घमीमा लोभलाग्दो स्याउ खेती

सुन्दरकुमार थकाली २०८२ पुष १३ गते ११:५९

जोमसोम ।
माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका २ घमी गाउँका ४९ घरधुरीले सामूहिक स्याउ खेती गरेका छन् । गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टको पहलमा घमीमा ६ अघि स्याउ खेती थालिएको हो ।

Advertisement


कृषिमा स्थानीयको सामूहिक पहुँच स्थापित गर्दै आर्थिक समृद्धिका लागि घमी सामुदायिक स्याउ फर्म स्थापना गरिएको छ । यसअघि माथिल्लो मुस्ताङमा कताकतीमात्र स्याउ खेती गरिने गरिन्थ्यो । पछिल्लो समय जलवायु परिवर्तनका कारण यहाँको जमिनको तापमान वृद्धि हुँदै एकाले स्याउ खेती हुन थालेको हो ।


जलवायु परिवर्तनले स्याउ खेती उकालो चढ्दै जान थालेको र घमीमा भविष्यमा स्याउ खेतीको सम्भावना देखिएकाले गाउँले त्यता आकर्षित भएका हुन् । स्थानीयको करिब ८०० रोपनी जग्गामा सामूहिक स्याउ खेती गरिएको गाउँपालिका अध्यक्ष बिष्टले जानकारी दिए । जग्गा भएका र जग्गा नभएका किसानलाई समेत कृषिमा समान पहुँच स्थापित गर्ने गरी घमी सामुदायिक स्याउ फार्म स्थापना गरिएको उनको भनाइ छ ।

Advertisement

घमीको बाँझो जमिनमा लटरम्म स्याउ फल्न थालेपछि स्थानीय दंग


फार्ममा १२ हजारभन्दा बढी स्थानीय जातका स्याउ बिरुवा र ६ सयभन्दा बढी उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउका बिरुवा रोपिएको छ । जोमसोम कोरला सडक मार्ग नजिकै रहेको अहिले फार्म रहेको जग्गा ६ वर्षअघिसम्म बाँझो थियो । पर्याप्त मात्रामा खेतीयोग्य जग्गा रहेको घमीका युवा वैदेशिक रोजगारीमा जान थालेपछि त्यहाँको खेती योग्य जमिन बाँझो थियो ।

Advertisement


फार्मका स्याउ पोहोरदेखि फल्न थालेका छन् । जलवायु परिवर्तनको प्रभावलाई मध्यनजर गरी स्याउको दीर्घकालीन भविष्य देखेर स्याउ फार्मको अधिकांश जग्गामा रैथाने स्थानीय जातका स्याउ रोपण गरिएको गाउँपालिका अध्यक्ष विष्टले खुलाए । गत वर्ष फार्मको एक ब्लकमा ६ सयभन्दा बढी हाइब्रिड स्याउका विरुवा रोपिएको छ ।


यस वर्ष फार्ममा फलेका स्याउ बिक्रीबाट २ लाख रुपैयाँ आम्दानी भएको छ । ‘यहाँ स्याउका बिरुवा विकसित हुँदै छन्, भविष्यमा फार्ममा ५ सय टनभन्दा बढी स्याउ फलाउने लक्ष्य छ,’, अध्यक्ष बिष्टले थपे, ‘फार्ममा पूर्ण रुपमा स्याउले उत्पादन दिन थालेमा स्थानीयको आम्दानीको स्रोत वृद्धि हुनेछ, हामीले जग्गा हुने र नहुने दुवै वर्गलाई स्याउ खेती प्रणालीमा समेट्ने प्रयास गरेको छौं ।’


घमी गाउँमा व्यक्तिको लालपुर्जा भएको जग्गालाई समेटेर जिल्लामै पहिलो सामूहिक सामुदायिक स्याउ फार्म स्थापना गरिएको हो । यहाँको फार्ममा कसैको धेरै जग्गा, कसैकोे थोरै जग्गा छ भने कतिपयको जग्गासमेत छैन । सामुदायिक स्याउ खेती गर्दा लालपुर्जावाला घरधुरीले आफैंले स्याउ फार्मको व्यवस्थापन तथा रेखदेख गर्नुपर्दछ । तर, फार्मको भौतिक पूर्वाधार लगायतको कामकाजमा फार्ममा आवद्ध भएका तर जग्गा नभएकाले पनि श्रमदान गर्ने गरिएको छ ।


फार्ममा फलेको स्याउ बिक्री गरेवापतको आम्दानी जग्गावाला घरधुरीले ७० प्रतिशत पाउने र बाँकी ३० प्रतिशत सामूहिक रुपमा सामुदायिक स्याउ फार्मको कोषमा राखिनेछ । यसरी कोषमा संकलन भएको बचत फार्ममा आवद्ध सबै घरधुरीले समान रुपमा पाउने नियम राखिएको गाउँपालिका अध्यक्ष बिष्टले जानकारी दिए ।


पहिलो घरायसी प्रयोजनका लागि मात्रै स्याउ खेती गर्ने गरिएकोमा पछिल्लो समय घमी गाउँमा व्यवसायिक स्याउ खेती गर्न थालिएको छ । जिल्लाकै नमुनाका रुपमा स्थापित भएको घमी सामुदायिक स्याउ फार्मलाई स्थानीय सरकार, प्रदेश सरकार र जिल्ला स्थित पशु विकास कार्यालयले पनि सघाएका छन् ।


फार्मका लागि पर्खाल निर्माण, सिचाइ र स्याउ खेतीको व्यवस्थापन गर्न सरकारी निकायबाट अनुदान प्राप्त भएको छ । दशकअघि घमी गाउँका स्थानीयले हालको स्याउ फार्म रहेको जग्गामा आशिंक रुपमा उवा, जौ र फापर खेती गर्ने गरिएको र त्यहाँको अधिकांश जग्गा खेती हुन नसकी बाँझो छाडिएको थियो ।

पछिल्लो समय घमीको स्याउ फार्ममा लटरम्म स्याउ फल्न थालेपछि स्थानीय दंग परेका छन् । घमी गाउँमा यहाँको शितोष्ण वागवानी विकास केन्द्रले स्याटलाइट कृषि फार्म स्थापना गर्ने तयारी गरिएकाले यहाँका नागरिकलाई स्याउ खेतीको विकास र प्रवर्धनमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया