हाटबजार र कृषि प्रणाली

हिमालको न्यानो काखमा लमतन्न फैलिएको उर्वर पोखरा उपत्यकाको परिचय यहाँको प्राकृतिक सौन्दर्य मात्र होइन, यहाँको कृषि प्रणाली पनि हो । पोखराको कृषि केवल जीविकोपार्जनको माध्यममा सीमित छैन; यो यहाँको पर्यटन, संस्कृति र रैथाने पहिचानसँग जोडिएको एउटा अभिन्न अंग हो । तर, विडम्बना नै भन्नुपर्छ– यति ठूलो सम्भावना बोकेको कृषि क्षेत्र आज बिचौलियाको अदृश्य जालोमा नराम्ररी अल्झिएको छ, जसको प्रत्यक्ष मारमा एकातिर माटोमा पसिना बगाउने किसान परेका छन् भने अर्कोतिर उपभोक्ताको भान्सा महँगिएको छ ।
यस पृष्ठभूमिमा पोखरामा व्यवस्थित हाटबजार स्थापनाको पहल केवल आर्थिक कारोबारको विषय मात्र नभई स्थानीय अर्थतन्त्रलाई सुदृढ पार्ने, महिला सहकारी र युवा उद्यमीलाई अघि बढाउने तथा हाम्रो कृषि संस्कृतिलाई पुनर्जीवित गर्ने एउटा ऐतिहासिक अवसर हो । यो हाटबजारले किसानलाई ‘न्यूनतम समर्थन मूल्य’ दिलाउँदै बजारमा बिचौलियाको एकाधिकार तोड्ने र वातावरणमैत्री ‘हरित सहर’ को परिकल्पनालाई साकार पार्ने सामथ्र्य राख्छ ।
पोखरा र यसका आसपासका कान्ला–कान्लामा कृषिको अपार सम्भावना छ । यहाँका किसानले माटोमा सुन फलाउन कुनै कसर बाँकी राखेका छैनन् । फेवा फाँटको बास्नादार ’पोखरेली जेठोबुढो’ चामल होस् वा हेम्जाको आलु; निर्मल पोखरीको रसिलो सुन्तला होस् वा बागमाराको तरकारी र पुरनचौरको जौ– यी सबै पोखराका विशिष्ट पहिचान हुन् । बजारमा यी उत्पादनको माग आकाशिएको छ, तर किसानको हातमा पर्ने दाम भने अत्यन्त न्यून छ । खेतबारीबाट भान्सासम्म आइपुग्दा मूल्यमा हुने अस्वाभाविक वृद्धिको हिस्सा किसानले पाउँदैनन् ।
२०८० मा कृषि विकास बैंकले गरेको एक अध्ययन अनुसार, पोखराका किसानले आफ्नो उत्पादनको लागतभन्दा ४० प्रतिशत कम मूल्य पाउने गरेको देखिएको छ । त्यस्तै, ‘नेप्लिज जर्नल अफ एग्रिकल्चर साइन्सेस– २०२१’ को अध्ययनले पनि खण्डित जमिन, बजारसम्मको कमजोर पहुँच र मूल्य निर्धारणमा किसानको भूमिका नहुँदा उनीहरू मारमा परेको निष्कर्ष निकालेको छ ।
हाटबजार पोखराको कृषि आधारित समाजलाई उत्पादनदेखि उपभोगसम्म जोड्ने एउटा ‘लाइफलाइन’ बन्न सक्छ
अहिलेको तीतो यथार्थ के हो भने, किसानले आफ्नो उत्पादन बजारसम्म पुर्याउन बिचौलियाकै भर पर्नुपर्ने बाध्यता छ । ढुवानी र संकलनमा बिचौलियाको भूमिकालाई नकार्न सकिँदैन, तर समस्या उनीहरूले लिने अस्वाभाविक मुनाफामा छ । किसानले पसिनाको मूल्य नपाउने तर उपभोक्ताले महँगो तिर्नुपर्ने यो खाडल पुर्नका लागि नीतिगत हस्तक्षेप अनिवार्य भइसकेको छ । पोखरा महानगरपालिकासँग जनशक्ति र पूर्वाधार नभएको होइन र विगतमा ‘कृषि बजार सूचना व्यवस्थापन प्रणाली’ जस्ता नवीन अभ्यासको सुरुवात नभएको पनि होइन । महानगरको कृषि शाखामा किसानको मर्म बुझ्ने कर्मचारीहरू पनि छन्, तर समस्या नेतृत्व र स्पष्ट नीतिको कार्यान्वयनमा देखिन्छ । नीति निर्माणको तहमा किसानको प्रतिनिधित्व नहुँदा र उनीहरूको पीडालाई प्राथमिकतामा नराखिँदा यो समस्या ज्यूँकात्यूँ छ ।
किसानको समस्यालाई टालटुले समाधानले पुग्दैन, अब दीर्घकालीन सोचसहितको संस्थागत हाटबजार प्रणाली आवश्यक छ । यस्तो बजारमा मूल्य निर्धारणको अधिकार र वर्चस्व किसानमै निहित हुनुपर्छ । हाटबजार सञ्चालन गर्दा महिला सहकारी, युवा उद्यमी र अर्गानिक खेती गर्नेहरूलाई विशेष प्राथमिकता र सहुलियत दिइनुपर्छ । किसान नठगिऊन् भनेर बजार भाउको जानकारी मोबाइल एप वा डिजिटल डिस्प्लेमार्फत पारदर्शी रूपमा उपलब्ध गराउने व्यवस्था गरिनुपर्छ । वातावरणमैत्री अभ्यासका रूपमा प्लास्टिकको प्रयोगमा रोक लगाउँदै उत्पादनको स्वच्छता र ‘ग्रिन सिटी’ को अवधारणालाई पनि हाटबजारले अनिवार्य रूपमा पालना गर्नुपर्छ । यसका लागि पोखरा महानगरपालिकाले अब प्रशासनिक समन्वय, सुरक्षा र जग्गा व्यवस्थापनमा नेतृत्वदायी भूमिका खेल्नैपर्छ ।
हाटबजार पोखराको कृषि आधारित समाजलाई उत्पादनदेखि उपभोगसम्म जोड्ने एउटा ‘लाइफलाइन’ बन्न सक्छ । यसले किसानको आत्मविश्वास मात्र बढाउँदैन, ग्रामीण पर्यटनलाई टेवा दिँदै हाम्रा सांस्कृतिक मूल्यमान्यतालाई पनि जोगाइराख्छ । यो कदम सामाजिक न्याय र स्थानीय विकासको आधारशिला हो । तसर्थ, पोखराको कृषिलाई बचाउने र बचाइराख्ने हो भने खेतबारीदेखि भान्सासम्मको यो सिधा बाटोलाई अबिलम्ब संस्थागत गरिनुपर्छ ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया