कास्की क्षेत्र नम्बर ३ मा कांग्रेस, एमाले र रास्वपासहित १५ जनाको उम्मेदवारी दर्ता

समाधान संवाददाता २०८२ माघ ६ गते १८:४५

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार मालेपाटनस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले आफ्नो मनोनयन पत्र पेस गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार यस क्षेत्रमा मुख्य दलहरूसँगै विभिन्न साना दलका उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

Advertisement

पार्टीका तर्फबाट मनोनयन दर्ता गर्नेहरूमा नेपाली कांग्रेसका मनोज गुरुङ र नेकपा एमालेका तर्फबाट दामोदर पौडेल बैरागी रहेका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विना गुरुङ र नेकपा माओवादी केन्द्रका तर्फबाट कमल खड्का विश्वकर्माले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट अर्जुनप्रसाद खनाल चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतियोगितामा अन्य दलहरूका तर्फबाट पनि उल्लेख्य उम्मेदवारी परेको छ । नेपाल मातृभूमि पार्टीबाट ओमप्रकाश विश्वकर्मा, आम जनता पार्टीबाट कुशल थापा क्षेत्री र नेपाली कम्युनिष्ट पार्टीबाट गोपाल गिरीले उम्मेदवारी दर्ता गराएका छन् । मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट जीवनबहादुर गुरुङ, संयुक्त नागरिक पार्टीबाट टेकबहादुर सार्की र उज्यालो नेपाल पार्टीबाट तर्कबहादुर गुरुङले मनोनयन पेस गरेका छन् ।

Advertisement

यसैगरी नेशनल रिपब्लिक नेपालबाट तिरथ गुरुङ, नेपाल जनमुक्ति पार्टीबाट मिनबहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट मिना न्हिसुतु र श्रम संस्कृति पार्टीबाट हितकाजी गुरुङले उम्मेदवारी दिएका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि सबै उम्मेदवारहरूले आ–आफ्नो एजेन्डासहित तयारी सुरु गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया