लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म

कञ्चन थापा २०८२ पुष ५ गते १७:५५

कञ्चन थापा/पोखरा

Advertisement

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सकिएको छ । भित्ताको क्यालेन्डरले पाना पल्टायो, लगाइएका पोस्टर र ब्यानरहरू झिकिएका छन् । बोलिने माइकहरू चूप लागेका छन् भने सामाजिक सञ्जालका स्टाटस फेरिएका छन् । तर मनभित्र एउटा प्रश्न भने अझै अनुत्तरित छ

— के साँच्चै केही परिवर्तन भयो त ? कि हामीले फेरि एक पटक कार्यक्रमको औपचारिकता पूरा गर्‍यौँ र आत्मसन्तुष्ट भएर फर्कियौँ ?

Advertisement


यो १६ दिने अभियान चलिरहँदा मलाई कलम चलाउनभन्दा बढी मेरा आँखा र कान चलाउन मन लाग्यो । किनकि लेखेर भन्दा देखेर र सुनेर बुझिने कुरा धेरै थिए । मञ्चमा बोलेका ओजिला शब्दहरू कत्तिको व्यवहारमा लागू गर्छौ भन्ने लाग्थे । कार्यक्रमहरू चलिरहे, गोष्ठीहरू भए, अन्तर्क्रियाहरू भए, कतिपय अभियानकर्ताहरू यति व्यस्त देखिए कि अभियानकै कारण समय नपुगेको गुनासो पनि सुनियो । तर यो व्यस्तता कसका लागि थियो ? कसको आवाज बोकेर हिँडेको ? कसको ढोकासम्म पुग्यो ? कसले सुने कसले सुनेनन् ?

अब प्रश्न उठ्छ— १६ दिनसम्म चलेको अभियान कत्तिको प्रभावकारी भयो ? आफैँका लागि आफ्नै आवाज खोज्नुपर्ने ती दिदीबहिनीहरूसम्म यो अभियान पुग्न सक्यो कि सकेन ? सहरका हल, होटल र सेमिनार कक्षमै सीमित भयो कि गाउँ, बस्ती, टोल र दुरदराजका आँगनसम्म पुग्यो ? कागज र स्क्रिनमा देखिएका महिला हिंसाका कथाहरू ती कथाका पात्रहरूसँग साँच्चै जोडिन सक्यो या सकेन ? यी सबै प्रश्नको समीक्षा गर्ने जिम्मा मैले तिनै अभियानकर्ता, नीति निर्माता र अगुवाहरूलाई छोडिदिएँ । किनकि उनीहरूसँगै यसको जवाफ भने पक्कै पनि अर्थपूर्ण हुनुपर्छ ।

Advertisement

जबसम्म हामी आफ्नै आँखाले देख्दैनौँ र आफ्नै कानले सुन्दैनौँ र मनन गर्दैनौँ, तबसम्म कलमले लेखेको सत्य अधुरो नै रहन्छ

महिला हिंसा के हो ? यो प्रश्न आफैँमा गम्भीर छ । महिला हिंसा भन्नेबित्तिकै हाम्रो दिमागमा चलचित्रझैँ आउने पहिलो दृश्य भनेको श्रीमानले श्रीमतीलाई कुटपिट गरेको, गालीगलौज गरेको, मानसिक वा शारीरिक यातना दिएको या एउटा पुरुष पात्रले महिला पात्रलाई गरिने व्यवहारको चित्र हो । हामीले महिला हिंसालाई यति साँघुरो घेरामा बाँधिदिएका छौँ कि त्यसबाहिर खासै सोच्नै सक्दैनौँ । मानौँ, हिंसाको परिभाषा त्यही एउटा चलचित्र झैँ आउने चित्रमा थुनिएको छ ।

तर के वास्तविक लैंगिक हिंसा यही मात्रै हो ? प्रश्न उठ्छ— हुन त तपाईं हामी सबैका उत्तर आफ्नै अनुभव, चेतना र परिवेशअनुसार फरक, फरक होलान् । तर मेरो उत्तर चाहिँ अलि फरक छ, किनकि त्यसमा कागजी ज्ञान मात्र छैन आफ्नै भोगाइका धर्साहरू पनि मिसिएका छन् ।

आजकल म महिला महिलाबीच गरिने, भइरहने व्यवहारलाई पनि लैंगिक वा महिला हिंसाकै रूपमा हेर्छु । यो हिंसा देखिँदैन किनकि यसमा हात उठ्दैन, रगत बग्दैन, चिच्याहट हुँदैन तर यसले आफ्नो आत्मसम्मान, आत्मविश्वास र पहिचानलाई बिस्तारै खोस्दै लैजान्छ । यो हिंसा मुस्कानभित्र लुकेको हुन्छ, सहयोगको नाममा नियन्त्रण गर्न खोज्छन्, शुभेच्छाको खोल ओढेर प्रतिस्पर्धाको विष छर्छन् जुन मैले पटक पटक भोगेकी छु ।

अर्थको अनर्थ नलगाउने हो भने अहिले आफूलाई समाजको अगुवाइको रूपमा वा नेतृत्वको रूपमा लिने महिलाहरूका सोच, व्यवहार र अस्वस्थ प्रतिस्पर्धा देख्दा अचम्म लाग्छ । महिला महिलाको हात समातौँ साथ दिउँ भन्ने आदर्श वाक्य सुन्दै आएका छौँ, तर व्यवहारमा महिला महिलाको खुट्टा तानिएको धेरै देखिन्छ । एउटी महिला आफ्नो बलबुतामा लगनशीलता र परिश्रमले सफल हुन्छे । तर त्यो सफलता स्वीकार गर्नुभन्दा अघि प्रश्न उठाइन्छ— यसलाई कसले अघि बढायो ? यहाँसम्म पुग्न मेरो भूमिका अहम छ । मैले नै यो क्षेत्रमा ल्याएको, मैले अगाडि बढाएको, मैले नै अवसर दिएको । हरेक खुड्किला उक्लँदाका अदृश्य सिसाका टुक्राहरू बिछ्याउनेहरूले कुन बेला हात तान्यौ ? कुन बेला साथ दियौ ? कुन बेला होस्तेमा हैसे गर्‍यौ ? कुन बेला आफूलाई छाडेर अवसर दियौ ? उत्तर आफैँले खोज्नु र आफैँलाई दिनु किनकि कसको भरमा यहाँसम्म आई ? उसको सफलताको श्रेय उसलाई होइन, उसलाई घेरेका पुरुष, संस्था वा सम्बन्धलाई दिइन्छ । उसको क्षमताभन्दा उसको पहुँचको कथा बनाइन्छ ।

आफूभन्दा अगाडि पुग्छे कि भनेर डराउने मनोवृत्ति, आफूभन्दा उज्यालो देखिन्छे कि भनेर कथा बुन्ने प्रवृत्ति यो हिंसा होइन र ? हरेक क्षेत्रमा महिलाहरूले भोगिरहेको पीडा यही हो । राजनीति होस्, पत्रकारिता होस्, शिक्षा होस्, कला, प्रशासन वा सामाजिक क्षेत्र नै— सफल महिला आफ्नै सहकर्मी महिलाको शंकाको केन्द्र बन्छे । समर्थनको अपेक्षामा आलोचना पाइन्छ, साथको आशामा मौन दूरी भेटिन्छ ।

घरभित्रको संसार झन् जटिल छ । घरमा महिला पात्रले महिला पात्रलाई गर्ने व्यवहार त छँदैछ, आमा, बुहारी, नन्द, भाउजू, सासू, बुहारी, दिदी, बहिनी सम्बन्धअनुसार व्यवहार फरक फरक हुन्छ, तर धेरैजसो अवस्थामा त्यो व्यवहार बराबरी र सहानुभूतिभन्दा सत्ता र नियन्त्रणमा आधारित देखिन्छ । ’हामीले पनि त यस्तै भोगेका थियौँ’ भन्ने वाक्यलाई न्यायको आधार बनाइन्छ । पीडालाई परम्परा बनाइन्छ, र परम्पराको नाममा अर्को पुस्तालाई हस्तान्तरण गरिन्छ ।

यो पनि महिला हिंसाकै अर्को रूप हो, जहाँ पीडक महिला नै हुन्छे र पीडित पनि महिला नै । तर यसबारे बोल्न गाह्रो छ, किनकि यसले हाम्रो नैतिक आवरण च्यात्छ । हामी सजिलै पुरुषलाई दोष दिन सक्छौँ, तर आफ्नै र आफैँले गरेका व्यवहारमाथि प्रश्न उठाउन डराउँछौँ ।
१६ दिने अभियानका मञ्चहरूमा यी विषय कति उठे ? महिला, महिलाबीचको हिंसा, ईष्र्या, अपमान, चरित्रहत्या र मौन बहिष्कारबारे कति खुला संवाद भयो ? कि हामीले फेरि सुरक्षित विषयहरू मात्रै रोज्यौँ, जहाँ ताली बजाउन सजिलो हुन्छ ?

लैंगिक हिंसा संरचनागत समस्या हो । यसका जराहरू हाम्रो सोच, संस्कार, शक्ति सन्तुलन र सामाजिक मान्यतामा गहिरो गरि गाडिएका छन् । जबसम्म हामी हिंसालाई केवल शारीरिक चोटमा सीमित राख्छौँ, तबसम्म धेरै पीडा अदृश्य नै रहनेछन् । जबसम्म हामी महिलालाई केवल पीडितको रूपमा मात्र हेर्छौँ र कहिल्यै सम्भावित पीडकको रूपमा हेर्न सक्दैनौँ, तबसम्म समस्याका समाधान पाउँदैनौँ ।

अभियान सकिनु भनेको काम सकिनु होइन । वास्तवमा, अभियान सकिएपछि मात्रै वास्तविक प्रश्नहरू सुरु हुनुपर्छ । हामीले कसलाई सुनेनौँ ? कसको ढोकामा पुग्न सकेनौँ ? कसको कथा अझै अन्धकारमै छ ? र सबैभन्दा महत्वपूर्ण— हामी आफैँले कस्तो व्यवहार गरिरहेका छौँ ?
यदि एउटी महिलाको सफलता हामीलाई असहज लाग्छ भने त्यो असहजता कहाँबाट आयो भनेर सोध्न जरुरी छ । यदि हामीले अर्को महिलाको मौनतामा सन्तोष मान्छौँ भने त्यो मौन कसरी सिर्जना भयो भनेर बुझ्नुपर्छ । परिवर्तन अरूबाट सुरु हुन्छ भन्ने भ्रम त्यागेर, परिवर्तन आफैँबाट सुरु करना पर्ने समय यही हो ।

लैंगिक हिंसा विरुद्धको नारा, पोस्टर र भाषणमा मात्रै सीमित हुनु हुँदैन । यो हाम्रो दैनिक व्यवहार, हाम्रो बोली, हाम्रो दृष्टिकोण र हाम्रो मौनतासँग गाँसिएको विषय हो । यो अभियान १६ दिनका लागि होइन ३ सय ६५ दिनका लागि सोच्नुपर्ने कुरा हो ।

अभियान सकिएको छ तर प्रश्न बाँकी छन् । उत्तर खोज्ने जिम्मेवारी अब सबैको हो— महिला, पुरुष, अभियानकर्ता, पत्रकार, नीति निर्माता, र समाजका हरेक सदस्यको । किनकि जबसम्म हामी आफ्नै आँखाले देख्दैनौँ र आफ्नै कानले सुन्दैनौँ र मनन गर्दैनौँ, तबसम्म कलमले लेखेको सत्य अधुरो नै रहन्छ ।

तपाईको प्रतिक्रिया