आर्थिक सुधार गर्दै मझेरी सहकारी

समाधान संवाददाता २०८२ पुष १० गते १८:४९


पोखरा ।
मझेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरामा आफ्नो १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । अघिल्लो आर्थिक वर्षमा ३ करोडभन्दा बढी नोक्सानीमा रहेको यो सहकारीले यस वर्ष आर्थिक सुधार गर्दै ७९ लाख रुपैयाँभन्दा बढी नाफा कमाउन सफल भएको छ । साधारण सभाका अवसरमा संस्थाले बिहीबार उत्कृष्ट ऋणी, बचतकर्ता, ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरेको छ । सभाले अध्यक्ष, कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।

Advertisement


अध्यक्ष महेश कार्कीले चाउथेको सेवा बन्द गरिने र आउँदो वर्ष सेयर सदस्यहरुलाई नाफा वितरण गर्ने लगायत योजना सुनाए । संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१÷८२ मा संस्थाको वित्तीय अवस्थामा सकारात्मक सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा ३ करोड २३ लाख ६ हजार रुपैयाँ जोखिम ऋणलाई सहकारीले घटाएर १ करोड २६ लाखमा झार्न सफल भएको जानकारी कोषाध्यक्ष एकेन्द्र कुँवरले प्रतिवेदनमार्फत दिएका छन् ।


संस्थाको कुल पुँजी २९ करोड ८६ लाख ४६ हजार ६ सय ३६ रुपैयाँ पुगेको छ । संस्थाले १८ करोड ६२ लाख ५० हजार ४ सय १८ रुपैयाँ बचत संकलन गरी १४ करोड ५१ लाख ९३ हजार ३ सय १३ रुपैयाँ ऋण लगानी गरेको तथ्यांक कोषाध्यक्ष कुँवरले प्रस्तुत गरे । संस्थाको सेयर पुँजी ७ करोड १५ लाख ९२ हजार ४ सय रुपैयाँ पुगेको छ । १ हजार ४ सय सदस्य पु¥याउने लक्ष्य राखिएकोमा हाल १ हजार ५ सय ४७ जना सदस्य संस्थामा आबद्ध भइसकेका छन् ।

Advertisement


संस्थाका सचिव पार्वती ढुंगानाले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न प्रतिवेदनहरु पारित गरिएका छन् । सभाले कोषाध्यक्ष एकेन्द्र कुँवर, लेखा समिति संयोजक हरि जिसी र अध्यक्ष महेश कार्कीले प्रस्तुत गरेको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन पारित गरेको छ ।


साधारण सभाको अवसर पारेर संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । सम्मानित हुने ७० वर्ष नाघेका ज्येष्ठ नागरिकहरुमा जगतकुमारी कार्की, बुद्धिमाया शर्मा, गालुदेवी थापा, जम्बरबहादुर कुँवर, बयानबहादुर कार्की र राजमाया गुरुङ छन् । संस्थाले असल ऋणी पुरुषतर्फ शालिग्राम गैरे र महिलातर्फ देवी विश्वकर्मालाई पुरस्कृत गरेको छ । त्यस्तै असल बचतकर्ता पुरुषतर्फ संस्थाका पूर्वअध्यक्ष एवं सल्लाहकार एवं बटुकृष्ण कुँवर र महिलातर्फ चन्दुमाया पौडेललाई सम्मान गरिएको छ । सहरकारीले साहित्य विधाको सेवामा योगदान गरे स्वरुप एक सेयर सदस्यलाई मझेरी सम्मानसमेत गरेको थियो ।

Advertisement


संस्थाका अध्यक्ष महेश कार्कीको अध्यक्षता र संस्थापक अध्यक्ष खडकराज (गनेस) पौडेलको प्रमुख आतिथ्यतामा साधारण सभाको उदघाटन सत्र सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि पौडेलले सहकारीले स्थापना कालदेखि नै सदस्यहरूको आर्थिक उन्नतिका लागि काम गर्दै आएको बताए । कार्यक्रमका विशेष अतिथि पोखरा महानगरपालिका वडा नं १४ की वडा सदस्य तनुजा थापाले सहकारीले समुदायमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै शुभकामना व्यक्त गरिन् ।


सभामा संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र कुँवर, पूर्व अध्यक्ष तथा सल्लाहकार बटुकृष्ण कुँवर र कानुनी सल्लाहकार खेमराज अधिकारी लगायतले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै सुझावसहितको मन्तव्य राखेका थिए । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संस्थाले योजना अघि सारेको छ । जसमा ३५ करोड रुपैयाँ कुल पुँजी, २५ करोड रुपैयाँ बचत संकलन र ७ करोड ५० लाख रुपैयाँ सेयर पुँजी पुर्‍याउने लक्ष्य लिइएको छ । आगामी वर्ष १ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गर्ने प्रस्ताव सभामा पेस गरिएको छ ।

सबै तस्बिरहरु: राजेन्द्र थापा

तपाईको प्रतिक्रिया