सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज

पोखरा । प्रजातान्त्रिक विचार समाज कास्कीले ४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा विचार गोष्ठी सम्पन्न गरेको छ। बुधबार पोखरामा आयोजित कार्यक्रममा वक्ताहरूले बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति वर्तमान सन्दर्भमा झनै सान्दर्भिक भएको निष्कर्ष निकालेका छन्।
कार्यक्रममा समाजका सचिव डा. विष्णुप्रसाद शर्माले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस र वर्तमानमा यसको सान्दर्भिकता’ विषयक कार्यपत्र प्रस्तुत गरे। उनले २०३३ पुस १६ गते बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्यलगायतका नेताहरू राष्ट्रियतामाथिको खतरा देखेपछि ज्यानको बाजी लगाएर स्वदेश फर्किएको ऐतिहासिक सन्दर्भ चर्चा गरे।
शर्माले सुशासन कायम गर्न, भ्रष्टाचार न्यूनीकरण गर्न र सामाजिक सद्भाव जोगाउन बीपीको नीति अपरिहार्य रहेको बताए। ‘नागरिक, दल र सरकारबीच देखिएको अविश्वासको दूरी घटाउन तथा दीर्घकालीन राष्ट्रिय नीति निर्माणका लागि मेलमिलापको नीति आवश्यक छ,’ शर्माले भने।
कार्यपत्रमाथि टिप्पणी गर्दै समाजका केन्द्रीय सदस्य डा. कमलराज सापकोटाले राष्ट्रियताको सवाल र दलहरूबीचको ध्रुवीकरण अन्त्य गर्न मेलमिलाप नीतिले मार्गनिर्देश गर्ने बताए। उनले राष्ट्रिय एकता दलगत स्वार्थका लागि नभई राष्ट्रको बृहत्तर हितका लागि हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विचार समाजजस्तो बौद्धिक संगठनले पार्टीलाई निरन्तर खबरदारी र मार्गनिर्देश गर्नुपर्ने बताए। नेतृत्वप्रति नागरिकको विश्वास बढाउन संवेदनशीलता आवश्यक रहेको उनको भनाइ छ।
समाजका केन्द्रीय महासचिव डा. वासुदेव भण्डारीले आर्थिक विकासविना लोकतन्त्र सुदृढ हुन नसक्ने बीपीको मान्यतालाई आत्मसात गर्नुपर्ने बताए। उनले राज्य र बौद्धिक वर्गबीच समन्वय अभाव हुँदा समस्या आएको भन्दै वार्ता र संवादमा जोड दिए।
कार्यक्रममा डा. वीरबहादुर कार्की, धर्मप्रसाद अधिकारी, सूर्यभक्त सिग्देल, बाबुराम आचार्य, राम शर्मा पौडेल, डा. भानुभक्त आचार्य, डा. लक्ष्मीशरण अधिकारी, सुरज पौडेल, वसन्त चालिसे लगायतले राजनीतिमा निष्ठा र नैतिकता खस्किएको भन्दै चिन्ता व्यक्त गरे। उनीहरूले व्यक्ति र दलभन्दा माथि राष्ट्रको हितलाई राख्नुपर्ने धारणा राखे।
संस्थाकी अध्यक्ष शिशुकला पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा करिब ८० जनाको सहभागिता थियो। कार्यक्रमको सञ्चालन सहसचिव हिममाया पौडेल र स्वागत कोषाध्यक्ष पदमबन्धु पोखरेलले गरेका थिए।









तथ्यांक दिवस मनाइयो
समानुपातिकमा गण्डकी उपेक्षित
ङयोए तमु धिमा १ करोडको सभाहल
कसले मार्ला बाजी ?
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया