घरबासले थप्यो उत्साह

सुन्दरकुमार थकाली २०८२ पुष ९ गते १२:२९

जोमसोम ।
कुनै बेला कृषि र पशुपालन व्यवसायमै सीमित मुस्ताङको घरपझोङ ५ ठिनी गाउँका महिला समुदाय अचेल ठिनी थकाली होमस्टेमा पर्यटक वृद्धि हुन थालेपछि उत्साहित छन् । सधैंभरी कृषि र पशुपालन गरेर जीविकोपार्जन चलाइरहेका ठिनी गाउँका महिला पछिल्लो समय होमस्टे (घरबास) चलाएर गतिलो आम्दानी गर्न थालेका छन् ।

Advertisement


एक दशकअघि यहाँको ठिनी गाउँ गुमनाम जस्तै थियो । गाउँका केही वैदेशिक रोजगारका लागि विदेशी भाँसिएका छन् । गाउँमा केही पढेलेखेका सरकारी तथा निजी संघ, संस्थामा जागिरे छन् । गाउँमा बसेका अधिकांश नागरिक भने कृषि र पशुपालन व्यवसायमा आवद्ध छन् ।


जिल्ला सदरमुकाम जोमसोम बजार आन्तरिक तथा बाह्य पर्यटकको आगमनले गुल्जार हुँदा यहाँको ठिनी गाउँ सुनसान जस्तै हुन्थ्यो । जोमसोम बजारदेखि करिब ३ किलोमिटर पूर्व भिरालो सतहमा अवस्थित यहाँ ठिनी गाउँ पर्यटकविहीन हुन्थ्यो । राष्ट्रिय राजमार्ग सडकका होटल पर्यटकले भरिभराउ हुँदा ठिनी गाउँमा पर्यटकमैत्री पूर्वाधार बनिसकेको थिएन ।

Advertisement


यसैका कारणले पनि यहाँको ठिनी गाउँ पर्यटन प्रर्वद्धनात्मक कार्यक्रम हुन नसक्दा आझेलमा परेको थियो । ठिनीमा करिब सय घरधुरीको बसोबास छ । यहाँ थकाली समुदायकै बाहुल्य छ । भिरोलो सतहमा अवस्थित ठिनी गाउँ प्राचीन समयमा ठिनी गाउँका तीन आँखे राजा अर्थात राजा थर्कोचेनले बस्ती बसालेको भन्ने मान्यता छ ।


यही बस्तीका युवाको संगठित संस्था हो जनमुक्ति युवा क्लब । यहाँका युवालाई खेलकुद र सामाजिक क्रियाकलापमा क्रियाशील गराउने उद्देश्यले खोलिएको यस क्लबले विस्तारै पर्यटन प्रर्वद्धनमा समेत जोड दिन थाल्यो । यसैका खातिर यहाँको ठिनी गाउँको जनमुक्ति युवा क्लबको पहलमा गाउँमा कृषि पशुपालनमा सीमित महिलालाई पर्यटन विकासमा जोड्दै आयआर्जनको मार्ग पहिल्यायो ।

Advertisement


२०७३ सालमा ठिनी गाउँका महिला पर्यटन उद्यमीका रुपमा विकास गर्ने लक्ष्यसहित सुवाआती ५ घरधुरीलाई आवद्ध गराएर ठिनी थकाली सामुदायिक होमस्टे स्थापना गरियो । स्थापनासँगै क्लबकै सक्रियतामा विभिन्न सरकारी संघ, संस्थाहरुको सहयोगमा तालिम, भ्रमण र होमस्टे पूर्वाधार निर्माण थालनी गरियो । स्थापनाको दोस्रो वर्ष २०७४ सालमा यहाँको ठिनी थकाली सामुदायिक होमस्टे आधिकारिक रुपमा सरकारी निकायमा दर्ता गरियो ।


करिब एक दशकअघि पाँच घरधुरीबाट सुरु भएको यहाँका ठिनी थकाली सामुदायिक होमस्टे पछिल्लो समय १३ घरधुरी संख्या होमस्टेमा जोडिएको होमस्टे सचिव जुमा थकालीले सुनाइन् । यहाँ ठिनी थकाली सामुदायिक होमस्टेका लागि पर्यटन बोर्ड, प्रदेश सरकार, घरपझोङ गाउँपालिका, एक्याप र सामाजिक सेवा कार्यालयले लगायतले सहयोग पु¥याएको सचिव थकालीको भनाइ छ ।


गाउँमा प्राचीन कालमा ढुंगा र माटोले निर्मित सांस्कृतिक घरलाई पर्यटक आउँदा बास बसाल्न मिल्ने गरी सबै होमस्टे घरधुरीले व्यवस्थापन गरिसकेका छन् । सचिव थकाली यहाँ केहीघरधुरीले होमस्टे भन्दा बाहिर रहेर पनि होटलहरु चलाएको उल्लेख गरिन् ।


ठिनी स्थित थकाली सामुदायिक होमस्टेका महिलालाई होमस्टे चलाउन डाइनिङ हल, किचन कोठा र कार्यक्रम संञ्चालन लगायतका पूर्वाधार विभिन्न सरकारी निकायको सहयोगमा व्यवस्थापन गरिएको छ । होमस्टेमा आएका पर्यटकलाई मनोञ्जनात्मक कार्यक्रम गर्न र पर्यटक उम्क्याउन सोही पूर्वाधार निर्माण गरिएको होमस्टे सचिव थकाली बताउँछिन् ।


पर्यटकलाई आवासको व्यवस्था भने सम्बन्धित होमस्टेमा आवद्ध महिलाको घरमा लगेर गर्ने गरिएको छ । पछिल्लो समय ठिनी गाउँमा पर्यटक लक्षित स्वागत गेट निर्माण गरिएको छ भने एक्यापले होमस्टेका बिषयमा सूचनामूलक बोर्डहरु राखेको छ । ठिनी थकाली सामुदायिक होमस्टेकी सदस्य स्थानीय बत्तीमाया थकालीका अनुसार विगतका वर्षभन्दा यस आर्थिक वर्षमा पर्यटक संख्या अनपेक्षित रुपमा वृद्धि भएको छ ।


सुरुआती चरणमा होमस्टेमा पर्यटक नआउँदा सुनसान हुने गरेकोमा पछिल्ला केही वर्ष यता पर्यटकको संख्या बढ्दै गएको छ । पछिल्लो समय यहाँको होमस्टेमा मासिक २ हजारदेखि ३ हजारसम्म पर्यटक बास बस्न आउने गरेको होमस्टे सदस्य थकालीको भनाइ छ । गण्डकी प्रदेश सरकारद्वारा निर्माण गरिएको ठिनी हुँदै ढुम्बाताल जाने थाक पाँच गाउँ जोड्ने चक्रपथ सडक बनेकाले पर्यटक आगमन बढेको छ ।


‘यहाँ हामीले चलाएको होमस्टे स्थापित हुन केही वर्ष लाग्यो, पछिल्ला केही वर्षयता होमस्टेमा पाहुना आउने क्रम बढेको छ,’ होमस्टे सदस्य थकाली थपिन्, ‘ठिनी थकाली होमस्टे खोजीखोजी आउन हुन्छ, आएका पाहुना पर्यटकलाई व्यवस्थित सेवा दिएर पठाइरहेका छौं ।’


ठिनी थकाली सामुदायिक होमस्टेका महिलाहले दुई विभक्त भई आलोपालो होमस्टे सेवा प्रदान गर्ने गरेका छन् । यहाँको ठिनी थकाली सामुदायिक होमस्टेमा आएका पाहुनालाई यहाँको अर्गानिक उत्पादन पस्किने गरेको होमस्टेकी अर्की सदस्य आईतकुमारी थकालीले जानकारी दिइन् ।


थकाली सामुदायिक होमस्टेमा पाहुनालाई सुलभ मूल्यमा खाने, बस्ने लगायतकासुविधा प्रदान गरिएको छ । यहाँ उत्पादन हुने फापरको परिकारमध्ये फापरको ढिडो, फापरको रोटी, सिमीको दाल,याक र च्यांग्राको सुकुटी, लोकल कुखुराको मासु आदिको व्यवस्था गरिएको छ ।


पछिल्लो समय गाउँपालिकाको ५० प्रतिशत अनुदानमा बेकरी बनाउन उपकरणसमेत होमस्टेलाई उपलब्ध भएको छ । यसबाट होमस्टेका महिलाले फापर, मकै, जौ, उवा लगायतबाट विभिन्न बेकरी परिकार तयारी गरेर बिक्रीसमेत गर्दै आएका छन् ।

होमस्टेमा बाँस बस्न आएका पर्यटकको मनोरञ्जनका लागि ठिनी गाउँका महिला थकाली संस्कृतिक लगायतका मौलिक लोकनृत्य प्रस्तुत गरी भरपुर मनोरञ्जन प्रदान गर्ने गरेकाले पनि ठिनी गाउँको थकाली सामुदायिक होमस्टेको चर्चा चुलिएको हो ।


गाउँको प्राचिन सांस्कृतिक बस्ती, थकाली संग्रहालय, गुम्बा, स्नो लियोपार्ट,यारुझो भ्युटावरका साथ ढुम्बाताल अवलोकन गर्न जाने पर्यटकीय पदमार्ग र सडक मार्ग ठिनी गाउँकै गन्तव्य भएकाले यहाँको होमस्टेमा बर्सेनि पर्यटकको संख्या वृद्धि भइहरेको निरज थकाली बताउँछन् । विश्वकै उचाईमा अवस्थित तिलिचो ताल जाने सबैभन्दा छोटो पदमार्ग ठिनी गाउँबाटै प्रारम्भ हुने भएकाले पर्यटकको आकर्षण बढ्दो रहेको उनको भनाइ छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया