लेकसाइडः नयाँ वर्षको गन्तव्य

पोखरा ।
‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नारासहित पोखरामा २७ औँ पोखरा सडक महोत्सव आइतबारदेखि सुरु भएको छ । सांस्कृतिक झाँकीसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले महोत्सव उद्घाटन गरे ।
महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुनेछ । उद्घाटनअघि सांस्कृतिक झाँकीसहितको बाजागाजा टोली कोमागाने पार्कमा प्रवेश गरेको थियो । कार्यक्रममा पर्यटकसँगै स्थानीय क्लब तथा आमा समूहका प्रतिनिधि तथा उल्लेखनीय संख्याका पोखरेली सहभागी भए ।
कार्यक्रममा मन्त्री घिसिङले पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएको उल्लेख गरे । यस्ता महोत्सवले पर्यटनसँगै स्थानीय उत्पादन र संस्कृतिको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । उनले पर्यटन प्रवद्र्धनका निम्ति पूर्वाधार, ऊर्जा र सेवाको निरन्तर सुधार आवश्यक रहेको औँल्याए ।
गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले प्रकृति र संस्कृतिले भरिभराउ गण्डकी प्रदेशको राजधानी पोखरामा भएको यो महोत्सवले समग्र प्रदेशकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । गण्डकीको पर्यटन क्षेत्रको विकासका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल गरे पनि विविध समस्या देखिएकाले यसको समाधानका लागि संघीय सरकारले पहल गरिदिनुपर्ने उनले बताएका थिए ।
फेवाताल किनारको झिलिमिली साढे ३ किमी सडकमा खाना, संगीत र संस्कृतिको महोत्सव
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सडक महोत्सवले पोखरा सबै सिजनका लागि हो भन्ने सन्देश दिएको बताए । यहाँका पर्यटन प्रवद्र्धनका लागि पोखरा महानगरपालिकाले यहाँका पर्यटन व्यवसायीसँग मिलेर काम गरिरहेको उनले बताउँदै आगामी दिनमा पनि सहकार्य गर्दै जाने प्रतिवद्धता जनाए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, कोरला नाका सञ्चालन, पोखरा मुग्लिनमा भएको केही समस्या लगायतका विषयमा मन्त्री घिसिङलाई ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)का अध्यक्ष संघर्ष विष्ट, रेबान पोखरा अध्यक्ष विश्वराज पौडेल, सडक महोत्सव संयोजक वसन्त गौतम, रेबान पोखराका महासचिव वीरेन्द्र गुरुङ लगायतले मेलाले पर्यटन क्षेत्रको अफसिजनमा पर्यटकीय गतिविधि चलायमान बनाउन सहयोग पुग्ने धारणा राखे ।
यो महोत्सवका लागि फेवाताल किनारको साढे ३ किलोमिटर सडकलाई झिलिमिली पारिएको छ । महोत्सवमा यसपालि सांगीतिक माहोल निकै तातिएको छ । रोचक कुरा ३ दशकपछि ‘एक्स–नेपथ्य’ का पुराना सारथिहरू रविन श्रेष्ठ र गौतम गुरुङ एउटै मञ्चमा गुञ्जिने भएका छन् ।
कोमागाने पार्कमा हुने ‘हिट्स अफ नाइन्टिज’ कार्यक्रममा उनीहरूसँगै डी–मर्चा, लेकाली, देउराली र उज्जन शाक्यले लाइभ ब्यान्डमार्फत दर्शकलाई नचाउनेछन् । काठमाडौंबाट विशेष प्रस्तुतिका लागि आस्मा विश्वकर्मा, स्वप्न सुमन, केहर एन्ड द लुंगा र चक्र ब्यान्ड आउने आयोजकले बताएको छ ।
महोत्सव संयोजक वसन्त गौतमका अनुसार सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारको स्वाद लिन पाइनेछ । सांस्कृतिक झाँकी, मौलिक भेषभूषा, र ‘रोधी’ को मौलिक प्रस्तुतिले महोत्सवलाई थप रमाइलो बनाउनेछ । खेलकुद प्रेमीका लागि ‘बोट रेस’, ‘वेटर रेस’ र ‘टग अफ वार’ जस्ता प्रतियोगिता पनि राखिएका छन् । पुस १४ गते अन्तरविद्यालय खुला नृत्य प्रतियोगिता र स्कुल ब्यान्डहरूको भिडन्तसमेत हुने गौतमले जानकारी दिए ।
महोत्सवमा मनोरञ्जन मात्र होइन, सचेतनामूलक सडक नाटक र पोखराको पर्यटनबारे ‘टक सो’ पनि चल्नेछ । पोखरा महानगरपालिकाले घोषणा गरेको ‘पोखरा भ्रमण वर्ष २०२५’ सँग हात मिलाउँदै आयोजना गरिएको यो महोत्सवले लाखौं पर्यटक भित्र्याउने र आर्थिक मन्दीलाई बिर्साउने अपेक्षा गरिएको छ । नयाँ वर्षको यो साता लेकसाइडको सडकमा रमाउन आयोजकले सबैलाई निम्तो दिएको छ ।
महोत्सव उद्घाटनअघि आयोजना गरिएको झाँकी र्यालीमा रुकुमेली एकता सम्पर्क समाज प्रथम भएको छ । किराँत याक्थुङ चुङ्लुङ द्वितीय, नेपाल मगर संघ, कदममार्ग इकाइ समिति तृतीय र पात्ले युवा सञ्जाल भजन समूहले सान्त्वना स्थान हाँसिल गरे । उनीहरुलाई मन्त्री घिसिङले पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरे ।









२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया