निर्मला पन्त बलात्कार-हत्या प्रकरणको नयाँ प्रतिवेदनः दिलीपसिंह विष्ट नै दोषी

समाधान संवाददाता २०७६ माघ २७ गते १५:११

समाधान संवाददाता, काठमाडाैं

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा गठित छानबिन समितिको प्रतिवेदन त्रुटीपूर्ण रहेको पाइएको छ।

एआइजी धीरू बस्नेत नेतृत्वमा गठित छानबिन समिति त्रुटीपूर्ण रहेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले उक्त प्रतिवेदन कार्यान्वयन नगर्न कञ्चनपुर प्रहरीलाई निर्देशन दिएको हो।

Advertisement

प्रहरी नायब महानिरीक्षक सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिले नयाँ प्रतिवेदन दिँदै पन्त हत्यामा दिलीपसिंह विष्ट नै दोषी रहेको निष्कर्ष निकालेको हो।

‘निर्मला पन्त बलात्कार हत्यामा नयाँ प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिइएको छ, उक्त प्रतिवेदन अपराध अनुसन्धान विभाग हुँदै कञ्चनपुर गएको छ,’ प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले भने।

Advertisement

केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक अंगुर जिसी नेतृत्वको समितिले विष्ट नै दोषी किटान गरेको थियो। तर, बस्नेत प्रतिवेदनले सो प्रतिवेदन उल्टाएपछि उनै जिसी निलम्बनमा परेका थिए।

उनले फिल्डमै गएर बस्नेत प्रतिवेदन त्रुटीपूर्ण रहेको बताएका थिए।

यस्तै, प्रमाण लोप गराएको आरोपमा एसपी दिल्लीराज विष्ट बर्खास्तमै परेका थिए भने डिएसपी ज्ञानबहादुर सेटीसहितका प्रहरी निलम्बनमा परेका थिए।

बस्नेत प्रतिवेदन कार्यान्वयन नगर्न भनेपछि अब पहिले भएका निर्णय तथा प्रहरी कर्मचारीमाथि भएको कारबाही के कसो हुन्छ भन्ने प्रश्न उठेको छ।

केसी प्रतिवेदनले बस्नेतले ‘टर्चर’ दिएर प्रहरी कर्मचारीसँग बयान लिएको खुलेपछि उनको प्रतिवेदन विवादमा आएको थियो। 

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी तारिणीप्रसाद लम्सालले प्रतिवेदन नयाँ प्रतिवेदन आइनसकेको बताए। तर, बस्नेत प्रतिवेदन कार्यान्वयन नहुने भएपछि अब के कसरी कारबाही अगाडि बढ्छ भन्ने प्रतिवेदन हेरेर मात्रै बताउन सकिने उनले बताए।

आइतबार नै कञ्चनपुर प्रहरीलाई प्रतिवेदन पठाइएको दाबी गरिए पनि त्यहाँका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले आफ्नो कार्यालयमा आइनपुगेको बताए। ‘नयाँ प्रतिवेदन आएको भन्ने सुनियो तर यहाँ कार्यान्वयनका लागि आइसकेको छैन,’ मरासिनीले भने।

डिएसपी जिसीलाई नै गलत प्रतिवेदन दिएको भनी बस्नेत प्रतिवेदनका आधारमा निलम्बन गरिएको थियो।


तपाईको प्रतिक्रिया