कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी

पोखरा । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि होम बहादुर बसेल (विमल) ले पार्टी परित्याग गरेका छन्। कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि रहेका बसेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन्।
लामो समय नेपाल विद्यार्थी संघ र तरुण दलमा क्रियाशील रहेका बसेल विसं २०७८ मा भएको १४ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि चुनिएका थिए। बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको आदर्शबाट प्रेरित भएर राजनीतिमा लागेको बताउने उनले पछिल्लो समय पार्टीको बाटो फेरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। ‘वर्तमान राजनीतिक घटनाक्रम, मौलाउँदो कुशासन, भ्रष्टाचार र बेथिति देख्दा देश दलदलमा फसेको महसुस भएको छ’, उनले भनेका छन्, ‘यो देश र जनताप्रतिको गम्भीर लापरवाही र विश्वासघात हो।’
घरजग्गा व्यवसायी समेत रहेका बसेल कास्कीमा कांग्रेसका केन्द्रीय नेताहरूलाई सत्कार र आर्थिक सहयोग गर्ने व्यक्तिका रूपमा चिनिन्छन्। उनले पूर्व उपसभापति गोपालमान श्रेष्ठ र पूर्व महामन्त्री शशांक कोइराला लगायतका नेताहरूलाई बेलाबेलामा ठूलो सहयोग गर्ने गरेको चर्चा कास्कीमा चल्ने गरेको छ। केन्द्रीय नेताहरू जिल्ला आउँदा उनीहरूको खातिरदारीका लागि बसेलले मन फुकाएर खर्च गर्ने गरेको स्थानीय कार्यकर्ताहरू बताउँछन्।
पार्टी परित्याग गर्ने घोषणा गर्दै उनले वर्तमान कांग्रेसको पथ र शहीदहरूको सपना फरक भएको जिकिर गरेका छन्। समाज रूपान्तरणका लागि पहिला आफू रूपान्तरित हुन जरुरी रहेको भन्दै उनले सक्रिय राजनीतिबाट विश्राम लिने निर्णय गरेको बताएका छन्। ‘लोकतान्त्रिक पार्टी कमजोर हुँदा लोकतन्त्र पनि कमजोर बन्छ, त्यसैले कांग्रेस बलियो बनोस् भन्ने मेरो कामना छ’, उनले भनेका छन्, ‘तर अहिलेको अवस्था टुलुटुलु हेरेर बस्दा भावी पुस्ताले धिक्कार्ने भएकाले राजीनामा दिएको हुँ।’ उनले राजीनामा पत्रमार्फत पार्टीको कुनै पनि पद र जिम्मेवारीमा नरहने स्पष्ट पारेका छन्।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया