पोखरामा स्कुटरलाई ठक्कर दिएर फरार बोलेरो चालक पक्राउ

समाधान संवाददाता २०८२ पुष ११ गते १८:३९

पोखरा । पोखरा महानगरपालिका ७ मुस्ताङचोकमा स्कुटरलाई ठक्कर दिएर फरार भएको बोलेरो जिप र त्यसका चालकलाई कास्की प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति भएको उक्त दुर्घटनामा परी घाइते भएका स्कुटर चालक २० वर्षीय विवेक रानाभाटको उपचारका क्रममा मृत्यु भएको छ।

Advertisement

प्रहरीका अनुसार बिहीबार राति करिब १०:४८ बजे बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै गरेको बोलेरोले राष्ट्रबैंक चोकबाट मुस्ताङचोकतर्फ आउँदै गरेको ग९प ६१८५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। ठक्कर दिएलगत्तै बोलेरो चालक सवारी साधनसहित फरार भएका थिए।

दुर्घटनामा घाइते भएका स्कुटर चालक स्याङ्जा फेदीखोला ३ का विवेक रानाभाट र पछाडि सवार गोरखा सिरानचोक १ का २० वर्षीय प्रविन गुरुङलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा रानाभाटको शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए। घाइते गुरुङको भने सोही अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

फरार सवारी साधनको खोजी गर्ने क्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले बिहीबार बिहान ९ बजे पोखरा ७ मासबारबाट ग३च १९०३ नम्बरको सिंगल क्याब बोलेरो जिप र चालकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा चितवन इच्छाकामना ३ का २० वर्षीय देवबहादुर गुरुङ छन्। प्रहरीले उनीमाथि सवारी दुर्घटना सम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।

Advertisement

तपाईको प्रतिक्रिया