पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने

समाधान संवाददाता २०८२ पुष १८ गते ५:२७

पोखरा  । पोखरामा आज शुक्रबारदेखि ४ दिनसम्म दैनिक ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले कुँडहर सबस्टेसनको मर्मत सम्भार तथा स्तरोन्नति गर्नुपर्ने भएकाले आगामी २१ पुससम्म बिहान ६ देखि ११ बजेसम्म लाइन काटिने भएको हो।

Advertisement

पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवका अनुसार कुँडहर सबस्टेसनको १३२ केभी ‘बसबार’ स्तरोन्नतिको काम सुरु भएको छ। यसका लागि प्राधिकरणले ठेक्का आह्वान गरेर काम अघि बढाएको हो। मर्मतका क्रममा कुँडहर ग्रिडबाट आपूर्ति हुने सबै फिडर ‘सटडाउन’ गरिनेछ।

यसले गर्दा पोखरा प्रवेशद्वार विजयपुरदेखि हरिचोकसम्मको अधिकांश क्षेत्र प्रभावित हुने केन्द्रले जनाएको छ। तोकिएको समयभन्दा अगाडि काम सकिएमा लाइन चाँडै सुचारु हुने बताइएको छ। मर्मत सकिएपछि विद्युत् आपूर्ति नियमित हुनेछ।

Advertisement

पोखरालाई ताररहित बनाउन आग्रह
यस्तै, पोखरा महानगरपालिकाले बजार क्षेत्रलाई ताररहित (वायरलेस) बनाउन इन्टरनेट सेवा प्रदायकलाई आग्रह गरेको छ। प्राधिकरणले पोखराको २३ किलोमिटर क्षेत्रमा बिजुलीको तार भूमिगत गर्ने काम गरिरहेकाले टेलिफोन र इन्टरनेटको तार पनि सोही प्रणालीमा लैजान महानगरले छलफल थालेको हो।

महानगरले पोलमा लत्रिएका र अव्यवस्थित तार तत्काल हटाउन निर्देशन दिएको छ। नगरप्रमुख धनराज आचार्यले सेवा प्रदायकलाई यथाशक्य छिटो प्राधिकरणसँग समन्वय गरी काम गर्न आग्रह गरे। ‘पोखरा बजार क्षेत्रलाई ताररहित बनाउने योजनामा सहयोगका लागि इन्टरनेट सेवा प्रदायकसँग आग्रह गरेका छौँ,’ प्रमुख आचार्यले भने, ‘यस कार्यका लागि आवश्यक सहयोग गर्न महानगरपालिका तयार छ।’

Advertisement

उनले एक महिनाभित्र तार व्यवस्थापन गर्न र अटेर गरे महानगर आफैँले हटाउने चेतावनी समेत दिएका छन्। तार व्यवस्थापनका लागि एक प्राविधिक समिति गठन गरेर काम अघि बढाइएको उनले बताए।

प्राधिकरणले ‘विद्युत् प्रणाली सुदृढीकरण परियोजना’ अन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक, सिर्जनाचोक, रत्नचोक, राष्ट्र बैंकचोक, सहिदचोक, लेकसाइड, हल्लनचोक, बुलौदी हुँदै जिरो किलोमिटरसम्मको क्षेत्रमा तार भूमिगत गरिरहेको छ। आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार हालसम्म ६० प्रतिशत काम सकिएको छ। यो परियोजना आगामी जुलाईभित्र सम्पन्न गर्ने लक्ष्य छ।

सडकमा कम क्षति हुने गरी ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिमार्फत जमिनमुनि तार बिछ्याउने काम भइरहेको छ। तार भूमिगत गरेपछि ठाउँ–ठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकको घरमा बिजुली पुर्याइने सुवेदीले बताए। यसबाट पोखराको सहरी सौन्दर्य बढ्ने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया