लेक लाग्न नदिने उपाय खोजी

जोमसोम ।
बेंसीबाट सिधै मुस्ताङ र माथ्लो मुस्ताङ पुग्नेहरुलाई लेक लाग्ने समस्या देखिन सक्छ । यदाकदा यो समस्याले ज्यानै पनि लिने गरेको छ । यसलाई न्यूनीकरण गर्न मुस्ताङमा विभिन्न प्रयास हुँदै आएका छन् ।
मुस्ताङमा मुख्य राष्ट्रिय राजमार्ग सडकका ५ स्थानमा हाइ अल्टिच्युडसम्बन्धी सूचनामूलक साइनबोर्ड राखेको छ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) जोमसोमले यस्तो साइनबोर्ड राखेको हो । यहाँ आएका आन्तरिक तथा बाह्य पर्यटकलाई उच्च उचाइमा आउँदा हाइ अल्टिच्युडको समस्या र चुनौती देखिन थालेपछि एक्याप प्रधान कार्यालय पोखराले सचेतनामूलक साइनबोर्डको व्यवस्था गरेको हो ।
एक्याप जोमसोमले मुक्तिनाथ दर्शन र उपल्लो मुस्ताङ भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई हाइ अल्टिच्युडको समस्याबाट समाधान रहन तथा जोखिमबाट पूर्व सजगता अपनाउन यसो गरिएको एक्याप जोमसोमका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक सञ्जोग थकालीले जानकारी दिए । एक्याप जोमसोमले बेनी जोमसोम राजमार्ग अन्तर्गत म्याग्दी र मुस्ताङको सीमानाका थासाङ २ घाँसाबाट मुक्तिनाथ र छुसाङमा बोर्ड राखेको छ ।
एक्यापले यहाँको घाँसा, मार्फा, जोमसोम, एक्लेभट्टी, मुक्तिनाथ र उपल्लो मुस्ताङ जाने पर्यटकका लागि वारागुङ ३ छुसाङमा हाइ अल्टिच्युडबारे सूचनामूलक बोर्ड राखेको जनाएको छ ।
‘यहाँका पर्यटकलाई हाइ अल्टिच्युडको समस्या चुनौतीका रुपमा देखा पर्यो । यसका कारण बर्सेनि दर्जनभन्दा बढी पर्यटकको मृत्यु हुने गरेको छ,’ वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक थकालीले थपे, ‘पर्यटकलाई हाइ अल्टिच्युडबारे सूचना नभएर मृत्यु हुने र यस प्रकारका समस्या देखिएको हो कि भन्ने हाम्रो बुझाइ हो । पर्यटकहरुको जीवन रक्षाका लागि यसपालि एक्यापले आवश्यक स्थानमा सूचनामूलक बोर्ड राखेको छ ।’
एक्याप कार्यालयले म्याग्दी र मुस्ताङको सीमानाका घाँसादेखि मुक्तिनाथ र छुसाङसम्मका स्थानमा पर्यटकलाई जानकारी दिने उद्देश्यले जमिनको उचाइ र अपनाउनपर्ने सावधानीका उपायहरु लेखिएका बोर्डहरु राखेको छ ।
एक्यापले यसपालि ५ ठाउँमा यसबारे सचेतनामूलक बोर्ड राखेको छ । अघिल्लो वर्ष लेक लागेर २८ जनाको ज्यान गएको थियो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले २०८०/०८१ मा हाइ अल्टिच्युडको समस्याका कारण १७ जना पर्यटकले ज्यान गुमाएको जनाएको छ । गएको वर्ष २०८१/०८२ मा यो समस्याका कारण मुस्ताङ आएका २८ पर्यटकको ज्यान गएको थियो । चालु आर्थिक वर्षमा पनि मुस्ताङ भ्रमणमा आएका ३ पर्यटकले हाइ अल्टिच्युडका कारण ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
हिमाली तथा पर्वतीय उचाइको क्षेत्रमा आउने पर्यटकलाई हाइ अल्टिच्युडबारे पर्याप्त जानकारी नहुँदा मुस्ताङमा लेक लाग्ने समस्या बढी देखिने गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । यहाँको उच्च उचाइमा अक्सिजनको मात्रा कम हुँदै जाने भएकाले यहाँ आएका पर्यटकमध्ये ज्येष्ठ नागरिक, अपांगता, शारीरिक रुपमा अशक्त र दीर्घ रोग भई नियमित औषधी सेवन गरेका पर्यटकलाई हाइ अल्टिच्युडको जोखिम बढी हुने गरेको पाइएको छ ।
पर्वतीय क्षेत्रको उच्च स्थानमा यात्रा गर्दा यस प्रकारको समस्या देखिन सक्ने मुक्तिनाथ होटल एसोसियसनका अध्यक्ष सुरज गुरुङले बताए । ३ हजार ८ सय मिटरको मुक्तिनाथ आउँदा वा बास बस्दा हाइ अल्टिच्युडको समस्या देखिने प्रचारबाजी भ्रमपूर्ण भएको अध्यक्ष गुरुङको दाबी छ ।
यहाँ आएका पर्यटकले सवारी चालक तथा सम्बन्धित ट्राभल एजेन्सी र होटलले सिधैं उच्च उचाईमा पुर्याउँदा यस प्रकारका समस्या देखिने गरेका छन् । पर्यटकलाई एकै पटक उच्च स्थानमा नपुर्याई ठाउँ ठाउँमा विश्राम गरी पुर्याउनुपर्ने मुक्तिनाथ होटल एसोसियसनका अध्यक्ष गुरुङले स्पष्ट पारे । पर्यटकको स्वास्थ्य अवस्था, मौसमको अवस्था र पूर्व सावधानी अपनाएर यात्रा गरेमा हाइ अल्टिच्युडको जोखिम नरहने उनले सुनाए ।
पछिल्लो समय मुक्तिनाथ विकास समिति, प्रदेश जनस्वास्थ्य कार्यालय, प्रदेश अस्पताल, प्रदेश आयुर्वेद चिकित्सालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङले हाइ अल्टिच्युडबारे सचेतनामूलक पर्चा, पम्प्लेट पर्यटकलाई वितरण गर्ने गरेका छन् । यहाँ कार्यरत सुरक्षाकर्मीले पर्यटकलाई हाइ अल्टिच्युडको जोखिम न्यूनीकरण गर्न चालकसँग ‘एक मिनेट र यात्रुसँग २ मिनेट कार्यक्रम चलाउने गरेका छन् ।









सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु
पोखरामा स्कुटरलाई ठक्कर दिएर फरार बोलेरो चालक पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया