राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय

समाधान संवाददाता २०८२ पुष १६ गते १४:५७

पोखरा– आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पोखरामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । प्रदेश निर्वाचन कार्यालय पोखराको परिसरमा बिहीबार प्रदेश स्तरीय निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

Advertisement

कास्कीका जिल्ला न्यायाधीश एवं नियुक्त निर्वाचन अधिकृत हिमलाल बेलबासेले सो कार्यालयको उद्घाटन गरे । कार्यालय उद्घाटन गर्दै उनले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षसँग सहयोगको अपिल गरे । बेलबासेले भने, ‘तोकिएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भय रहित वातावरणमा सम्पन्न गर्न म प्रतिबद्ध छु ।’

कार्यक्रममा निर्वाचन कार्यालयका प्रमुख नारायण ढकालले निर्वाचनको तयारी र कार्यतालिकाबारे स्पष्ट पारे । उनका अनुसार पुस १९ गते मतदाता नामावली सार्वजनिक गरिनेछ भने पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

Advertisement

६ वर्षअघि निर्वाचित भएका नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एमालेकी नेतृ भगवती न्यौपानेको कार्यकाल सकिएपछि रिक्त हुने पदका लागि यो निर्वाचन हुन लागेको हो । गण्डकी प्रदेशबाट अन्य क्लस्टर र महिला खुला क्लस्टरमा प्रतिनिधित्व हुने गरी निर्वाचन हुनेछ ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने कानुनी व्यवस्था छ । गण्डकी प्रदेशमा दलगत अवस्था हेर्दा नेपाली कांग्रेसका २७ प्रदेश सांसद र ६७ स्थानीय तहका प्रमुख तथा उपप्रमुख छन् । नेकपा एमालेका २२ प्रदेश सांसद र ७० स्थानीय जनप्रतिनिधि छन् । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका ७ प्रदेश सांसद र ३० स्थानीय जनप्रतिनिधि रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका २ प्रदेश सांसद, नेसपाका १ प्रदेश सांसद र राष्ट्रिय जनमोर्चाका ३ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुखले यस निर्वाचनमा मतदान गर्नेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया