पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो

पोखरा । पोखरा उपत्यकाका ताल–सिमसार क्षेत्रमा चराको सङ्ख्या बढ्दा प्रजाति विविधता घटेको पाइएको छ ।
टाइगर माउन्टेन पोखरा लज र पोखरा पन्छी समाजका तर्फबाट संयुक्त रुपमा गरिएको जलपन्छी गणनाको आज सार्वजनिक गरिएको नतिजाले सन् २०२५ को तथ्याङ्कसँग तुलना गर्दा यस वर्ष कूल चराको जनसङ्ख्या १० दशमलव दुई प्रतिशतले वृद्धि भए पनि चराको प्रजाति विविधता १३ दशमलव दुई प्रतिशतले घटेको पाइएको छ ।
एसियाली जलपन्छी गणना पोखराका क्षेत्रीय संयोजकद्वय झलक चौधरी र मनशान्त घिमिरले विज्ञप्तिमार्फत पोखरा उपत्यकाका ताल तथा सिमसार क्षेत्रमा सन् २०२६ को जनवरी ९ मा सम्पन्न गणनाबाट नतिजा सार्वजनिक गरेका हुन्। क्षेत्रगत रुपमा यहाँको रुपमा तालमा प्रजाति सङ्ख्या र चराको जनसङ्ख्या दुवैमा वृद्धि भएको पोखरा पन्छी समाजका अध्यक्ष घिमिरेले जानकारी दिए ।
मैदी तालमा पनि प्रजाति सङ्ख्या बढ्नुका साथै चराको सङ्ख्या वृद्धि भएको पाइएको जनाउँदै उनले ती क्षेत्रहरूमा आवास अवस्था अपेक्षाकृत अनुकूल रहेको सङ्केत गरेको बताए । उनका अनुसार दिपाङ, गुन्दे र खास्टेजस्ता क्षेत्रमा चराको प्रजाति तथा जनसङ्ख्यामा उल्लेखनीय गिरावट देखिएको छ । विशेषगरी दिपाङ तालमा चराको जनसङ्ख्या करिब ५९ प्रतिशतले घट्नु संरक्षण दृष्टिले चिन्ताजनक मानिएको छ ।
फेवा ताल अझै पनि सबैभन्दा धेरै चराको बासस्थान बनेको भए पनि यहाँ प्रजाति विविधता घट्दै गएको तथ्याङ्कले दीर्घकालीन संरक्षण, जलाशय व्यवस्थापन र मानवीय गतिविधि नियन्त्रणमा थप ध्यान दिनुपर्ने देखिएको उनले बताए ।
प्रजाति विविधता घट्दै जानु र कूल चराको सङ्ख्या बढ्नुले केही सीमित प्रजाति ठूलो सङ्ख्यामा केन्द्रित भइरहेको अवस्था देखाउने जनाउँदै उनले यसका कारणमा आवासको एकरूपता, जलाशयको अवस्था, मानवीय दबाब तथा मौसमी प्रभाव प्रमुख कारक रहेको बताए ।
अध्ययनले दिपाङ, गुन्दे र खास्टे ताल क्षेत्रमा आवास सुधार, नियमित अनुगमन र संरक्षणमुखी कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै घिमिरेले रूपा तालमा अपनाइएका संरक्षण अभ्यासलाई अन्य ताल–सिमसार क्षेत्रमा पनि विस्तार गर्न सकिने बताए ।
पोखरा उपत्यकाका ताल तथा सिमसार क्षेत्र जैविक विविधता र प्रकृति–आधारित पर्यटनका लागि महत्वपूर्ण भएकाले स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायबीच सहकार्य गर्दै दीर्घकालीन संरक्षण रणनीति अपनाउनुपर्ने आवश्यकता रहेको अध्ययनले देखाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया