विद्यार्थीलाई साइबर अपराधबाट जोगाउन सचेतना अभियान

समाधान संवाददाता २०८२ पुष १० गते १८:५४

पोखरा । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्वीचोकले विद्यार्थी लक्षित साइबर अपराध सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पोखरा १० स्थित ज्योतिपुञ्ज बोर्डिङ स्कुलसँगको सहकार्यमा सो कार्यक्रम गरिएको सेवा केन्द्रकी अध्यक्ष कुमारी मुना बास्तोलाले जानकारी दिइन्।

Advertisement

कार्यक्रममा विद्यालयका कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत ११० जना विद्यार्थीको सहभागिता थियो। विद्यालयका प्राचार्य बालकृष्ण शर्माले विकृति र विसंगति अन्त्य गरी समुन्नत तथा सभ्य समाज निर्माणमा सेवा केन्द्रको भूमिका महत्वपूर्ण रहेको बताए। उनले साइबर अपराध सम्बन्धी यस्ता कार्यक्रमले शिक्षक र विद्यार्थीलाई सचेत बन्ने अवसर दिएको चर्चा गरे।

सेवा केन्द्रकी अध्यक्ष बास्तोलाले रजत जयन्ती वर्षको अवसरमा संस्थाले सिर्जनात्मक र रचनात्मक कार्यक्रम गरिरहेको जानकारी दिइन्। ‘विकृति र विसंगतिरहित समाजको निर्माण सामुदायिक सेवा केन्द्रको अभियान’ भन्ने मूल नाराका साथ सेवा केन्द्रले लागुऔषध नियन्त्रण, लैंगिक तथा घरेलु हिंसा न्यूनीकरण लगायतका कार्यक्रम गरिरहेको उनले बताइन्। उनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर र छात्रवृत्ति जस्ता कार्यक्रम समेत गरिएको उल्लेख गरिन्।

Advertisement

सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाले २१ औं शताब्दीको सूचना प्रविधिको युगमा युवा विद्यार्थी जानेर वा नजानेर साइबर अपराधको घटनामा पर्न सक्ने बताए। उनले साइबर अपराधको परिचय, प्रकृति, जोखिम, कानुनी प्रावधान र बच्ने उपायबारे सहजीकरण गरे। उनले अनलाइन तथा इन्टरनेटको माध्यमबाट बालबालिकामाथि हुन सक्ने हिंसा तथा दुर्व्यवहारका घटनाबारे समेत चर्चा गरे।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका उपाध्यक्ष उत्तम जोशी, सचिव तीर्थ शर्मा ढकाल र कार्यक्रम संयोजक शोभा पहारीले आफ्ना धारणा राखेका थिए। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सेवा केन्द्रले साइबर अपराध रोकथाम र नियन्त्रणका लागि समुदाय स्तरमा सचेतनामूलक पर्चा वितरण लगायतका कार्यक्रम गर्दै आएको छ।

Advertisement

तपाईको प्रतिक्रिया