देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा

समाधान संवाददाता २०८२ माघ ६ गते १९:५१

काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता कार्यक्रम माघ ६ गते देशभर उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार साँझ ६ बजेसम्म कुल २ हजार ९२५ जनाले आफ्नो मनोनयन पत्र दर्ता गराएका छन् । सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।

Advertisement

आयोगका सचिव कृष्ण बहादुर राउतले दिएको जानकारी अनुसार कुल उम्मेदवार मध्ये महिलाको संख्या ३३६ र पुरुषको संख्या २ हजार ५८९ रहेको छ । यस्तै अपाङ्गता भएका व्यक्तिहरू मध्येबाट ८५ जना र पिछडिएको क्षेत्रबाट १३८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आयोगले प्राप्त मनोनयनको प्रारम्भिक विवरण मंगलबार राति नै सार्वजनिक गर्ने तयारी गरेको छ । मनोनयन दर्ताका क्रममा देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

मनोनयन कार्यक्रम उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै सरोकारवालालाई धन्यवाद दिएका छन् । उनले निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला पक्षको यस्तै सहयोग पाउने अपेक्षा व्यक्त गरेका छन् । आयोगले उम्मेदवारी दर्ताका लागि तोकिएको समयभित्रै धेरैजसो स्थानमा प्रक्रिया टुंगिएको र केही स्थानमा विवरण संकलन भइरहेको बताएको छ ।

Advertisement

निर्वाचनको कार्यतालिका अनुसार मनोनयन दर्ता भएका उम्मेदवार विरुद्ध उजुरी दिने समय माघ ७ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म तोकिएको छ । सोही दिनको दिउँसो ३ देखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ र निर्णय गरी ८ गते साँझ ५ देखि ७ बजेभित्र उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन दिउँसो १ देखि ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया