
पोखरा, १५ पुस: गुरुङ समुदायको नयाँ वर्ष सोमबार राति १२ बजेपछि सुरु भएको छ। गुरुङहरू ‘ल्हो’ अर्थात् वर्ग फेरिनुलाई नयाँ वर्षका रूपमा मनाउँछन्। सोही अनुसार यो वर्ष ‘सप्रि ल्हो’ अर्थात् सर्प वर्गलाई बिदाइ गरी ‘त ल्हो’ अर्थात् घोडा वर्गको स्वागत गरिएको छ। गुरुङहरूको वर्ष फेरिने वा नयाँ वर्ष मनाउने दिन नेपाली क्यालेन्डर अनुसार पुस १५ गते नै पर्छ। यही दिनलाई ‘तमु ल्होसार’ का रूपमा मनाउने चलन छ। गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष वा वर्ग र ‘सार’ को अर्थ नयाँ वा फेरिनु भएकाले वर्ष फेरिने दिनलाई गुरुङ समुदायले ‘तमु ल्होसार’ भन्ने गरेका छन्।
१२ राशि जस्तै गुरुङ जातिमा १२ पशुपन्छीको नाममा १२ वटा वर्ग विभाजन गरिएको हुन्छ। यो ल्होसारबाट सर्प वर्गको बिदाइ गरी घोडा वर्गलाई स्वागत गर्न लागिएको हो। ‘त ल्हो’ को स्वागतका लागि पोखरामा केन्द्रीय कार्यालय रहेको तमु धीं नेपालले यो वर्ष भव्य महोत्सव नै आयोजना गरेको छ। पोखरा १ स्थित पुरानो टुँडिखेलमा आयोजना गरिएको ‘बिग मार्ट तमु ल्होसार महोत्सव २०८२’ को उद्घाटनसँगै नयाँ वर्षको स्वागतार्थ सोमबार बिहानैदेखि पोखराको गुरुङ समुदायमा निकै चहलपहल देखियो। मखमली र भेलभेटको चोलो, घलेक, कटनको लुंगी, कालो मखमलीको टिकिस, हरियो पटुका र मलिङको पछ्यौरीमा सजिएका युवतीहरू बाटोमा उत्साहपूर्वक हिँडिरहेका देखिन्थे।

हातमा चुरा, काँक्रे बिया औंठी, घाँटीमा हरियो पोते, जन्तर, मुगाको माला, नौगेडी एवं ठोकसाकण्ठ, शिरबन्दी, लाहुरे फूली र ढुंग्रीले गुरुङ समुदायको बेग्लै पहिचान झल्काइरहेको थियो। पुरुषहरू सेतो कछाड, मलायको पेटी, सेतो भोटो, कालो मखमलीको इस्टकोट र कालै मखमलीको टोपी लगाएर ठाँटिएका थिए। कानमा कुण्डल तथा घाँटीमा गलबन्दीले उनीहरूको मौलिकता अझ बलियो बनाएको थियो। महोत्सवस्थल पुग्ने टोली ११ बजे नदीपुर चोकमा भेला भएर ल्होसार शुभकामना र्यालीमा परिणत भएको थियो। उक्त र्याली भैरवटोल, मोहरिया टोल, विन्ध्यवासिनी, बागलुङ बसपार्क, नयाँ गल्ली हुँदै पुरानो टुँडिखेलमा पुगी ल्होसार उद्घाटन समारोहमा परिणत भयो। र्यालीमा विभिन्न झाँकी र परम्परागत नृत्य प्रस्तुत गरिएका थिए। कार्यक्रममा अन्य जातीय संघ संस्थाले पनि ऐक्यबद्धता जनाएका थिए। महोत्सवमा क्षेत्री, दुरा, मगर, तामाङका प्रतिनिधि आफ्ना आफ्ना पोसाकमा उपस्थित थिए।
महोत्सवको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गरे। प्रदेश प्रमुख भट्टले ल्होसार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिए। उनले सांस्कृतिक परम्पराको धनी मानिने नेपालका तमु जातिले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै आइरहेको बताए। भाषा, संस्कृति, भेषभूषा र संस्कार आफ्ना जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ भएको उनको भनाइ थियो। नेपालको ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न तमु समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उनले उल्लेख गरे। ल्होसार र ट्होटे जस्ता पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको र यी महत्वपूर्ण पर्वलाई जोगाउने अबको मुख्य जिम्मेवारी युवाको काँधमा रहेको उनको धारणा थियो।

तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कर्म गुरुङ, गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ र तमु धीं नेपालकी महासचिव जुनाकुमारी गुरुङले ल्होसारमा अन्य समुदायले देखाएको सद्भाव सराहनीय रहेको बताए। महोत्सव उद्घाटनअघि आयोजना गरिएको झाँकी र्याली प्रतियोगितामा चिउली पाचे तमु समाज प्रथम हुँदै ६० हजार रुपैयाँ हात पार्न सफल भयो। ताङतिङ दूधपोखरी तमु समाज द्वितीय, नेपाल मगर संघ नयाँबजार एकाइ तृतीय र तनहुँ तमु समाज चौथो हुँदै क्रमशः ४० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाए। अन्य विभिन्न समाजलाई सान्त्वना पुरस्कार स्वरूप प्रति समूह ५ हजार रुपैयाँ प्रदान गरियो।
ल्होसारका दिन यहाँका गुरुङ सम्बद्ध संघ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन्। तमु धीं नेपालले ल्होसारको स्वागतार्थ सोमबार राति १२ बजे ‘मे-थें’ अर्थात् सामूहिक पूजा गरेको छ। मुख्य दिन मंगलबार बिहान ९ बजेदेखि गुरुहरूबाट आशीर्वाद ग्रहणको कार्यक्रम छ। मेलाको आकर्षणका रूपमा भलिबल प्रतियोगिता, गुरुङ भेषभूषा तथा भाषा प्रतियोगिता, सामूहिक खुला नृत्य प्रतियोगिता र कन्सर्ट आयोजना गरिने अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए। गुरुङहरूको धार्मिक संस्था तमु प्ये ल्हु संघले पनि विविध कार्यक्रम आयोजना गरी तमु ल्होसार मनाउँदै छ। त्यहाँ छेलो, रस्साकस्सी, दोहोरी प्रतियोगिता र रक्तदान भइसकेको छ।

संघमा सोमबार राति नै ‘त ल्हो’ को स्वागतार्थ राति १२ बजे ‘बोन फायर’ गर्ने कार्यक्रम छ। ल्होसारका दिन बिहान ४ बजेदेखि नै घ्याब्रीहरूले थसो फाल्ने, पच्युहरूले छ्योपा पूजा गर्ने र बोन लमहरूबाट छ्येगुह्येगु अर्थात् ग्रह काट्ने काम गरिने तमु प्ये ल्हु संघका महासचिव हर्क योञ्ज तमुले जानकारी दिए। बौद्ध अर्घाँ सदन रामघाटले पनि ल्होसारका दिन बिहानैदेखि ग्रहशान्ति र दीप प्रज्वलनका कार्यक्रम राखेको छ। तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् कास्की र गण्डकीले पनि पोखरामा विविध कार्यक्रम गरी ल्होसार मनाइरहेका छन्। पर्यटनको केन्द्र लेकसाइडमा भइरहेको २७ औं सडक महोत्सवको स्टेजमा समेत ल्होसार विशेष कार्यक्रम गरी यो पर्वको रौनक बढाइएको छ।

धनबहादुर गुरुङ
डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया