नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रदीप पौडेल महामन्त्रीमै लड्ने

समाधान संवाददाता २०८२ पुष १० गते १७:५४

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी महाधिवेशनमा पुनः महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बिहीबार धुम्बाराहीमा आयोजित पत्रकार भेटघाटमा उनले आफ्नो आगामी लक्ष्य महामन्त्री नै रहेको बताएका हुन्।

Advertisement

‘१४औं महाधिवेशनमा पनि महामन्त्रीमा चुनाव लडेको हुँ, त्यसमा विजयी हासिल गर्न सकिनँ’, पौडेलले भने, ‘महामन्त्री नै लडिसकेकाले अब त्योभन्दा तल जाने कुरा भएन। महामन्त्रीभन्दा माथि जाने परिस्थिति पनि बनिसकेको छैन। त्यसैले मेरो सोच महामन्त्रीमै आफूलाई प्रस्तुत गर्ने रहेको छ।’ उनले पार्टीभित्रका साथीहरूले पनि आफूलाई महामन्त्रीमै उठ्न सुझाव दिएको जानकारी दिए।

प्रदीप पौडेलको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो। उनी नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष समेत भएका थिए। लामो समय कृष्णप्रसाद सिटौला निकट मानिएका उनी पछिल्लो समय पार्टीभित्र आफ्नो बेग्लै पहिचान बनाउन सक्रिय छन्। गत प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेपछि उनको चर्चा राष्ट्रिय राजनीतिमा थप चुलिएको थियो।

Advertisement

यसअघि विसं २०७८ मा भएको कांग्रेसको १४औं महाधिवेशनमा पौडेलले शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहको साझा उम्मेदवारका रूपमा महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए। सो निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी हुँदा पौडेल तेस्रो स्थानमा रहँदै पराजित भएका थिए। अघिल्लो पटकको हारलाई अनुभवका रूपमा लिँदै उनले आगामी १५औं महाधिवेशनका लागि आफ्नो दाबेदारी अहिल्यै सार्वजनिक गरेका हुन्।


Advertisement

तपाईको प्रतिक्रिया