज्ञानमाला संघ, धर्मशीला बुद्धविहार नदिपुरलगायत विभिन्न शैक्षिक, सामाजिक र धार्मिक संघसंस्थामा सक्रिय छन् ।


उनका कृतिहरूमा के बुद्ध धर्म हिन्दू धर्मको शाखा हो र, अनागारिका धर्मशील, बुद्ध धर्मको विकासमा युवाहरूको भूमिका, संचारमा बुद्ध धर्म, बुद्धधर्म र आदिवासी जनजाति, किराँतकालमा बुद्ध धर्मलगायत विषयमा लेख तथा अनुसन्धान प्रकाशित छन् । उनका लेख रचना विभिन्न पत्रपत्रिका र स्मारिकामा निरन्तर प्रकाशित हुँदै आएका छन् ।
पत्रकारिता यात्राका क्रममा गुभाजू विभिन्न सम्मान र पुरस्कारबाट सम्मानित भएका छन् ।

२०५२ सालमा प्रेस काउन्सिलद्वारा संयुक्त राष्ट्र संघको ५०औं स्वर्ण जयन्तीको अवसरमा आयोजित विशेषा‌ंक प्रतियोगितामा प्रथम भई संयुक्त राष्ट्र संघ स्वर्ण जयन्ती पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी नेपाल प्रेस युनियन कास्की, नेपाल पत्रकार महासंघ कास्की, पोखरा उद्योग वाणिज्य संघ, नेपाल आदिवासी जनजाति पत्रकार संघ कास्की, धर्मोदय सभा, बुद्ध जयन्ती समारोह समिति कास्की, धर्मोदय धर्म सम्मान, जगन्नाथ सिग्देल स्मृति हिमदूत पत्रकारिता पुरस्कार, दयाशंकर स्मृति पत्रकारिता पुरस्कारलगायत थुप्रै सम्मान प्राप्त गरिसकेका छन् ।

पोखरा महानगरपालिकाले पोखराको सामाजिक, बौद्धिक र पत्रकारिता क्षेत्रमा जीवन समर्पण गरेका गुभाजूलाई पोखरा रत्न सम्मान–२०८२ प्रदान गर्दै उनको योगदानलाई इतिहासमा दर्ज गरिएको छ ।

तपाईको प्रतिक्रिया