राजनीतिक सन्देशसहितको ‘बल्क एसएमएस’ एनसेलका ग्राहकलाई नपठाएको कम्पनीको स्पष्टीकरण

समाधान संवाददाता २०८२ माघ १ गते ६:३८

काठमाडौं ।  एनसेलले हालै चर्चामा रहेको राजनीतिक सन्देशसहितको ‘बल्क एसएमएस’ आफ्ना ग्राहकलाई नपठाइएको स्पष्ट पारेको छ । एक सेवा प्रदायकमार्फत ठूलो संख्यामा राजनीतिक सन्देश प्रवाह भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एनसेलले उक्त अनधिकृत एसएमएस आफ्ना ग्राहकलाई प्रसारण नभएको प्रस्ट्याएको हो ।

Advertisement

कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै दूरसञ्चार सेवाको अनधिकृत वा राजनीतिक उद्देश्यका लागि हुने दुरुपयोगप्रति आफ्नो ‘शून्य सहनशीलता’ (जिरो टोलरेन्स) को नीति रहेको उल्लेख गरेको छ । घटनाको समीक्षा र सम्भावित जोखिम मूल्यांकनपछि एनसेलले उक्त एसएमएस प्रसारण गर्ने कम्पनीसँग साझेदारी गरेको भ्यालु एडेड सर्भिस कम्पनी ‘आकाश टेक’ लाई सचेत गराएको जनाएको छ ।

एनसेलले प्रचलित कानुन, नियम, नैतिक मापदण्ड तथा ग्राहकको डाटा गोपनीयता उल्लंघन गर्ने कुनै पनि सामग्रीका लागि आफ्नो सेवा प्रयोग गर्न निषेध गरिएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ग्राहकको डाटा कुनै पनि अनधिकृत उद्देश्यका लागि साझा गरिँदैन र दुरुपयोग हुन दिइँदैन ।’

Advertisement

कम्पनीले आफू सूचना सुरक्षा र डाटा गोपनीयताका लागि आईएसओ २७००१ र आईएसओ २७७०१ मान्यता प्राप्त गर्ने नेपालको पहिलो दूरसञ्चार कम्पनी रहेको भन्दै ग्राहकको विवरण सुरक्षित राख्न प्राविधिक, सञ्चालनगत तथा सम्झौतागत सुरक्षा व्यवस्था लागू गरिएको दाबी गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया