इन्द्रराज्यलक्ष्मीको खेलकुद

समाधान संवाददाता २०८२ पुष १३ गते १४:४३

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १६ लामाचौरमा रहेको इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको वार्षिक खेलकुद कार्यक्रम सकिएको छ । शुक्रबार विद्यालयमा आयोजित समारोहका बीच पुरस्कार वितरण गर्दै खेलकुद प्रतियोगिता समापन गरिएको हो । प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउँदै पहेलो सदन (यल्लो हाउस) ले उपाधि जित्यो । पहेलो सदन ’हाउस अफ द इयर’ घोषित भयो । उसले रनिङ सिल्ड हात पारेको छ ।

Advertisement


विद्यालयको वार्षिक खेलकुद कार्यक्रम–२०८२ गत पुस ६ गतेदेखि सुरु भएको थियो । चार दिनसम्म चलेको प्रतियोगितामा विद्यार्थीले विभिन्न खेलमा प्रतिस्पर्धा गरे । प्रतियोगितामा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थी सहभागी थिए । कार्यक्रमको सुरुमा रातो, निलो, हरियो र पहेलो सदनका विद्यार्थीले मार्चपास गरेका थिए ।


विद्यार्थीले मैदानी खेलतर्फ फुटबल, भलिबल, खो–खो, कपर्दी र डोरी तान्ने खेलमा कौशल देखाए । एथलेटिक्सतर्फ १०० मिटरदेखि १६०० मिटरसम्मको दौड, रिले दौड, भाला फाल्ने र सटपुट खेल भए । साना विद्यार्थीका लागि पनि रमाइला खेलहरु खेलाइएको थियो । उनीहरुले टेबल टेनिस, म्युजिकल चेयर, मिठाई दौड, बोरा दौड र तातो आलु खेलमा भाग लिए ।

Advertisement


समापन समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा भयो । विजयी विद्यार्थीलाई सो अवसरमा मेडल र प्रमाणपत्र बाँडियो । विव्यस अध्यक्ष थापा, शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमार क्षेत्री र प्रधानाध्यापक केशवप्रसाद अम्गाईले पुरस्कार दिए ।


यही अवसरमा नवआदर्श सामुदायिक विकास समाजले पनि विद्यार्थीलाई पुरस्कृत गर्यो । समाजले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीबीच निबन्ध लेखन प्रतियोगिता गराएको थियो । सो प्रतियोगिताका विजेतालाई कार्यक्रममा पुरस्कार दिइयो । समाजका अध्यक्ष ई. दिनेश भण्डारीले विद्यालयलाई खेलकुद र प्राविधिक सामग्री पनि सहयोग गरे । उनले १ थान ल्यापटप, २ थान भलिबल र बास्केटबल हस्तान्तरण गरे । अध्यक्ष भण्डारीले आगामी दिनमा पनि विद्यालयसँग सहकार्य गर्ने बताए ।

Advertisement


कार्यक्रममा सहायक प्रधानाध्यापक बलबहादुर श्रेष्ठले स्वागत मन्तव्य राखे । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक एवं सूचना अधिकारी सीता पौडेलले गरिन् । यसअघि खेल सप्ताहको उद्घाटन विव्यस अध्यक्ष थापा, अनुगमन समिति संयोजक चित्रबहादुर थापा, आन्तरिक खरिद समिति संयोजक निर्मल थापा र प्रधानाध्यापक अम्गाईले संयुक्त रूपमा गरेका थिए ।

समापन कार्यक्रममा विव्यस सदस्य निर्मल थापा, शैक्षिक संयोजक धनकुमार श्रेष्ठ, अतिरिक्त क्रियाकलाप संयोजक गीताकुमारी शर्मा, प्रावि इन्चार्ज सिर्जना थापा लगायत शिक्षक तथा कर्मचारी उपस्थित थिए ।

तपाईको प्रतिक्रिया