तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज

पोखरा । पोखरा सडक महोत्सवको अवसरमा ‘नेपथ्य’ ब्यान्डका संस्थापक गायकहरू रबिन श्रेष्ठ र गौतम गुरुङले तीन दशकपछि पोखरामा संयुक्त ‘लाइभ ब्यान्ड’ प्रस्तुति दिने भएका छन्। ‘रेवान’ पोखराको आयोजनामा हुने महोत्सव अन्तर्गत ‘अल टेक नेपाल’ ले पुस १६ गते ‘न्यु इयर इभ’ का दिन आयोजना गर्ने ‘हिट्स अफ नाइन्टीज’ कार्यक्रममा उनीहरूले प्रस्तुति दिन लागेका हुन्। यसका लागि उनीहरू युकेबाट पुस १५ मा काठमाडौँ हुँदै पोखरा आइपुग्ने छन्। लेकसाइडको कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा उनीहरूले आफ्ना पुराना चर्चित गीतहरू सुनाउनेछन्।
ब्यान्ड छाडेपछि पहिलो पटक नेपालमा प्रस्तुति दिन लागेकाले आफू निकै उत्साहित भएको रबिन श्रेष्ठले बताए। ‘म सुपर एक्साइटेड छु, आफ्ना ओर्जिनल भोकल सुनाउन आतुर छु,’ श्रेष्ठले भने। उनले ‘छेक्यो छेक्यो’, ‘देउराली डाँडा’, ‘आँगनै भरी’, ‘नक्कली कान्छी’, ‘आँखैमा झल्झली’ र ‘गोधुली साँझ’ जस्ता गीतहरू प्रस्तुत गर्ने बताए। उनले आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई ९० को दशकमा फर्काउने र पोखरेली दर्शकको साथ पाउने विश्वास व्यक्त गरे। विदेशमा रहे पनि आफू संगीतमा निरन्तर सक्रिय रहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए।
अर्का गायक गौतम गुरुङले पनि पोखरेली दर्शकलाई मनोरञ्जन दिन आफू तयार रहेको बताए। ‘हामी पहिलो पटक पोखरेली दर्शकमाझ लाइभ ब्यान्डमार्फत आउँदै छौँ, यसले सबैलाई नोस्टाल्जिक बनाउनेछ,’ गुरुङले भने। उनले चर्चित गीतहरू ‘जोमसोमै बजारमा’, ‘गण्डकीको तिरैमा’, ‘झरीले रुझेको आकाश’ र ‘यार्लिङ कहाँ खस्यो’ लगायतका गीतहरू गाउने जानकारी दिए। आफ्नै ‘होमटाउन’ मा पहिलो पटक स्टेज चढ्न लागेकाले दर्शकको अपार माया पाउनेमा उनी ढुक्क देखिएका छन्।
पुस १६ को कार्यक्रममा उनीहरूसँगै ‘डी–मर्चा’, ‘लेकाली’, ‘देउराली’ र उज्जन शाक्यको समेत लाइभ प्रस्तुति रहनेछ। सोही दिन ‘भाइरल डान्सर’ आश्मा विश्वकर्माको विशेष नृत्य रहने आयोजकले जनाएको छ। महोत्सव अन्तर्गत पुस १५ गते तमु ल्होसारको अवसरमा दिउँसोदेखि नै सांगीतिक कार्यक्रम हुनेछन्। जसमा स्वप्न सुमन, केआर लिम्बू र चक्र ब्यान्डको प्रस्तुति रहनेछ। साथै प्रिती आले, आनन्द बज्राचार्य, सन्तोष बस्याल र लोकदोहोरी गायकहरू पुरुषोत्तम न्यौपाने, जीवन दाहाल तथा चोलेन्द्र पौडेलले पनि प्रस्तुति दिनेछन्। पुस १४ गते भने अन्तर विद्यालय खुल्ला नृत्य र ब्यान्ड प्रतियोगिताका विजेताहरूको प्रस्तुति रहनेछ।
‘हिट्स अफ नाइन्टीज’ कार्यक्रमको मुख्य प्रायोजकमा ‘प्रोटोन’ गाडी रहेको छ। त्यस्तै राइड पार्टनरमा ‘टिभीएस’ र एजुकेसन पार्टनरमा ‘गण्डकी इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी’ रहेका छन्। ‘अल टेक नेपाल’ ले आयोजना गर्न लागेको यो कार्यक्रमले पोखराको पर्यटन र संगीत क्षेत्रमा नयाँ उत्साह थप्ने विश्वास गरिएको छ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया