अवैध सामानसहितको बस नियन्त्रणमा

समाधान संवाददाता २०८२ पुष १६ गते १८:५९

स्याङ्जा । स्याङ्जा प्रहरीले सिद्धार्थ राजमार्गमा चेकजाँचका क्रममा अवैध रूपमा ओसारपसार गरिएका खाद्य सामग्री बरामद गरेको छ । यस्तै, विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

गल्याङ नगरपालिका वडाध्यक्ष र स्थानीयको सहयोगमा प्रहरीले पुस १५ गते बिहान साढे ५ बजे राम्दीस्थित राजमार्गमा चेकजाँच गरेको थियो । सो क्रममा बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ९५६३ नम्बरको यात्रुवाहक बसबाट बिना बिलका ७७ हजार ७ सय ६० रुपैयाँ बराबरका सामान फेला परेका हुन् ।

प्रहरीका अनुसार १५ कार्टुन निलो रेडबुल, ९६ प्याकेट स्निकर्स चकलेट र २४ प्याकेट किन्डर जोय चकलेट बरामद गरिएको छ । बरामद रेडबुलको मूल्य ५७ हजार ६ सय, स्निकर्सको ११ हजार ५ सय २० र किन्डर जोयको ८ हजार ६ सय ४० रुपैयाँ रहेको छ । ती सामानलाई आवश्यक कारबाहीका लागि पुस १६ गते रुपन्देहीको बेलहियास्थित भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

यसैबीच, जिल्ला प्रहरी कार्यालय स्याङ्जाको विशेष टोलीले अदालतबाट कैद र जरिवानाको फैसला भएर पनि फरार रहेका दुई जनालाई पुस १६ गते पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका वडा नम्बर १ बस्ने ३६ वर्षीय शंकर अधिकारी र वडा नम्बर १० बस्ने तमबहादुर गुरुङ छन् ।

अधिकारीमाथि जबरजस्ती चोरी मुद्दामा ३ हजार २ सय ३७ रुपैयाँ ५० पैसा र सार्वजनिक अपराध मुद्दामा २ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो । यस्तै, गुरुङलाई नकबजनी र जबरजस्ती चोरी मुद्दामा १ महिना १५ दिन कैदको फैसला भएको थियो । पक्राउ परेका दुवैलाई कैद तथा जरिवाना भुक्तानका लागि स्याङ्जा जिल्ला अदालतमा बुझाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया