७ प्रदेशको संस्कृति एउटै मञ्चमा

समाधान संवाददाता २०७६ माघ २७ गते १२:४१

समाधान संवाददाता
पोखरा

कोही टाउकोमा मयुरको प्वाँख सिउरेर उभिएका छन् त कोही आफू जत्रै ढोलक कम्मरमा बाँधेर लिएर मुस्कुराइरहेका । ठूलो स्टेजको छेवैमा रातो र सेतो जामा लगाएर फन्को लाइरहेका एकथरी केटाकेटी नजिकै केही अरु भने खैजडी र मादल बजाएर खुट्टाको तालमा ताल मिलाइरहेका छन् । टाउकोमा मट्का बाँधेर कल्ली र मालाको आभूषणमा सजिएका अर्काथरी समूह स्टेज उक्लने तरखर गर्दैछ ।

७ वटै प्रदेशलाई प्रतिनिधित्व गरी आआफ्नो नाच देखाएपछि स्टेजमा चन्द्रसूर्य अंकित नेपाली झन्डासँगै ‘पश्चिम कोही पूर्व घर, आँगन तर एउटै हो’ मा नृत्य गर्दा हलमा उपस्थित २ हजार भन्दा बढी निम्तालुहरु नाचको तालमा झुमेको दृष्य साँच्चै लोभलाग्दो थियो । कार्यक्रम थियो रोटरी डिस्ट्रिक्ट ३२९२ को १२ औं डिस्ट्रिक्ट कन्फरेन्स ।

Advertisement

उद्घाटन सत्रमा प्रस्तुत गरिएको ७ प्रदेश प्रतिनिधित्व गर्ने नृत्यले कार्यक्रमको उद्घाटन सत्रमा पूरै नेपालको सांस्कृतिक प्रतिनिधित्व गरेको थियो र सातै प्रदेशको सांस्कृतिक प्रस्तुतिसहित नृत्य प्रदर्शन गरेका थिए सैनिक अवासीय महाविद्यालय पोखराका विद्यार्थीहरुले ।

प्रदेश १ अन्र्तगत झापा, मोरङ र आसपासका क्षेत्रका चण्डी, साकेला र धिमाल नाच असाध्यै लोकप्रिय मानिन्छन् । त्यसै क्षेत्रका माझी जातीले माछा मार्न जानु अघि परम्परागत भेषभूषामा फुर्लुङसहित नाच्ने धिमाल नाचमा नृत्य भइरहँदा इटहरीबाट आएका रोटेरियन दिनेश शर्मा हात हल्लाउँदै नाचमा ताल मिलाइरहेका भेटिए । त्यसैगरी क्रमैसँग बाँकी प्रदेशमा प्रचलित र त्यस क्षेत्रका बासिन्दाको सांस्कृतिक पहिचानका रुपमा स्थापित प्रतिनिधित्व गर्ने झिझियाँ नृत्यमा, वागमतीको नेवारी नृत्य, गण्डकी प्रदेशमा प्रचलित गुरुङ र मगर समुदायमा अत्यन्तै लोकप्रिय कौरा नृत्य, प्रदेश ५ को झ्याउरे नृत्य त्यसैगरी सुदुरपश्चिम प्रदेशका थारुहरुमाझ प्रचलित सखिया नृत्य र सुदुरपश्चिम क्षेत्र समेटेको छलिया नृत्यमा त्यहीको आभूषण र हाउभाउमा कलात्मक नृत्य प्रस्तुत गरेका थिए । सैनिक महाविद्यालय फूलबारीका सम्पर्क अधिकृत गोकर्ण देवकोटा विद्यार्थीहरुलाई पढाइका अतिरिक्त यस्ता गतिविधिमा सामेल गराउँदा दिमाग अझै फुर्तिलो हुने बताउँछन् ।

Advertisement

अन्तर्राष्ट्रिय क्लबको कार्यक्रम भए पनि आफ्नै मुलुकको सबै प्रदेशको नृत्य एकैठाउँमा बसेर हेर्न पाउँदा देशै घुमेझै भएको रोटरी क्लब अफ मिडटाउनका अध्यक्ष विनोद हेजुले बताए । सबै प्रदेशको सांस्कृतिक समन्वय र त्यसप्रतिको प्रेमले मात्रै राष्ट्रियता र देशप्रतिको प्रेमलाई अझै घनिभूत बनाउन सक्ने भएकाले विद्यार्थीहरुलाई विविधताले भरीएको देशको विविध संस्कृतिमा तयार राखेको सैनिक आवासिय महाविद्यालय पोखरा प्रिन्सीपल राजेन्द्र लाखेले बताए । कार्यक्रममा उपस्थित भारत, अमेरिका तथा अन्य देशका अतिथिहरुले समेत साँस्कृतिक नृत्यलाई असाध्यै मन पराए विभिन्न भेषभूषाका नानीबाबुहरुसँग फोटो खिचेका थिए । नृत्य निर्देशक तथा प्रशिक्षक ईश्वरी राना ८५ जना भन्दा बढी कलाकार भाइ बहिनीलाई प्रशिक्षण र मेकअपमा निकै समय लागेको भए पनि विदेशी र स्वदेशी पाहुनासमेतले मन पराएरका असाध्यै खुसी लागेको बताउँछिन् ।

तपाईको प्रतिक्रिया