पर्यटनमा कोरोना कहरः विदेशी पर्यटक नौला लाग्न थाले !

समाधान संवाददाता २०७६ माघ २६ गते १३:१७

विकास रोकामगर
पोखरा

सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको छ । एकै वर्षमा सरकारले नेपालमा २० लाख विदेशी पर्यटक ल्याउनेसमेत घोषणा गरिसक्यो । र, यसका लागि ‘रामै्र’ दौडधूप पनि गरिरहेको छ । तर, भ्रमण वर्षको मुखमै महामारीका रुपमा देखा परेको ‘नोबल कोरोना’ भाइरसका कारण भ्रमण वर्ष सफल हुनेमा पोखराका पर्यटन व्यवसायीले शंका व्यक्त गरेका छन् ।

२ ठूला छिमेकी चीन र भारतका पर्यटक आगमनलाई भ्रमण वर्ष सफलताको मुख्य कडी मानिएको थियो । तर, हालै चीनमा सुरु भएको नोबल कोरोना भाइरसका कारण पर्यटकको आगमन ठप्प भएपछि पोखराका पर्यटन व्यवसायी चिन्तित बनेका छन् । भन्छन्, ‘कोरोना भाइरसकै कारण लेकसाइडमा विदेशी पर्यटक देखिए पनि नौलो लाग्ने अवस्था आइसक्यो ।’

Advertisement

यो समय चिनियाँको नयाँ वर्षको हो । यतिबेला उनीहरु फुर्सदमा हुन्छन् । चिनियाँको नयाँ वर्षको मौकामा लेकसाइडका पर्यटन व्यवसायी चिनियाँ पर्यटक बढीभन्दा बढी भित्र्याउने सोचमा थिए । तर, चीनमा भाइरसको महामारी फैलिएसँगै विदेशी पर्यटक आउनै छोडेपछि निरास भएका हुन् ।

‘यो तेस्रो मुलुकका पर्यटक भन्दा पनि चाइनिजको सिजन थियो । उनीहरु नयाँ वर्षमा नेपाल घुम्न धेरै आउँथे,’ पोखरा पर्यटन व्यवसायी संघ अध्यक्ष चिरञ्जीवी पोखरेलले भने, ‘कोरोनाले गर्दा सबै बुकिङ क्यान्सिल भयो । व्यवसायलाई त्यसै प्रभाव पर्ने नै भयो नि !’ उनले नेपाल कोरोनाबाट सुरक्षित रहेको तेस्रो मुलुकमा जानकारी दिन नसक्नु पर्यटन व्यवसायका लागि कमजोरी भएको सुनाए ।

Advertisement

कोरोनाकै कारण पदयात्रामा पनि प्रभाव परेको ट्रेकिङ एजेन्सिज एसोसियसन नेपाल (टान) गण्डकी प्रदेश अध्यक्ष तथा होटल रानीवन अर्किडका सञ्चालकसमेत रहेका हरि भुजेल बताउँछन् । ‘लेकसाइडमा आउने पर्यटक चिनियाँमात्रै थिए भन्नेचाहिँ होइन,’ भुजेलले भने ‘तर, चीन छिमेकी भएकाले त्यसको प्रभाव नेपालमा पनि पर्छ कि भनेर बुक भइसकेका अधिकांश तेस्रो मुलुकका पर्यटकले धमाधम क्यान्सिल गरिसके ।’

नेपालमा पदयात्रा गर्न आउने पर्यटकको संख्यामा पनि उल्लेख्य कमी आइसकेको भुजेल सुनाउँछन् । उनले भने, ‘यसअघि पदयात्रा गर्न पर्यटक धेरै आउँथे । तर, अहिले एकाध मात्रा आउँछन् । आए पनि उनीहरु लेकसाइड बस्दैनन्, सिधै गाउँतिर पुग्छन् ।’ उनले कोरोना भाइरसको त्रासकै कारण भारतीय पर्यटक पनि घटेको सुनाए ।

पश्चिमा मुलुकका धेरै पर्यटक नेपालमा ट्रेकिङका लागि आउँछन् । भारतीय पर्यटक धेरै तीर्थयात्री हुन्छन् भने चिनियाँ प्याराग्लाइडिङ लगायतका साहसिक खेलमा रमाउन पोखरा आउँथे । तर, यति बेला पोखरामा सञ्चालित साहसिक खेलमा पनि चिनियाँको अनुहार देखिनै छाडेको नेपाल हवाई खेलकुद संस्था(न)का निर्वतमान अध्यक्ष योगेश भट्टराई बताउँछन् ।

‘कोरोना भाइरसको इपिसेन्टर नै चीन भयो । चीन हाम्रो छिमेकी भएकाले अहिले यसको प्रभाव सबैभन्दा बढी पर्यटन व्यवसायमा परेको छ,’ भट्टराईले भने, ‘पोखरा आएकामध्ये करिब ७० प्रतिशत प्याराग्लाइडिङमा रमाउथे ।’ चीनले सुरक्षाका लागि आफ्ना नागरिकलाई देशबाहिर जान नदिएकाले पनि पर्यटनमा कमी हुनसक्ने उनले अकलन गरे ।

चीनको मात्रै भर नपर्नु पर्ने रहेछ !
गण्डकी प्रदेशले पर्यटनलाई समृद्धिको मुख्य आधार मानेको छ । र, यसकै लागि विभिन्न योजना अघि सारिरहेको छ । प्रदेशभित्र उल्लेख्य पर्यटन क्षेत्र भएकाले त्यहाँ विदेशी पर्यटक पुर्‍याएर समृद्धि हासिल गर्ने योजना छ ।

प्रदेशसँग सीमा जोडिएका २ ठूला देश चीन र भारतका पर्यटक लक्ष्य गरी आउँदो वर्षलाई छिमेकी राष्ट्र भ्रमण वर्ष घोषणा गरिसकेको छ । तर, चीनमा फैलिएको कोरोना भाइरसका प्रभावले पर्यटन व्यवसाय नै ठप्प हुन थालेको नेपाल हवाई खेलकुद संस्थाका निर्वतमान अध्यक्ष भट्टराई बताउँछन् । ‘पर्यटकका नाममा चिनियाँलाई मात्रै फोकस गर्नु नहुने रहेछ ।’

भट्टराईले आफूहरुले विकल्प खोज्नेभन्दा पनि राज्यले यसलाई गम्भीर रुपमा लिएर कदम चाल्नुपर्ने धारणा राखे । ‘कोरोना त्रासले सबैजसो व्यवसायीको अवस्था नाजुक छ । हामीले त व्यवसायमात्रै गरेका हौं । यसका लागि राज्यले नै कुनै अर्को विकल्पबारे सोच्नुपर्छ ।’

यो मौसम पर्यटकको ‘लो सिजन’ भएकाले पर्यटक कम हुन्छन् । त्यसमा पनि कोरोना भाइरसले आक्रान्त बनाएपछि राज्यले नै सोच्नुपर्ने बेला आएको टान गण्डकी अध्यक्ष हरि भुजेल सुनाउँछन् । ‘कम्तीमा गण्डकी प्रदेशले आन्तरिक भ्रमण वर्ष घोषणा गरेको छ । त्यसलाईसदुपयोग गर्न सक्यौं र राज्यले पनि सहुलियतको व्यवस्था गर्‍यो भने केही माथि उठ्न सक्थ्यौं कि,’ उनले भने ।

पोखरा पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलले कोरोना भाइरसकै कारण पर्यटन व्यवसाय नाजुक स्थितिमा पुगेको भए पनि हतोत्साही नहुन आग्रह गरे । ‘यो त्यसै पनि लो सिजन हो । पर्यटक कम हुन्छन्,’ उनले भने, ‘हामी पर्यटन व्यवसायी चिन्तित भएर बस्ने होइन । नयाँ सम्भावना खोजी गर्नुपर्छ । आन्तरिक पर्यटकलाई फोकस गरेर कार्यक्रम ल्याउन सक्छौं ।’ उनले नेपालको पर्यटन व्यवसाय धान्ने भारतीय बजार पनि ठूलै भएकाले त्यसतर्फ केही समयपछि प्रचारप्रसारमा जाने योजना उनले सुनाए ।

होटल अकुपेन्सी २५ प्रतिशत
यो समय विदेशी पर्यटकको ‘लो सिजन’ मानिन्छ । तर, अघिल्ला वर्ष ४५ प्रतिशतसम्म झरेको होटल अकुपेन्सी कोरोना भाइरस प्रभावका कारण करिब २५ प्रतिशत छ । पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल्प तुलाचनले बुक भइसकेका होटलहरु पनि क्यान्सिल भइरहेको उल्लेख गरे ।

‘पहिले पहिले चिनियाँ धेरै आउदैनथे । पछिल्ला ७ वर्षयता उनीहरुले आफ्नो नयाँ वर्ष मनाउने नयाँ गन्तव्यका रुपमा नेपाललाई चुनेका थिए,’ तुलाचनले भने, ‘यसरी उनीहरुको वार्षिक क्रमिक रुपमा बढ्दै गएको आगमन अहिले ठप्पै भयो ।’

तपाईको प्रतिक्रिया