पोखरा महोत्सव पुस २९ गतेदेखि हुने

समाधान संवाददाता २०८२ पुष १६ गते १७:२९

पोखरा ।
युनाईटेड क्लवको आयोजनामा १४ औँ संस्करणको पोखरा महोत्सव हुने भएको छ । ‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ हुन लागेको महोत्सव पुस २९ गतेदेखि माघ ११ गतेसम्म चल्नेछ ।

Advertisement


शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन गरि देशको आर्थिक समृद्धिमा सहयोग पुर्‍याई रोजगारी सिर्जना गर्ने उद्धेश्यलले महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक दिनेश सुनारले बताए । महोत्सवमा २ लाख २० हजारदर्शक आउने अनुमान गरिएको उनको भनाइ छ ।


‘महोत्सवमा विभिन्न जाती, जनजाती कला संस्कृतीको प्रदर्शनी एवं जानकारी दिइनेछ । हस्तकला सामानहरुको प्रदर्शनी तथा विक्री गरिने, पर्यटन प्रवद्र्धनका सामाग्रीको प्रदर्शन तथा जानकारी दिइनेछ,’ उनले भने ।

Advertisement


महोत्सवमा २ सय ५० स्टल रहनेछन् । महोत्सवमा फरक क्षमता भएका, ज्येष्ठ नागरिक, एकल महिला, विदेशी पर्यटक, ५ वर्ष मुनिका बालवालिकाहरुले निःशुल्क प्रवेश पाउनेछन् ।


कार्यक्रममा रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, शान्तारानी परिवार, अस्मिता अधिकारी लगायतको प्रस्तुति रहनेछ । कन्सर्टतर्फ पूर्ण राई, डि मर्चा, लेकाली, जेम्सी, सविन राई, भिटेन, लाहुरे, टुकी लगायतले प्रस्तुति राख्नेछन् ।

Advertisement


क्लबले पोखरा २७ अर्चललेमा युनाईटेड छात्राबास निर्माण गर्न लागेको क्लबका पूर्वअध्यक्ष राजु श्रेष्ठले बताए । महोत्सवबाट हुने आम्दानीले भवन निर्माण गरिने उनको भनाइ छ ।


अमरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइरालाले विद्यालयको गतिविधिमा असर नपुग्ने गरि कार्यक्रम आयोजना गरिएको जानकारी दिए । क्लबले विद्यालयलाई विभिन्न सहयोग गरेको बताउँदै विद्यालयको जग्गा संरक्षणमा पनि सहयोग गरेको कोइरालाले बताए ।


पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले उद्देश्यकेन्द्रित कार्यक्रम आयोजना गर्न आग्रह गर्दै कार्यक्रमको उद्देश्य पुरा भए नभएकोप्रति आयोजकले आत्ममुल्यांकन गर्न आवश्यक रहेको बताए । उनका अनुसार कार्यक्रमले व्यवसायलाई साँच्चै चलायमान बनाएको छ कि छैन, स्थानीय कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनमा कति योगदान पुगेको छ भन्ने जस्ता पक्षमा आयोजकले गहिरो ध्यान दिन जरुरी छ ।

तपाईको प्रतिक्रिया