लेखनाथ महोत्सव आजसम्म

समाधान संवाददाता २०८२ पुष १४ गते १२:३५

लेखनाथ ।
पोखराको तालचोकमा पुस ३ गतेदेखि सुरु भएको २१ औं लेखनाथ महोत्सव आज समापन हुँदै छ । महोत्सवमा आइतबारसम्म १० करोडभन्दा बढीको कारोबार भएको र ३ लाख १० हजारले अवलोकन गरेको आयोजकले जनाएको छ ।

Advertisement


महोत्सव सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समापन गर्ने छन् । लेखनाथ महोत्सवले यस क्षेत्रको सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । महोत्सवमा मनोरञ्जनसँगै साहित्य, संस्कृति, कृषि, प्रविधि र शिक्षा क्षेत्रलाई समेट्ने विविध कार्यक्रम भएका छन् ।


महोत्सव अवधिभर साहित्यिक गोष्ठी, महिला विशेष कार्यक्रम, विद्यालयस्तरीय प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जैविक विविधता सम्बन्धी प्रदर्शनी, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि तथा शैक्षिक प्रदर्शनी, हस्तकला तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी प्रमुख आकर्षण बने । विभिन्न जातजातिका लोपोन्मुख रीतिरिवाज, चालचलन तथा सांस्कृतिक पहिचान झल्काउने उत्कृष्ट नृत्य तथा सांस्कृतिक प्रस्तुतिले दर्शकको मन जितेका छन् ।

Advertisement


महोत्सवले यस क्षेत्रको पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन सफल भएको महोत्सवकी मूल संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले बताइन् । महोत्सवले स्थानीय कला, संस्कृति र उत्पादनको प्रचार–प्रसार गर्नुका साथै पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा आर्थिक चलायमान बढाउन महत्वपूर्ण भूमिका खेलेको उनको ठम्याइ छ ।


दर्शकको उपस्थिति, कारोबार र यसको भव्यताले महोत्सव सफल भइसकेको महोत्सवका संयोजक धु्रवबाबु भट्टराईको दावी छ । कार्यक्रममा विभिन्न संघ, संस्था, कलाकार, स्वयंसेवक, प्रायोजक तथा सहयोगीलाई सम्मान गरिनेछ । महोत्सवको ११ औं दिन आइतबार २२ हजारले अवलोकन गरेको र ९० लाखको कारोबार भएको आयोजकले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया