ओलीको टोलीमा गण्डकीका ४ दर्जन

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि निर्वाचित गरेको छ । एमालेको नेतृत्वमा पुनः ओलीको आगमनसँगै पार्टीभित्र उनको शक्तिशाली पकड फेरि एक पटक प्रमाणित भएको छ ।
बिहीबार सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार ओलीले आफ्ना निकटतम प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै अध्यक्षमा ह्याट्रिक गरे । अध्यक्षका लागि भएको निर्वाचनमा कुल २ हजार २ सय २७ मत खसेको थियो । जसमा केपी शर्मा ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एवं निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ५ सय ६४ मतमा सीमित भए । ओलीले पोखरेललाई १ हजार ९९ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।
लामो समयदेखि ओलीका विश्वास पात्र मानिएका पोखरेलले यस पटक अध्यक्ष दाबी गरेका थिए । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि लोकतान्त्रिक विधिमार्फत नेतृत्व चयन भएको हो । यद्यपि, मतदानमा ३६ जना महाधिवेशन प्रतिनिधि अनुपस्थित रहे ।
महाधिवेशनबाट एमालेको पदाधिकारीमा गण्डकी प्रदेशका ३ नेता पुग्न सफल भएका छन् । केन्द्रीय सदस्यहरु झन्डै ४ दर्जन छन् ।
अध्यक्षमात्र नभई एमालेको पदाधिकारी र पार्टी संरचनामा नै केपी ओली पक्षको वर्चस्व कायम भएको छ । महाधिवेशनबाट निर्वाचित १९ सदस्यीय पदाधिकारीमध्ये १७ जना ओली प्यानलका उम्मेदवारहरू छन् । यसले पार्टीभित्र संस्थापन पक्षको बलियो पकड देखाएको छ ।
उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा पनि ओली पक्षकै उम्मेदवारहरूले बाजी मारेका छन् । ५ जना उपाध्यक्षका लागि भएको प्रतिस्पर्धामा पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्णराज विष्ट र रघुजी पन्त विजयी भएका छन् । यीमध्ये बादल माओवादी पृष्ठभूमिबाट आएका हुन् भने विष्ट १० बुँदे सहमति पक्षधर हुन् ।
बादल एमाले–माओवादी केन्द्र एकीकरणपछि भएको पार्टी विभाजनका बेला एमालेमै बसेका थिए । उता, उपाध्यक्षमा उम्मेदवारी दिएका गुरुप्रसाद बराल र नेतृ बिन्दा पाण्डे पराजित बने । पार्टीको शक्तिशाली पद महासचिवमा शंकर पोखरेल दोहोरिएका छन् । उनले आफ्ना प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेलाई पराजित गर्दै महासचिवको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।
पोखरेललाई ओलीका वैचारिक उत्तराधिकारीका रूपमा समेत हेर्ने गरिन्छ । पाण्डे दोस्रोपटक महासचिवमा पराजित भएका हुन् । उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन् । भट्ट पनि पूर्वमाओवादी हुन् । उनले उपमहासचिवमा सर्वाधिक मत पाएका छन् ।
सचिवका ९ सिटमध्ये महेश बस्नेले सर्वाधिक १ हजार ५ सय ४४ मत पाए । दोस्रो स्थानमा पद्माकुमारी अर्याल (१५३०) छिन् । छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १२३१, यामलाल कँडेलले ११८५ र राजन भट्टराईले (११८१) मत ल्याई सचिवमा निर्वाचित भएका छन् । भानुभक्त ढकाल पनि ११०८ मतसहित सचिवमा निर्वाचित भए । खगराज गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन् ।
यो महाधिवेशनको नतिजाले ओलीको राजनीतिक जीवनमा अर्को महत्वपूर्ण अध्याय थपेको छ । ५ दशकभन्दा लामो राजनीतिक जीवनमा ओलीले एमालेको अध्यक्षका रूपमा तेस्रो पटक जिम्मेवारी पाएका हुन् । उनको अध्यक्षका रूपमा यात्रा २०७१ सालमा काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनबाट सुरु भएको थियो ।
त्यस बेला उनले नेता माधवकुमार नेपाललाई झिनो मतान्तरले पराजित गर्दै पहिलो पटक पार्टीको बागडोर सम्हालेका थिए । त्यसपछि २०७८ सालमा चितवनको चितवनमा सम्पन्न दशौं महाधिवेशनमा उनी भीम रावललाई भारी मतान्तरले हराउँदै दोस्रो कार्यकालका लागि चुनिएका थिए । अहिले काठमाडौंमा भएको ११ औं महाधिवेशनबाट तेस्रो पटक अध्यक्ष बन्दै उनले पार्टीभित्र आफ्नो प्रभावलाई संस्थागत गरेका छन् ।
२०६५ सालमा बुटवलमा भएको आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग अध्यक्षमा पराजित भएका थिए । त्यसयता उनले पार्टीभित्र आफ्नो भूमिका सुदृढ गर्दै लगेका छन् । महाधिवेशनले ओलीलाई शक्तिशाली त बनाएको छ, तर आगामी दिनमा उनका सामु चुनौतीका चाङ पनि उत्तिकै छन् । आफ्नै सहयात्री ईश्वर पोखरेलले चुनौती दिनु र पदाधिकारीमा केही असन्तुष्टि स्वर देखिनुले पार्टीभित्र उनलाई यति सहज भने हुने छैन ।
एमाले महाधिवेशनको तातो माहोलले अब देशको राष्ट्रिय राजनीतिमा पनि प्रभाव पार्ने छ । विशेषगरी आगामी आमनिर्वाचन र राष्ट्रिय मुद्दाहरूमा एमालेले अब कस्तो रणनीति लिन्छ, त्यसले ओलीको तेस्रो कार्यकालको मूल्यांकन गर्ने छ ।
एमालेको यो महाधिवेशनले पार्टीभित्र तत्कालका लागि ओलीको विकल्प कोही नरहेको सन्देश दिएको छ । १९ मध्ये १७ पदाधिकारी आफ्नो पक्षका हुनुले ओलीलाई निर्णय प्रक्रियामा सहज त हुने नै छ, पार्टी पूर्ण रूपमा ‘ओली स्कुलिङ’मा अघि बढ्ने विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया