पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा जारी १६ औं राष्ट्रपति रनिङ शिल्ड तथा ५ औं मेयर कप विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार विभिन्न खेल सम्पन्न भएका छन्। ६ वटा विधाका ४०४ पदकका लागि सामुदायिक तथा संस्थागत विद्यालयका ३ हजारभन्दा बढी विद्यार्थी प्रतिष्पर्धामा उत्रिएका छन्। गत बुधबार मेयर धनराज आचार्यले उद्घाटन गरेको यो प्रतियोगिताको समापन शुक्रबार दिउँसो ३ बजे गरिने भएको छ।
बिहीबार भएका खेल अन्तर्गत एथलेटिक्सतर्फ ८ सय मिटर छात्रामा फिस्टेलकी आराध्या चालिसेले स्वर्ण, प्रतिभाकी मेनुका अधिकारीले रजत र गण्डकीकी सादगी शर्माले कास्य पदक जितेका छन्। ज्याब्लिन थ्रो छात्रतर्फ हार्वर्डका निसान केसीले स्वर्ण, शहीद स्मृतिका विजय तामाङले रजत र जनप्रियका आलोक आचार्यले कास्य पदक हात पारे। सोही विधाको छात्रातर्फ कालिकाकी सुनिता गोलेलाई स्वर्ण, विष्णुपादुकाकी पुष्पा विकलाई रजत र शहीद स्मृतिकी सन्जु विकलाई कास्य पदक प्राप्त भएको प्राविधिक उपसमितिका सह-संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए।
४ गुणा १०० मिटर रिले दौडको छात्रातर्फ फिस्टेल एकेडेमीले स्वर्ण, कास्की मोडनाइज्ड एकेडेमीले रजत र छोरेपाटन माविले कास्य पदक पाएका छन्। छात्रतर्फ कास्की मोडनाइज्डले स्वर्ण, हार्वर्ड एकेडेमीले रजत र सैनिक आवासीयले कास्य पदक प्राप्त गरे। यस्तै लङजम्प छात्रातर्फ सगरमाथाकी अनुष्का अधिकारीले स्वर्ण, त्रिवेणी पब्लिककी एन्जल अधिकारीले रजत र लिटल फ्लावरकी सुजाता कुमालले कास्य पदक जितेका छन्। छात्रतर्फ कालिकाका अमन दुराले स्वर्ण, पोखरा युनाइटेडका कृष्ण बहादुरले रजत र अन्नपूर्ण माविका विशाल विकले कास्य पदक हात पारे।

एथलेटिक्स उपसमिति संयोजक गोप बहादुर अधिकारीका अनुसार यस विधामा ८४ विद्यालयका ६६५ छात्र-छात्रा सहभागी छन्। कुल ७८ पदकका लागि हुने प्रतिष्पर्धाका बाँकी खेल शुक्रबार हुनेछन्। यस्तै करातेतर्फका सबै खेल सम्पन्न भएका छन्। कराते उपसमिति संयोजक धन लामाका अनुसार ४१ विद्यालयका १३१ खेलाडी सहभागी यस विधामा १२ स्वर्ण, १२ रजत र २४ कास्य गरी कुल ४८ पदक वितरण गरिएको छ।
भलिबलतर्फ अब दुई वटा क्वाटर फाइनलका खेल बाँकी रहेको र शुक्रबार नै सेमिफाइनल र फाइनल खेल हुने भलिबल उपसमिति संयोजक राम बहादुर लामिछानेले बताए। भलिबलमा छात्रतर्फ ४५ र छात्रातर्फ २३ गरी ६८ टिम सहभागी छन्। खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारका अनुसार उसु, कराते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरी ६ विधामा खेल भइरहेका छन्।
प्रतियोगितामा पुरस्कारको समेत व्यवस्था गरिएको छ। भलिबल र कबड्डीमा प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १२ हजार रुपैयाँ सहित पदक र प्रमाणपत्र पाउने समितिका सदस्य सचिव सुरज अधिकारीले जानकारी दिए। एथलेटिक्स एकलतर्फ प्रथमले ४ हजार, द्वितीयले २ हजार ५ सय र तृतीयले १ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्। रिले खेलमा विजेता टिमले ६ हजार, द्वितीयले ४ हजार र तृतीयले २ हजार रुपैयाँ पाउनेछन्। यस्तै मार्चपासमा प्रथम हुनेले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वना टिमले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया