समानुपातिकमा २२ दलको मात्रै पूर्ण उम्मेदवारी

समाधान संवाददाता २०८२ पुष १६ गते १०:४९

काठमाडौँ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ ६४ दलले बन्दसूची बुझाएका छन् । तर तीमध्ये २२ वटा दलले मात्रै ११० सिटका लागि पूर्ण उम्मेदवारी दिएका हुन् । निर्वाचन आयोगमा पुस १३ र १४ गते दलहरुले बन्दसूची पेस गरेका थिए ।

Advertisement


आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ६४ दलले सूची बुझाए पनि ५८ दलले ५८ वटा चुनाव चिह्नमा उम्मेदवारी दिएका छन् । ११० वटै सिटमा उम्मेदवारी दिनेमा नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी लगायत छन् । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र मंगोल नेसनल अर्गनाइजेसनले पनि पूरै सिटमा उम्मेदवारी दिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माले), श्रम संस्कृति पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि यो सूचीमा अटाएका छन् ।


नेपाल सद्भावना पार्टी, जनमत पार्टी, मितेरी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), नेपाली जनता दल र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ११० जनाकै नाम बुझाएका छन् ।

Advertisement

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र प्रगतिशील लोकतान्त्रिक पार्टीले पनि सबै सिटमा उम्मेदवारी दिएका छन् । केही दलले भने साझा निर्वाचन चिह्न लिएर संयुक्त रुपमा ११० जनाको सूची बुझाएका छन् । आयोगका अनुसार एउटा चुनाव चिह्नमा औसत ६० जनाको उम्मेदवारी परेको छ । कम्तीमा ११ जनाको नाम बुझाउने दलको संख्या १० छ । एकल चिह्न लिने दलको संख्या पनि १० नै छ ।


समानुपातिकमा भाग लिन ९३ दलले आवेदन दिएका थिए । तर अन्तिममा ६४ दलले मात्र बन्दसूची बुझाए । यसपालि दलहरुले २०७८ सालको जनगणना अनुसार उम्मेदवारी दिएका हुन् । सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ ल्याएर समावेशी समूहको प्रतिशत हेरफेर गरेको थियो ।

Advertisement

यही अध्यादेशअनुसार दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिमको जनसंख्या प्रतिशतका आधारमा सूची तयार पारिएको छ । यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ मा २०६८ सालको जनगणनाको तथ्यांक प्रयोग हुने व्यवस्था थियो ।


अब आयोगले पुस १५ देखि २० गतेसम्म प्राप्त बन्दसूचीको छानबिन गर्नेछ । सूचीमा त्रुटि भए वा नाम अपुग भएमा सच्याउन दलहरुलाई समय दिइनेछ । यसका लागि पुस २१ देखि २७ गतेसम्मको समय तोकिएको छ । दलले सच्याएर ल्याएको सूची आयोगले पुस २८ देखि माघ ३ गतेसम्म फेरि जाँच गर्नेछ । समानुपातिक उम्मेदवारको अन्तिम नामावली भने माघ २० गते सार्वजनिक हुनेछ ।


प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम पनि तय भइसकेको छ । माघ ६ गते उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्नेछ । सोही दिन उम्मेदवारको सूची सार्वजनिक हुनेछ । कसैको उम्मेदवारीविरुद्ध उजुरी दिनु परेमा माघ ७ गतेको समय तोकिएको छ । माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । माघ ९ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । त्यही दिन अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ ।


यसैबीच उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै आयोगले मतपत्र छपाइको तयारी थालेको छ । निर्वाचनका लागि करिब ४ करोड थान मतपत्र छाप्ने प्रक्रिया अघि बढेको हो । कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारी र कर्मचारीले मतपत्रको सम्भावित ढाँचा, आकार र ‘डिजाइन’ बारे छलफल गरेका छन् । रासस

तपाईको प्रतिक्रिया