नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी

समाधान संवाददाता २०८२ पुष १२ गते १७:५७


पोखरा ।
सोनाम ल्होसारको रौनक सुरु हुन लागेको छ । यही मेसोमा ‘मिस तामाङ पोखरा–२०२६’ को तयारी पनि तीव्र पारिएको छ । प्रतियोगिताका लागि छानिएका १२ जना सुन्दरी अहिले आफूलाई निखार्न व्यस्त छन् । उनीहरूलाई बैदाम तामाङ सेवा समाजले प्रशिक्षण दिइरहेको छ । माघ ३ गते शनिबार यसको अन्तिम प्रतिस्पर्धा हुँदै छ । त्यसैका लागि अहिले प्रतियोगीहरूको व्यक्तित्व विकास र सांस्कृतिक ज्ञानमा जोड दिइएको छ ।

समाजले यो कार्यक्रमलाई केवल सुन्दरी प्रतियोगितामा सीमित राखेको छैन । तामाङ छोरी–चेलीलाई आधुनिक सीप र मौलिक संस्कार सिकाउने अभियानका रूपमा यसलाई लिइएको छ । अहिले सहभागीहरूले विभिन्न जीवनपयोगी तालिम लिइरहेका छन् । उनीहरूलाई बोल्ने कला र नेतृत्व विकास सिकाइँदै छ । साथै तामाङ भाषा, संस्कार र संस्कृतिबारे विस्तृत जानकारी दिइएको छ । समयसापेक्ष रूपमा महिला सशक्तीकरण, महिला अधिकार र साइबर सुरक्षाका विषयमा पनि उनीहरूले ज्ञान लिइरहेका छन् । आफ्नो सुरक्षा आफैँ गर्न सकियोस् भनेर सेल्फ डिफेन्सको तालिम पनि प्रदान गरिएको छ ।

प्रतियोगीलाई सक्षम बनाउन विभिन्न क्षेत्रका विज्ञहरू खटिएका छन् । नेपाल जेसिसका पूर्वअध्यक्ष राजु केसी र पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष उपेन्द्र पौडेलले प्रशिक्षण दिए । रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सञ्जय मल्ल र नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापाले पनि सञ्चार र व्यक्तित्वबारे सिकाए । कानुनी र सुरक्षाका विषयमा अधिवक्ता जुना गुरुङ, साइबर ब्युरोबाट प्रहरी वरिष्ठ नायब निरीक्षक दुर्गा योञ्जन र प्रहरी सहायक हवल्दार सुरज रिमालले कक्षा लिए ।

Advertisement


शारीरिक तन्दुरुस्ती र खेलकुदको पाटोमा पनि विशेष ध्यान दिइएको छ । फिटनेसका इन्टरनेसनल सर्टिफाइड लेभल फोर प्रशिक्षक ज्यास्मिन गुरुङ र तेक्वान्दो प्रशिक्षक रेगमी माया गुरुङले प्रशिक्षण दिएका छन् । जोन्टा क्लब पोखराका अध्यक्ष रोजिना रञ्जित बिजुक्छेले पनि सहभागीलाई सहजीकरण गरिन् । तामाङ मौलिकता बुझाउन नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष दीपक वाइबा तामाङ र भाषाविद् अजितमान तामाङ सक्रिय छन् ।


मञ्चमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि दैनिक अभ्यास भइरहेको छ । जिता लामा, रोशिला ब्लोन तामाङ र राम लामाले कोरियोग्राफीको तालिम दिइरहेका छन् । कार्यक्रमको अफिसियल फोटो, भिडियो तथा कन्टेन्ट डाइरेक्टरको भूमिका गणेश बज्र लामाले निर्वाह गरेका छन् ।

Advertisement


कार्यक्रम संयोजक रोशिला ब्लोन तामाङका अनुसार युवतीहरूको आत्मविश्वास र सोचमा निखार आएको छ । ‘हामी सौन्दर्य होइन, सजग, सक्षम र उत्तरदायी नेतृत्व तयार गर्दैछौँ,’ उनले भनिन् । तालिमको केही दिनमै सहभागीको बोल्ने शैली फेरिएको उनको अनुभव छ । समाजका अध्यक्ष ज्याक तामाङले पनि यो मञ्चलाई सांस्कृतिक विद्यालयका रूपमा अथ्र्याए । उनले भने, ‘तामाङ समुदायको भाषा र संस्कार कागजमा मात्रै होइन, अभ्यासमा पनि जोगिनुपर्छ । मिस तामाङ पोखरा त्यही अभ्यासको जीवित मञ्च हो ।’ उनले यसलाई सांस्कृतिक उत्तराधिकार हस्तान्तरण गर्ने अभियान बताए ।


सहभागीहरू पनि नयाँ कुरा सिक्न पाउँदा उत्साहित छन् । तालिमले आफूभित्रको क्षमता चिन्न सघाएको उनीहरूको भनाइ छ । ‘यो प्रतियोगिता केवल ताज जित्ने मात्र नभई आफूलाई चिन्न र सक्षम बन्ने अवसर बनेको छ,’ एक सहभागीले भनिन् । सार्वजनिक रूपमा बोल्न र आफ्नो संस्कृतिप्रति गर्व गर्न सिकेको प्रतिक्रिया उनीहरूको छ ।

Advertisement


यस पटकको उपाधिका लागि १२ जना तामाङ चेली भिड्दै छन् । रोज स्याङदेन लामा, कविना घिसिङ तामाङ, सोनी पाख्रिन तामाङ र माया दुम्जन तामाङ प्रतिस्पर्धामा छन् । त्यस्तै खुसी मोक्तान तामाङ, सुप्रिया गोले तामाङ, सलिना स्याङदेन तामाङ र सोममाया मोक्तान तामाङ पनि उपाधिको दाबेदार हुन् । एन्जेल लामा, सुमित्रा तामाङ, खुसी लामा र प्रभा तामाङले पनि ग्रान्ड फिनालेमा आफ्नो प्रस्तुति दिनेछन् ।


प्रतियोगिताको विजेताले ताजसँगै १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछिन् । फस्ट रनरअपलाई ५० हजार र सेकेन्ड रनरअपलाई ३० हजार रुपैयाँ पुरस्कार तोकिएको छ । भ्युअर्स च्वाइस विधाका विजेताले २० हजार रुपैयाँ हात पार्नेछन् । नगदबाहेक ट्रफी, प्रमाणपत्र र आकर्षक गिफ्ट ह्याम्पर पनि प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया