गोरखा दरबार अलपत्र !

समाधान संवाददाता २०७६ माघ २४ गते १३:३६

मोहसिन अलि मियाँ
गोरखा

गोरखा दरबार पुनर्निर्माणको काम अलपत्र परेको छ । भूकम्पले चर्किएको दरबार २ वर्षभित्र पुनर्निर्माण सक्नेगरी २०७४ कात्तिकमा पचली भैरव शिभाको जेभीसँग सम्झौता भएको थियो । तर पुनर्निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्ने समय गत मंसिरमा सक्किएर पुरातत्व विभागले ६ महिना म्यादसमेत थपिसकेको छ । तैपनि दरबारको १ तलासमेत पूरा हुन सकेको छैन । गत पुस ४ गते विभागले ठेकेदार कम्पनीलाई ६ महिना म्याद थप्ने निर्णय गरेको थियो । म्याद थप भएपछि काममा प्रगती देखिने विभागको आशा थियो तर त्यसो हुन सकेन । ‘तिहारपछि फिल्डमा खासै कामै हुन सकेको छैन’ गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले भने, ‘म्याद थपको समय पनि करिब डेढ महिनाभन्दा बढि बितिसकेको छ, फिल्डमा ३५ प्रतिशत जति काम भएको होला, हाम्रो अपेक्षा उल्टो भइरहेको छ ।’

हालसम्म पहिलो तलाको करिब ८० प्रतिशत काम मात्रै सकिएको छ । थप भएको समयसिमा भित्र पनि काम सकिन मुस्किल रहेको भुषाल बताउँछन् । ‘पहिलो तलाको अझै २० प्रतिशत काम बाँकी नै छ, अहिले हेर्दा न निर्माण सामग्री छ, न कामदार’ प्रमुख भुषालले भने ‘चमत्कार नै भएपनि अबको ४ महिनामा दरबार बन्दैन ।’

Advertisement

विभागले माग्यो ठेकेदारसँग लिखित कार्ययोजना
दरबार पुर्ननिर्माणमा भइरहेको ढिलाईका बारे पुरातत्व विभागले ठेकेदार कम्पनी पचली भैरव शिभाको जेभीलाई १५ दिनभित्र स्पष्टीकरण दिन सार्वजानिक सूचना नै निकाल्नु पर्‍यो । म्यादभित्रै काम सम्पन्न गर्ने दावी गर्दै आएका ठेकेदार सुशीलबाबु श्रेष्ठका नाममा विभागले १५ दिनभित्र विभागमा लिखित स्पष्टीकरण सहित ६ महिने निर्माण कार्यतालिका पेश गर्न निर्देशन दिएको थियो । तर म्याद सकिने अन्तिम दिन बिहीबारको कार्यालय समयमा ठेकेदार श्रेष्ठ विभाग पुगेर कार्यतालिका पेश गरे । उनले ६ महिनाभित्र पुनर्निर्माण सक्ने लिखित योजना बिहीबार विभागलाई बुझाएका हुन् ।

कार्यतालिकासँगै उनले १ वर्ष म्याद थपिदिनसमेत आग्रह गरेको विभागले जनाएको छ । ‘फिल्डमा कामको प्रगती नै नभएर हामीले सचेत गराउन १५ दिने सूचना निकालेका हौं, उहाँहरु अन्तिम दिन आउनुभयो, छलफल भयो’ विभागकी पुरातत्व अधिकृत मन्जुसिं भण्डारीले भनिन्, ‘नयाँ कार्यतालिकासँगै १ वर्ष म्याद थपको कुरा लिएर आउनुभएको रहेछ, त्यो हाम्रो अधिकारभित्र नपर्ने भएकाले ६ महिनामै काम सक्नुपर्छ भन्ने लाइनमा कुरा भयो ।’

Advertisement

तर हालको कार्यशैली र प्रगती हेर्दा ६ महिनामा भने काम सम्पन्न नहुने भण्डारी नै स्विकार्छिन् । सार्वजानिक खरिद नियमावली आठौं संशोधन अनुसार २५ प्रतिशत मात्रै समयसिमा थप पर्न पाउने अधिकार विभागसँग रहेकाले सोभन्दा बढी हुन नसक्ने उनि बताउँछिन् । ‘अहिलेको प्रगती हेर्दा प्राक्टिकल्ली ६ महिनामा दरबार बन्दैन, तर हामीसँग ६ महिनाभन्दा बढी समय थप्ने अधिकार पनि हुँदैन’ भण्डारीले भनिन्, ‘अबको ३ महिना उहाँहरुको काम हेर्छौ, काममा प्रगती भयो र म्याद थप्नुपरे मन्त्रालयलाई हामी सिफारिस गर्छौं ।’ तर म्याद थप भएको समयसिमाभित्र समेत अपेक्षा अनुसार प्रगती नदेखिए ठेकेदार कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाइने उनले बताइन् ।

विभागमार्फत् राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ४ करोड ३२ लाख २९ हजार ३ सय १८ रुपैयाँ दरबार पुनर्निर्माणका लागि छुट्याएको थियो । शाह बंशिय उद्गम थलो मानिएको जिल्लाको गोरखा दरबार तत्कालिन राजा रामशाहको पालामा बिक्रम संम्बत १६६६ ताका बनेको किम्बदन्ती छ । दरबार भत्किाइएका कारण विभिन्न तिथीमा हुने पूजाआजा र दसै लगायतमा दर्शनार्थीलाई समस्या हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया