गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक

समाधान संवाददाता २०८२ पुष ३ गते १८:५२

पोखरा । गण्डकी प्रदेश सरकारले युवालाई लक्षित गर्दै ‘मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोसिप कार्यक्रम’ सुरु गरेको छ। प्रदेशको विकास र रूपान्तरणमा युवा जनशक्तिलाई जोड्ने उद्देश्यले प्रदेश नीति तथा योजना आयोगले बुधबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो।

आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअनुसार आयोगले फेलोसिपका लागि आवेदन खुला गरेको हो। छनोट हुने फेलोले करसहित मासिक ३० हजार रुपैयाँ पारिश्रमिक पाउनेछन्। ‘मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोसिप कार्यक्रम सञ्चालन कार्यविधि, २०८२’ अनुसार उनीहरूले दैनिक क्रियाकलाप समेटेर मासिक प्रतिवेदन बुझाएपछि भुक्तानी पाउने व्यवस्था छ। साथै, तोकिएको कार्यक्षेत्रभन्दा बाहिर जानुपरेमा सहायक स्तरको निजामती कर्मचारीसरह भ्रमण खर्च उपलब्ध गराइनेछ।

योग्यता र उमेर
फेलोसिपमा सहभागी हुन चाहने व्यक्ति नेपाली नागरिक हुनुपर्नेछ। उम्मेदवारले स्वदेश वा विदेशका मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने आयोगले जनाएको छ। उमेरको हकमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। फेलोको अध्ययन विषय तोकिएको कार्यक्षेत्रसँग सम्बन्धित हुनुपर्ने कार्यविधिमा उल्लेख छ।

Advertisement

छनोट प्रक्रिया र अंकभार
आयोगले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन समय तोकेको छ। फेलो छनोटका लागि १०० पूर्णांकको मापदण्ड बनाइएको छ। जसमा शैक्षिक योग्यतालाई ४०, कार्यअनुभवलाई १५, विषयगत प्रस्तुतीकरण, अन्तर्वार्ता र व्यावहारिक ज्ञानलाई ४० तथा समावेशीकरणका लागि ५ अंकभार छुट्याइएको छ।

शैक्षिक योग्यतातर्फ स्नातकमा ३.५ जिपिए वा सोभन्दा माथि ल्याउनेलाई ३५ अंक र ३ देखि ३.५ जिपिए ल्याउनेलाई ३२ अंक दिइनेछ। स्नातकोत्तर गरेको भए थप ५ अंक जोडेर ४० अंक पुर्याइनेछ। छनोट प्रक्रियामा महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, पिछडिएको क्षेत्र, अपांगता भएका व्यक्ति तथा सीमान्तकृत समूहलाई प्रोत्साहनस्वरुप २ अंक दिइने व्यवस्था छ।

Advertisement

काम र कर्तव्य
छनोट भएका फेलोले गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाले तय गरेका प्रादेशिक विकासका प्रमुख क्षेत्रमा काम गर्नुपर्नेछ। उनीहरूले तथ्यांक संकलन, योजना कार्यान्वयनमा सहजीकरण र नियमित अनुगमन तथा मूल्यांकनमा सघाउनेछन्। कार्यक्रमलाई प्रभावकारी बनाउन नीति तथा योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समन्वय समिति र आयोगका सचिवको संयोजकत्वमा सञ्चालन समिति गठन गरिनेछ ।

इच्छुक उम्मेदवारले आयोगको वेबसाइट वा सूचनामा रहेको क्युआर कोड स्क्यान गरी तोकिएको अनलाइन लिंकमार्फत आवेदन दिन सक्नेछन्।

तपाईको प्रतिक्रिया