राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?

समाधान संवाददाता २०८२ पुष १४ गते ५:५०

Advertisement

काठमाडौं । निर्वाचन आयोगले आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको खर्च सीमा तोकेको छ। आयोगले उम्मेदवारले अधिकतम ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको हो।

आयोगले तोकेको मापदण्डअनुसार सबैभन्दा बढी खर्च गोष्ठी तथा अन्तरक्रियामा गर्न पाइनेछ। यस शीर्षकमा १ लाख रुपैयाँ छुट्याइएको छ। यस्तै, सवारीसाधन प्रयोगमा ७० हजार र कार्यालय सञ्चालनका लागि ७० हजार रुपैयाँ खर्च गर्न सकिनेछ।

Advertisement

प्रतिनिधि परिचालन र विविध शीर्षकमा ३०/३० हजार रुपैयाँ तोकिएको छ। प्रचारप्रसार सामग्री खरिद र छापा एवं विद्युतीय माध्यममा प्रचार गर्न १४ हजार ५ सयका दरले रकम निर्धारण गरिएको छ। यसैगरी, सवारी इन्धनमा १० हजार, ढुवानीमा १० हजार र मतदाता नामावली खरिदका लागि १ हजार रुपैयाँ खर्च गर्न पाइने आयोगले जनाएको छ।

बैंक खाता अनिवार्य
आयोगका अनुसार उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्नेछ। सोही खातामार्फत खर्च गर्नुपर्ने र त्यसका लागि जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था गरिएको छ।

Advertisement

निर्वाचन सम्पन्न भएपछि खर्चको विवरण सार्वजनिक गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार आयोगमा पेस गर्नुपर्नेछ। प्रतिनिधिसभा निर्वाचन आउन ६६ दिन बाँकी रहँदा आयोगले राष्ट्रियसभाको निर्वाचन प्रक्रिया पनि समानान्तर रूपमा अघि बढाइरहेको छ।रासस

तपाईको प्रतिक्रिया