हिउँ चितुवाको सर्वेक्षण सुरु
१६१ ग्रिडमध्ये १११ वटामा क्यामेरा ट्रयापिङ गरी सर्वे गरिने

जोमसोम ।
दुर्लभ हिउँ चितुवाको यकिन तथ्यांक पहिल्याउन मुस्ताङमा पहिलोपटक विस्तृत सर्वेक्षण प्रारम्भ गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङले यहाँका ५ स्थानीय तहमध्ये ४ स्थानीय तहमा हिउँ चितुवाको यकिन संख्या पत्ता लगाउन शनिबारदेखि क्यामेरा ट्रयापिङमार्फत फिल्ड सर्वे सुरु गरेको हो ।
मुस्ताङमा विभिन्न समयमा हिउँ चितुवाको अध्ययनका लागि सम्भावित हिउँ चितुवाको बासस्थान र क्षेत्र पत्ता लगाएर एक्याप तथा अन्य सरोकारवाला संघसंस्थाहरूले क्यामेरा ट्रयापिङ गर्ने गरिएको थियो । यसले हिउँ चितुवाको अध्ययनका लागि सघाउने भए पनि मुस्ताङमा हिउँ चितुवाको यकिन तथ्यांक पत्ता लगाउन पर्याप्त थिएन ।
आंशिक रूपमा यसअघि गरिएका क्यामेरा ट्रयापिङले हिउँ चितुवासम्बन्धी जानकारी र सूचना उपलब्ध हुने भए पनि मुस्ताङमा कतिको संख्यामा हिउँ चितुवा छन् भन्ने यकिन हुन सकिरहेको छैन । यसका खातिर यसपालि एक्याप कार्यालयले मुस्ताङमा हिउँ चितुवाका यकिन संख्या पहिल्याउन हिउँ चितुवाको बृहत् सर्वे प्रारम्भ गरेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए ।
एक्यापले यहाँ हिउँ चितुवाको गणना सर्वेका लागि तल्लो मुस्ताङ र माथिल्लो मुस्ताङ गरी ५/५ किलोमिटरको दुरीमा १६१ वटा क्यामेरा ट्रयापिङ ग्रिडको मापदण्ड निर्धारण गरेको छ । हिउँ चितुवाको बासस्थान र हिउँ चितुवाको गतिविधि हुने स्थान यकिन गरी एक्यापले क्यामेरा ट्रयापिङ ग्रिडको डिजाइन तयार गरेको हो । तर, हिउँ चितुवाको बासस्थान क्षेत्र र हिउँ चितुवाको गतिविधि हुनसक्ने स्थानको हिमालको छेउछाउ र उच्च लेकमा सेताम्मे हिउँ र चिसोका कारण १६१ वटै ग्रिडमा क्यामेरा नराखिने एक्याप प्रमुख पौडेलको भनाइ छ ।
हिउँदयामको मौसममा उच्च लेकमा हिउँ बढी हुने भएकाले हिउँ चितुवाको आहारा प्रजाति तलतल झर्ने हुँदा हिउँ चितुवा पनि उच्च लेकबाट केही तल झर्ने भएकाले उच्च लेकमा क्यामेरा ट्रयापिङ गर्नुपर्ने आवश्यकता नरहेको एक्याप लोमान्थाङ प्रमुख पौडेलको भनाइ छ ।
मुस्ताङमा पहिलो पटक गरिन लागिएको हिउँ चितुवा सर्वेका लागि माथिल्लो मुस्ताङका दुई पालिकामा ९९ वटा क्यामेरा राखिने उनले बताए । यसैगरी केही दिनअघि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका आधा दर्जन बढी स्थानमा बायोकोस नेपाल र एक्यापले हिउँ चितुवाको अध्ययनका लागि १६ वटा क्यामेरा राखेको थियो । एक्याप लोमान्थाङ प्रमुख पौडेलले माथिल्लो मुस्ताङमा राखिने ९९ वटा क्यामेरा र तल्लो मुस्ताङमा राखिसकिएका १६ वटा क्यामेरा गरी एक सय ११ वटा क्यामेरा एकैसाथ प्रयोग गर्ने गरी मुस्ताङमा हिउँ चितुवाको यकिन संख्या निर्धारण गर्न विस्तृत सर्वे सुरु गरिएको बताए ।
हिउँ चितुवाको प्रभावकारी सर्वेक्षणका लागि एक्याप लोमान्थाङले क्यामेरा ट्रयापिङ गर्न तीन ब्लकमा जनशक्ति विभाजन गरेको छ । एक्यापका प्राविधिक र स्थानीय जनशक्तिहरूको सहयोगमा क्यामेरा ट्रयापिङका लागि करिब एक दर्जनभन्दा बढी जनशक्ति फिल्डमा खटिएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।
प्रमुख पौडेलका अनुसार माथिल्लो मुस्ताङमा हिउँ चितुवाको क्यामेरा ट्रयापिङका लागि लोमान्थाङ, थुर्लुङ फाँट र घमी क्षेत्रमा एक ब्लक एक समूह, लोघेकर दामोदरकुण्ड–५ को सुर्खाङमा एक ब्लक एक अर्को समूह बनाएर क्यामेरा ट्रयापिङमा जनशक्ति परिचालन भइरहेका छन् । यसैगरी लोघेकर दामोदरकुण्ड–२ को घमीभन्दा तल्लो क्षेत्रमा अर्को ब्लकमा थप अर्को समूह गरी तीन ब्लकमा क्यामेरा ट्रयापिङमा तीन समूह खटिएको प्रमुख पौडेलले बताए ।
यहाँ एक्यापको डिजाइनअनुसार तयार पारिएका १६१ ग्रिडमध्ये १११ वटामा क्यामेरा ट्रयापिङ गरी सर्वे गरिने छ । एक्याप प्रमुख पौडेलले तल्लो मुस्ताङमा यसअघि नै क्यामेरा ट्रयापिङ भइरहेकाले यहाँका दुई पालिकामा क्यामेरा ट्रयापिङ गर्न दुई साताभन्दा बढी समय लाग्ने बताए । हिउँदयामको चिसो मौसमका कारण सर्वेमा खटिएका कर्मचारीहरूलाई समस्या र चुनौती सिर्जना भएको उनले बताए ।
मुस्ताङमा हालसम्म दुर्लभ हिउँ चितुवाको यकिन तथ्यांक छैन । सोही प्रयोजनका लागि एक्यापले अधिकतम ६ महिनासम्म फिल्डमै क्यामेरा राख्ने जनाए पनि वैशाख महिनाभित्र हिउँ चितुवाको ट्रयापिङ क्यामेरा उठाइने जनाइएको छ । एक्यापका अनुसार यहाँ सुरु गरिएको हिउँ चितुवा सर्वेका क्रममा हिउँ चितुवाको आहारा प्रजातिको अवस्था थाहा पाउन समेत यसको अध्ययन गरिने बताइएको छ ।
यहाँ फिल्डमा राखिएका ट्रयापिङ क्यामेरा संकलन गरिएपछि आगामी आर्थिक वर्षको सुरुआती चरणमै मुस्ताङमा हिउँ चितुवाको विस्तृत यकिन संख्या पत्ता लाग्ने एक्याप प्रमुख पौडेलले उल्लेख गरे ।
पछिल्लो समय हिउँ चितुवा र मानवबीचको द्वन्द्व बढ्दै गइरहेको छ । जलवायु परिवर्तनका कारण उच्च लेकमा घाँसको अभाव हुन थालेपछि हिउँ चितुवाको आहारा प्रजाति तल झर्न थालेका छन् । सोही क्रममा आहारा प्रजाति पछ्याउँदै हिउँ चितुवाले स्थानीय पशुपालकहरूको गोठमा पसेर पशुचौपायाको क्षति बनाउने घटनाहरू दोहोरिरहेका छन् । हिउँ चितुवा र मानवबीचको सहअस्तित्व निर्माण गर्न समेत चुनौती देखिएको छ ।
पारिस्थितिक प्रणाली (इको सिस्टम) मा महत्त्वपूर्ण योगदान पुर्याउने हिउँ चितुवा संरक्षण गर्न तथा स्थानीयको पशुधनको रक्षा गर्न समेत वैकल्पिक प्रविधि र अनुकूलनका उपायहरु अवलम्बन गर्न सरोकारवालाहरुले चासो दिन आवश्यक देखिएको छ । पछिल्लो समय हिउँ चितुवाको आक्रमण बढ्दै गर्दा यहाँको पशुपालन व्यवसाय नै संकटमा पर्न थालेको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया