सिंजालीलाई केशर पुरस्कार

पोखरा ।
गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले लोपोन्मुख मगर भाषाको संरक्षणका लागि प्रशिक्षण कक्षाहरू सञ्चालन गर्न आवश्यक रहेको बताएकी छिन् । मगर भाषा प्रतिष्ठान, कास्की शाखाले कवि केशरबहादुर नाम्जाली भुरुङ मगरको ५९ औं जन्म जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा उपसभामुख थापाले मगर भाषा संरक्षणका लागि प्रयोगलाई व्यापक बनाउन आवश्यक रहेको धारणा व्यक्त गरिन् ।
गण्डकी प्रदेशसभाले गण्डकी प्रदेशमा मगर भाषा र गुरुङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न ऐन निर्माण गरिसकेको जनाउँदै उनले त्यसको कार्यान्वयनका लागि सबैको साथ, सहयोग जरुरी रहेको उल्लेख गरिन् । मगर भाषामा कलम चलाउने स्रष्टालाई सम्मान गर्नु प्रशंसनीय कार्य रहेको भन्दै उपसभामुख थापाले कवि केशरले आफ्नो जीवनको छोटो समयमा पनि नेपाली समाजका लागि आफ्नो अमूल्य कृति दिएर गएको बताइन् ।
सो अवसरमा उनले कवि केशरबहादुर नाम्जाली भुरुङ मगरको स्मृतिमा स्थापित केशरबहादुर नाम्जाली भुरुङ मगर साहित्य पुरस्कार–२०८२ बाट स्रष्टा डा. विष्णुकुमार सिंजालीलाई पुरस्कृत गरिन् । मगर भाषा प्रतिष्ठान, कास्की शाखाले सञ्चालन गर्दै आएको सो पुरस्कारबाट ५९ औं केशर जन्मजयन्तीका अवसरमा बुधबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्यसमेत रहेका प्राज्ञ डा. सिंजाली पुरस्कृत भएका हुन् ।
साहित्य पुरस्कारबाट पुरस्कृत व्यक्तित्व डा सिंजाली नेपाल मगर लेखक संघका अध्यक्षसमेत हुन् । प्रतिष्ठानले हरेक २ वर्षमा कवि केशरको जन्म जयन्तीका अवसरमा एक जना साहित्यिक प्रतिभालाई सो पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ ।
कार्यक्रममा पुरस्कृत व्यक्तित्व डा सिंजालीले आफूले कुनै सम्मान वा पुरस्कार पाउने आशामा मगर भाषाको लेखनमा नआएको बताए । मातृभाषाप्रतिको माया र लगावका कारण मगर भाषामा कृति लेखन सम्भव भएको बताउँदै उनले आफूले गरेको योगदानलाई समाजले कदर गरेको र पुरस्कार प्राप्तिले थप जिम्मेवारी दिएको महसुस गरेको उल्लेख गरे ।
मगर भाषा प्रतिष्ठान, केन्द्रीय समितिका सचिव मनबहादुर गाहाले मातृभाषालाई रोजीरोटीसँग जोड्न सकेमात्र जोगाउन सकिने धारणा व्यक्त गर्दै राज्यले मगर भाषा लगायतका लोपोन्मुख मातृभाषाको संरक्षणका लागि ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा कवि रूद्र सन्देश मगरले कवि केशरबहादुर नाम्जाली भुरुङ मगरको व्यक्तित्व र कृतित्वबारे बोलेका थिए भने भने प्रतिभा छनोट समितिका संयोजक एवं मगर भाषा प्रतिष्ठान, कास्की शाखाका संस्थापक अध्यक्ष निर्मल थापाले पुरस्कृत व्यक्तित्वको परिचय प्रस्तुत गरेका थिए ।
मगर भाषा प्रतिष्ठान, कास्कीका अध्यक्ष यामबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मीना थापा र उपाध्यक्ष रूद्रबहादुर श्रीसले पनि बोलेका थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया