पोखरामा हस्तकला तथा गार्मेन्ट मेला

पोखरा ।
इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखरा र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको संयुक्त आयोजनामा पोखरामा हस्तकला तथा गार्मेन्ट मार्ट (मेला) भएको छ । २ दिने उक्त मेला गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले स्वदेशी उत्पादनको प्रवर्द्धन र बजारीकरणमा मेलाले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
‘यस्ता मेला–महोत्सवले स्थानीय कला, सीप र प्रविधिको जर्गेनाका साथै आयआर्जन र उद्यमशीलता विकासमा टेवा पुग्छ’, उनले भने, ‘गण्डकी प्रदेश सरकारले पनि स्थानीय कच्चा पदार्थमा आधारित उद्यम विकासका लागि लगानी गर्दै आएको छ । पाँच जिल्लामा स्वदेशी उत्पादनको कोसेली घर बनाउने योजना अगाडि बढाइएको छ ।’
लगानी र प्रविधिको अभावमा रैथाने ज्ञान र सीप विस्थापित हुँदै गएको भन्दै मन्त्री बस्यालले ग्रामीण अर्थतन्त्र उकास्न स्थानीय उत्पादनमा जोड दिनुपर्ने उल्लेख गरे । नेपाल पर्यटन बोर्ड, प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले मेलाबाट आर्थिकसँगै पोखराको पर्यटकीय गतिविधिमा टेवा पुग्ने बताए । हस्तकलामार्फत बनाइएका वस्तु तथा हातेतानमार्फत बुनिएका कपडासँगै उक्त क्षेत्रमा क्रियाशील व्यवसायीलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ मेला आयोजना गरिएको उनको भनाइ छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन स्थानीय उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिए । पोखरा भ्रमण वर्ष–२०२५ का संयोजक गोपीबहादुर भट्टराईले हस्तकला तथा गार्मेन्ट मार्टलाई निरन्तरतासहित विस्तार गर्नुपर्ने धारणा राखे ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरामा हुने मेला–महोत्सवले पर्यटन क्षेत्र चलायमान हुने गरेको बताए । उनले अङ्ग्रेजी नयाँ वर्षको सम्मुखमा भइरहेका विभिन्न पर्यटकीय गतिविधिले पोखरा होटल तथा रेष्टुराँ पाहुनाले भरिभराउ भएको सुनाए ।
पोखरा महानगरपालिका, व्यवसाय प्रवर्धन केन्द्रका प्रमुख नवराज अधिकारीले नेपाली उत्पादनलाई विश्व बजारसम्म पुर्याउनुपर्ने बताए । स्वदेशी उत्पादनको प्रवर्धन र बजारीकरणका लागि सरकारले लगानी बढाउनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिका महासचिव जमुना शर्मा ‘वर्षा’, मेलाका संयोजक सुरेन्द्र पौडेल लगायतले धारणा राखेका थिए । ‘एगा’ पोखराका अध्यक्ष गोकर्ण लम्सालले स्थानीय उत्पादन राष्ट्रिय एवं अन्तरराष्ट्रियस्तरमा बजारीकरणमा मेलाले योगदान पुग्ने विश्वास लिइएको बताए ।
मेलामा गण्डकी प्रदेशका कास्की, स्याङ्जा, पर्वत, लमजुङ, म्याग्दी, नवलपुर र रुकुम पूर्वलगायत जिल्लाका उद्यमीले तयार गरेका हेम्स, अल्लो, ऊन लगायतबाट बनेका सामग्री प्रदर्शनी तथा बिक्रीमा राखिएका छन् ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया