गुरुङ संस्कृतिका धरोहर इन्द्रबहादुरको देहावसान

पोखरा ।
गुरुङ भाषा, संस्कृति र लिपिका गहिरा अध्येता एवं साहित्यकार पैंडी इन्द्रबहादुर गुरुङको ९२ वर्षको उमेरमा निधन भएको छ । पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार राति उनको मृत्यु भएको हो ।
लमजुङको क्व्होलासोथार गाउँपालिका ९ गिलुङ निवासी गुरुङ लामो समयदेखि गुरुङ जातिको संस्कार र संस्कृतिको अनुसन्धानमा सक्रिय थिए । गुरुङ समुदायमा पुरोहितलाई ‘पैंडी’ भन्ने गरिन्छ, सोही आधारमा उनी पैंडी इन्द्रबहादुरका नामले परिचित थिए । विसं १९९१ भदौ ३१ गते जन्मिएका उनले आफ्नो जीवनको लामो समय मातृभाषा र संस्कृतिको जगेर्नामा खर्चिएका थिए ।
गुरुङ विसं २०६६ देखि २०७० सम्म नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यका रुपमा समेत कार्यरत थिए । उनले पञ्चायत कालमा लमजुङ जिल्ला पञ्चायतको २ कार्यकालसम्म उपसभापति भएर राजनीतिक जिम्मेवारी समेत सम्हालेका थिए ।
साहित्यिक र सांस्कृतिक क्षेत्रमा उनको योगदान महत्वपूर्ण छ । उनले विसं २०४९ देखि पुस्तक लेखन र प्रकाशनको यात्रा थालेका थिए । उनले गुरुङ भाषा, ज्योतिष, धर्म र संस्कारका विषयमा १ दर्जनभन्दा बढी पुस्तक लेखेका छन् । उनका प्रमुख कृतिहरुमा ‘तमु चि’ (गुरुङ ज्योतिषी), ‘बुद्ध तथा बोन्पो क्यालेन्डर’, ‘तो ताँ सोंफु’ (पहिलेका ३ वटा कुरा), ‘गुरुङ नेपाली शब्दकोष’, ‘तमु (गुरुङ) अवस्थलको परिचय’, ‘तमु राज्य व्यवस्थाको मूल आधार नालसभा’ र ‘तमु (गुरुङ) सांस्कृतिक दिग्दर्शन’ रहेका छन् ।
यसैगरी उनले ‘सेर्का क्वे’ (सेर्गा गीत) जस्ता कृति समेत रचना गरेका छन् । ३ वर्षअघि मात्र उनले ‘प्रेरणा’, ‘गुरुङ पर्यावरण गीत’ र ’शिव धर्म’ नामका ३ वटा पुस्तक एकैसाथ प्रकाशित गरेका थिए । ‘गुरुङ पर्यावरण गीत’ नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो ।
उनको सामाजिक योगदान पनि उत्तिकै प्रशंसनीय छ । उनले लमजुङका सर्वोदय माध्यमिक विद्यालय, ईशानेश्वर माध्यमिक विद्यालय र बुद्धोदय माध्यमिक विद्यालयको अध्यक्षका रुपमा शिक्षा क्षेत्रमा नेतृत्व प्रदान गरेका थिए । चिनियाँ तिब्बती ज्योतिष प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत रहेका गुरुङले ‘शुभराज्याभिषेक पदक’, ‘प्राज्ञ मातृभाषा साहित्य पुरस्कार’ सहित धेरै संघ संस्थाबाट सम्मान र अभिनन्दन पाएका थिए ।
पछिल्लो समय उनी दमको समस्याबाट पीडित थिए । स्वास्थ्यमा समस्या आएपछि बिहीबार उनलाई उपचारका लागि मनिपाल लगिएको थियो, जहाँ चिकित्सकले राति करिब ८ बजे मृत घोषणा गरे । उनका जेठा छोरा सुरेन्द्रकुमार गुरुङ बेलायतबाट फर्किएपछि शनिबार मात्र उनको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि गाउँ लैजाने तयारी परिवारले गरेको छ ।
उनका श्रीमती काशीपिरी गुरुङ, २ छोरा सुरेन्द्रकुमार र बीरेन्द्रकुमार तथा २ छोरी हेममाया घले र चन्द्रकुमारी गुरुङ छन् । गुरुङ समुदायका अगुवाहरुले उनको निधनलाई गुरुङ भाषा, संस्कार र संस्कृतिको क्षेत्रमा अपूरणीय क्षति भनेका छन् ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया