नारायणकाजी र भगवतीको संसद यात्राः अघिल्लो चुनावमा चोट, अहिले मलम

समाधान संवाददाता २०७६ माघ १० गते १२:१७

समाधान संवाददाता
पोखरा

२०७४ सालमा संसद छिर्न नपाएका नारायणकाजी श्रेष्ठले २ वर्षपछि राष्ट्रियसभाको यात्रा तय गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन नयाँ शक्ति पार्टी संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँग पराजित भएपछि उनको संसद छिर्ने धोको पूरा भएको थिएन । बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट नेकपा उम्मेदवार श्रेष्ठ विजयी भएका छन् ।

प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएपछि श्रेष्ठले पार्टी एकतामा भूमिका खेले । नेकपाले श्रेष्ठलाई पार्टी प्रवक्ताको जिम्मेवारी नै दियो । गोलाप्रथामार्फत २ वर्ष कार्यकाल पाएका राष्ट्रिय सभा सदस्यको अवधि सकिन लागेपछि फेरि निर्वाचन हुने भयो । गण्डकी प्रदेशमा अन्य समूहबाट नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे र महिला सदस्य विन्दादेवी रानाको कार्यकाल सकिँदै थियो ।

Advertisement

संसदको भूमिका नपाएका श्रेष्ठलाई नेकपाले उम्मेदवार बनाउने निर्णय ग¥यो । गण्डकी प्रदेशमा नेकपाको एकल बहुमत छ । जित सुनिश्चित भएकै कारण पनि पार्टी प्रवक्तासमेत रहेका श्रेष्ठलाई नेकपाले उम्मेदवार बनाएको हो ।

प्रतिनिधि सभा निर्वाचनमा ७ हजार मतान्तरले पराजित श्रेष्ठ बिहीबार भएको राष्ट्रिय सभाको निर्वाचनमा १ हजार २ सय १८ मतभारले विजयी बने । ३ हजार ४ सय ६२ मतभार पाएर श्रेष्ठ विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीले २ हजार २ सय ४४ मत ल्याए । राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले १ ९८ मतभार पाए ।

Advertisement

८५ वटा स्थानीय तह रहेको गण्डकी प्रदेशमा २ जना अनुपस्थित रहे । ल्होघेकर गाउँपालिका अध्यक्ष राजु विष्ट र सिरानचोक गाउँपालिका उपाध्यक्ष रीता देवकोटा देशबाहिर रहेका कारण अनुपस्थित भएका हुन् । ६० सदस्यीय प्रदेश सभामा सबैले मत हालेका छन् । प्रदेश सभा सदस्यको ४८ र स्थानीय तह प्रमुख उपप्रमुखको १८ मतभार हुन्छ ।

गण्डकी प्रदेश सभामा ४० नेकपा सदस्य छन् । नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र समाजवादी पार्टीका २ सदस्य छन् ।

मेयर हारेर राष्ट्रिय सभा
महिला सदस्यका रुपमा चुनाव जितेर राष्ट्रिय सभाको यात्रा तय गरेकी भगवती न्यौपाने स्थानीय तहको निर्वाचनमा मेयर उम्मेदवार थिइन् । तनहुँको भानु नगरपालिकामा तत्कालीन एमालेबाट मेयर पदकी उम्मेदवार न्यौपानेले अहिले राष्ट्रिय सभा पुग्ने अवसर प्राप्त गरेकी छन् ।

पार्टी केन्द्रीय सचिवालयबाट अकस्मात नाम सार्वजनिक हुँदा आफैं आश्चर्यमा परेकी न्यौपाने २ पटक समानुपातिक सूचीमा नाम रहेर पनि सांसद बनिनन् । तनहुँमा प्रभावशाली नेतृको परिचय बनाएकी न्यौपानेले विद्यार्थी आन्दोलनदेखि पार्टीका विभिन्न पद र मोर्चामा रहेर काम गरेकी छन् । तिनै न्यौपाने गण्डकी प्रदेशबाट महिला सदस्यमा राष्ट्रिय सभामा निर्वाचित हुन सफल भइन् ।

उनले नेपाली कांग्रेसकी विमला गौचनलाई १ हजार २० मतभारले पराजित गरिन् । न्यौपानेले ३ हजार ३ सय ६६ र गौचनले २ हजार ३ सय ४० मतभार पाए । महिला सदस्यको मतदानमा ३ भोट बदर भएको छ ।

जे बनाउँछ, पार्टीले बनाउँछः श्रेष्ठ
नेकपा प्रवक्तासमेत रहेका श्रेष्ठलाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने निर्णयसँगै विभिन्न चर्चा र अड्कलबाजी हुँदै आएको छ । नारायणकाजीलाई महत्वपूर्ण मन्त्रालय दिने गरी उम्मेदवार बनाइएको नेकपाकै नेताहरुले बताउँदै आएका छन् । तर, राष्ट्रिय सभामा निर्वाचित भएपछि श्रेष्ठले मन्त्री बन्ने आफ्नो व्यक्तिगत सोच नरहेको प्रतिक्रिया दिए ।

पार्टीको जिम्मेवारी पूरा गर्दै आएको र पार्टीले नै उम्मेदवार बनाएर जिताएकाले अब भोलिको जिम्मेवारी पनि पार्टीकै हातमा रहेको उनको भनाइ छ । श्रेष्ठले समृद्ध नेपाल निर्माण र पार्टी तथा सरकारलाई अझ बढी प्रभावकारी बनाउन आफ्नो भूमिका रहने बताए ।

नेतृत्वको हिसावले हिजो जिम्मेवारी निर्वाह गर्दै आएको अवस्थामा आज राष्ट्रियसभा सदस्य भएपछि कसरी भूमिका निर्वाह गर्ने भनेर पार्टीले नै निर्णय गर्ने र आफू पनि त्यही अनुसार लाग्ने उनको भनाइ थियो । ‘राष्ट्रियसभा सदस्य चुनाव अगाडि नै मन्त्री बन्नेबारे सोच्ने कुरा भएन । दोस्रो, मैले व्यक्तिगत रुपमा मैले केही सोच्दा पनि सोचेको छैन,’ उनले भने ।

विजय ¥यालीपछि बिहीबार नै पोखरा सहिद चोकमा भएको सभामा श्रेष्ठले पार्टी एकतालाई सुदृढ गर्न र सरकारलाई सफल बनाउन आफ्नो विजयले मद्दत पुर्‍याउने बताए । राष्ट्रिय सभाकी महिला सदस्य भगवती न्यौपानेले पनि पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै परिवर्तका पक्षमा लड्ने प्रतिवद्धता गरिन् ।

तपाईको प्रतिक्रिया